२० प्रतिशत सहकारीले साधारणसभा गरेनन्

काठमाडौँ, ११ चैत । आर्थिक वर्ष २०६७/०६८ मा राजधानीका २० प्रतिशत सहकारीले साधारणसभा गर्न सकेका छैनन् ।
डिभिजन सहकारी कार्यालय काठमाडौँमा दर्ता भएका सहकारी संस्थामध्ये करिब ८० प्रतिशतले मात्र साधारणसभाको विवरण बुझाएका छन् । प्रारम्भिक सहकारी संस्थाले असोज महिनाभित्र साधारणसभा सम्पन्न गरी १५ दिनभित्र कार्यालयमा विवरण बुझाउनु पर्ने सहकारी मापदण्ड भए पनि उनीहरूले हालसम्म त्यस्तो कुनै पनि विवरण नबुझाएको डिभिजन सहकारी कार्यालय काठमाडौँका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । ‘केही सहकारी संस्थाले गत साल पनि साधारणसभा गराएका छैनन्,’ उनले भने, ‘तिनको खारेजीबारे गृहकार्य भइरहेको छ ।’
सहकारी विभागले १ वैशाख २०६८ मा जारी गरेको सहकारी सङ्घ/संस्था दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, २०६८ मा साधारणसभा सम्पन्न भएको १५ दिनभित्र सम्बन्धित सङ्घ/संस्थाले लेखापरीक्षणको प्रतिवेदन, कारोबारको वाषिर्क प्रतिवेदन, अध्यक्षले प्रमाणित गरेको सभाको निर्णयका प्रतिलिपि डिभिजन सहकरीमा पठाउनु पर्छ । त्यसगरी सदस्यहरूको उपस्थितिको विवरण र निर्वाचन सम्पन्न भएको भए सञ्चालक र लेखा समितिका पदाधिकारीको व्यक्तिगत विवरणसमेत तोकिएको ढाँचामा डिभिजन कार्यालयमा पठाउनु पर्ने प्रावधान छ ।
सामान्यतया नियमित वाषिर्क साधारणसभा प्रारम्भिक सहकारी संस्थाहरूले असोज महिनाभित्र, जिल्ला सहकारी सङ्घ र विषयगत जिल्ला सहकारी सङ्घले कात्तिकमा, केन्द्रीय सहकारी सङ्घले मङ्सिर र राष्ट्रिय सहकारी सङ्घले पुसभित्रमा सम्पन्न गर्नुपर्ने प्रावधान छ । साधारणसभा र निर्वाचन सञ्चालनसम्बन्धी थप प्रावधानमा एक हजारभन्दा बढी सेयर सदस्य भएका संस्थाका हकमा प्रत्येक १० जनाबाट एक जना र एकभन्दा बढी जिल्ला कार्यक्षेत्र हुने सङ्घ संस्था र सहकारी बैंकको हकमा प्रत्येक जिल्लाबाट कम्तीमा सम्बन्धित जिल्लाको कुल सदस्य सङ्ख्याको १० प्रतिशत प्रतिनिधि सहभागी हुने गरी साधारणसभा सम्पन्न गर्न सकिने व्यवस्था छ ।
सहकारी ऐन २०४८ मा कुनै पनि सहकारी सङ्घ/संस्थाले लगातार दुई वर्षसम्म साधारणसभा र कारोबार नगरी निष्त्रिmय रहे दर्ता खारेज हुने व्यवस्था छ । कार्यालयले गत वर्षमा निष्कृय रहेका र साधारणसभा नगरेको भन्दै एक सय ५० सहकारीको खारेजी सूचना जारी गरेकामा अहिलेसम्म पनि कुनै पनि सहकारी सम्पर्कमा नआएको डिभिजन सहकारीले बताएको छ ।

प्रतिक्रिया