गिरी बर्खास्त, थापा नयाँ श्रममन्त्री

काठमाडौँ, १० चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले श्रम तथा यातायात व्यवस्थामन्त्री सरिता गिरीलाई शुक्रबार पदबाट बर्खास्त गरेका छन् । लोकतन्त्र प्राप्तिपछि प्रधानमन्त्रीले स्वविवेकमा बहालवाला मन्त्रीलाई बर्खास्त गरेको यो पहिलो घटना हो ।
गिरीको ठाउँमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह -एमएस) थापालाई श्रममन्त्री नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले गिरीलाई पदबाट बर्खास्त गरेलगत्तै साना पार्टीको तर्फबाट भन्दै थापालाई मन्त्री नियुक्त गरेका हुन् । आˆनो निर्देशन उल्लङ्घन गरेको तथा आफूलाई सुधार्नुको सट्टा उल्टै प्रचारबाजीमा लागेकाले बाध्य भएर मन्त्रीपदबाट बर्खास्त गर्नुपरेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री भट्टराईले शुक्रबार कार्यालय समय सुरु हुनासाथ मुख्य स्वकीय सचिव गङ्गा श्रेष्ठमार्फत पदबाट बर्खास्त गरिएको जानकारी मन्त्री गिरीलाई गराएका हुन् । स्रोतका अनुसार मन्त्री गिरीलाई गत सोमबार आˆनो कार्यालय सिंहदरबार बोलाई प्रधानमन्त्रीले वैदेशिक रोजगार विभागका महानिर्देशक सरुवाको निर्णय फिर्ता लिन दुईदिने अल्टिमेटम दिएका थिए । निर्णय फिर्ता नगर्ने भए पदबाट राजीनामा दिएर सहयोग गर्न उनले आग्रह गरेका थिए । तर, मन्त्री गिरीले प्रधानमन्त्रीको आग्रहलाई बेवास्ता गरी पदबाट राजीनामा नदिने अडान लिएकी थिइन् । प्रधानमन्त्रीले उनलाई बुधबार पुनः आˆनो कार्यालय बोलाई ‘पदबाट हटेर सहयोग गर्न’ भनेका थिए । अन्यथा आफूले बाध्य भएर हटाउनुपर्ने चेतावनीसमेत उनले दिएका थिए । तर, मन्त्री गिरीले प्रधानमन्त्रीविरुद्ध नै पत्रकार सम्मेलन गरेपछि प्रधानमन्त्री उनीसँग निकै क्रुद्ध बनेका थिए । ‘गल्तीलाई ढाकछोप गर्दै प्रचारबाजीमा लागेकाले बाध्य भएर पदबाट हटाउनुपरेको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
मन्त्री गिरीले म्यानपावर व्यवसायीसँगको मिलेमतोमा रोजगारीका लागि बिदेसिने नेपालीसँग पैसा असुलेको आरोप लाग्दै आएको थियो । उनले प्रधानमन्त्रीको इच्छाअनुसार श्रम विभागका महानिर्देशक बनेका सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागबाट हटाएकी थिइन् । विभागमा नियुक्त भएपछि भट्टराईले ठगी गर्ने म्यानपावरलाई तत्काल कारबाही गर्ने र बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्ने प्रक्रिया सुरु गरेका थिए । उनले प्रधानमन्त्रीको निर्देशनअनुसार काम गर्दै आएका थिए ।
यसअघि प्रधानमन्त्री भट्टराईले रक्षामन्त्री शरत्सिंह भण्डारी र भूमिसुधारमन्त्री प्र्रभु साहलाई पनि पदमुक्त गरेका थिए ।
राज्यमन्त्रीको जिम्मेवारी हेरफेर
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवादास्पद दुई राज्यमन्त्रीको जिम्मेवारीमा हेरफेर गरेका छन् । उनले शुक्रबारबाटै लागू हुनेगरी भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई पर्यटन राज्यमन्त्रीमा र पर्यटन राज्यमन्त्री दिलीप महर्जनलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी तोकिदिएका हुन् ।

समर्थन फिर्ता लिएको घोषणा
काठमाडैाः पदमुक्त भएकी श्रम तथा यातायात व्यवस्थामन्त्री सरिता गिरीले आˆनो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएकी छन् । आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे राजनीतिबाट सन्न्यास लिने घोषणासमेत उनले गरिन् ।
पदमुक्त भएलगत्तै पत्रकार सम्मेलन गरी गिरीले यस्तो घोषणा गरेकी हुन् । प्रधानमन्त्रीले ब्युरोक्रेसीको दबाबमा परेर आफूलाई हटाएको दाबी गर्दै उनले आफूबाट भ्रष्टाचार गराउने योजना असफल भएपछि बाध्यतावश पदमुक्त गरेको आरोप लगाइन् । नेत्री गिरीले भनिन्, ‘मलाई चारवटा नयाँ म्यानपावर दर्ता गर्न दबाब थियो । मैले मानिनँ । त्यसैले मलाई हटाइएको हो ।’
उनले आˆनो पार्टीले सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको घोषणा गर्दै प्रधानमन्त्री चुनावसम्म मधेसीहरूलाई कुनै न कुनै रूपमा अल्झाएर खत्तम पार्ने षड्यन्त्रमा लागेको आरोपसमेत लगाइन् । यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम तथा यातायात मन्त्रालयमा भएको भ्रष्टाचारको विषयमा प्रधानमन्त्री कार्यालयबाट पत्र आए छानबिन सुरु गर्ने बताएको छ ।

प्रतिक्रिया