रहरैरहरमा खेलेकी चूडा अहिले ‘टिम पर्सनालिटी’

काठमाडौँ, १० चैत । १० वर्षअघि रहरमा भलिबल खेल्दा उनले स्टार खेलाडी बन्ने सपना साँचेकी नै थिइनन् । उनलाई एउटा कुरा अझै याद छ, उनका बाबु सेनामा जागिरे । हजुरआमा अलिकति पुरानो सोचाइकी । चेलीहरू अलि पारिवारिक निगरानीमा रहनुपर्छ भन्ने हजुरआमाको सोचाइ । तर, उनलाई हजुरआमाले पनि भलिबल खेल्न प्रोत्साहन गरिन् । ‘मेरो हकमा उहाँ उदार हुनुभयो र उहाँको उदारताले मलाई सहज महसुस भएको हो ।’ आˆनो खेलजीवनमा दिवङ्गत हजुरआमाको सोचाइको कारण परेको प्रभावबारे उनी भन्छिन् । स्कुले जीवनमा रहरले भलिबल खेल्न थालेकी उनै चूडा खड्का अहिले नेपाली भलिबलकी उत्कृष्ट खेलाडी बनेकी छन् । त्यसको तीन वर्षपछि १०औं साग खेलका लागि घोषित नेपाली टोलीमा उनी समावेश हुँदै राष्ट्रिय खेलाडी घोषित हुँदा भने उनको परिवारसमेत अचम्ममा परेछ ।
प्रशिक्षक र टिमका अन्य खेलाडीका नजरमा उनी असाध्य मिहिनेती छन्, खेलको सुरुआतदेखि अन्त्यसम्म कोर्टमा व्यस्त । खासगरी उनी क्विक स्पाइकमा अब्बल छिन् तर अन्य खाले स्पाइकमा कमजोर भने होइनन् । डिफेन्समा सक्रिय र राम्रो सर्ट उनका अन्य विशेषता हुन् । यसकारण छैटौं राष्ट्रिय खेलकुदको महिला भलिबल स्पर्धामा नेपाल पुलिस क्लबले उपाधि जित्नमा तीनै हेटौंडाकी २५ वर्षीया युवती चूडाको प्रदर्शन महत्त्वपूर्ण रह्यो  ।
नेपाली महिला भलिबलमा चासो दिनेका लागि ज्ञानुबाबा स्कुल र पुलिस क्लबको भिडन्त सदा रोमाञ्चक हुन्छ । छैटं राष्ट्रिय खेलकुदमा सोही ज्ञानुबाबाकै खेलाडीका साथमा उत्रने पश्चिमाञ्चल र पुलिस क्लबको भेट धेरैका लागि प्रतीक्षा र चासोको विषय पनि बनेको थियो । नभन्दै पश्चिमाञ्चललाई पराजित गर्दै उनको टोली राष्ट्रिय च्याम्पियन पनि बन्यो । ‘लगातारको सेट प्राक्टिस नै हाम्रो मुख्य आधार हो ।’ पुलिसको जितको कारणबारे चूडा भन्छिन् । यसअघि पुलिस टिममा रहेको ‘प्लेसमेन्ट कभरिङ’, फस्ट बल रिसिभ र डिफेन्सका सामान्य कमजोरी सुधारिएका कारण आˆनो टोली बलियो बनेको उनी बताउँछिन् । उनी ०६६ मा लिग च्याम्पियन हुँदाको पुलिस टोलीको महत्वपूर्ण खेलाडी थिइन् । पोखरामा दुइ वर्षअघि भएको पहिलो वाइवाई कपमा पनि उनको टोली पहिलो भएको थियो । नवलपरासीको ठुटेबारीमा भएको एक प्रतियोगितामा चिरपरिचित ज्ञानुबाबालाई नै हराएर उपाधि जितेको सम्झना भने उनलाई ताजै छ ।
उनको जीवनमा चार घटना प्रमुख भए । पहिलो राष्ट्रिय टोलीमा अटाउँदा, दोस्रो साग खेलमा पदक जित्दा, तेस्रो ठूला प्रतियोगितामा बेस्ट प्लेयर घोषित हुँदा र चौथो राष्ट्रिय च्याम्पियन हुँदा । यीमध्ये उनलाई राष्ट्रिय टोलीमा प्रवेश पाएको क्षण नै महत्वपूर्ण लाग्छ किनकि त्यसपछि नै उनको सबै बाटो खुला भएको हो । एउटा उनको अचम्मको स्वभाव छ, ‘म राम्रो खेलेर बेस्ट प्लेयर नहुँदा पनि खुसी नै हुन्छु,’ त्यस्तो खुसीको कारण जनाउँदै उनले भनिन्, ‘मेरा शुभेच्छुक सबैले भनिरहनुभएको हुन्छ कि चूडाले बेस्ट प्लेयर पाउनुपर्ने किन नपाएकी भनेर । यसै समयमा म थाहा पाउँछु कि मलाई टिमका साथी र अन्य शुभेच्छुकले कसरी हेरिरहनुभएको छ भनेर ।’
गत वर्ष सौराहामा भएको बीच भलिबल प्रतियोगितामा नीता शाहसँग मिलेर उनले उपाधि जितेकी थिइन् । ००९ मा बङ्गलादेशमा भएको महिला बीच भलिबल प्रतियोगितामा पनि उनले कांस्यपदक पाएकी थिइन् । श्रीलङ्कामा भएको १०औँ साग खेलको कांस्यपदक विजेता टोलीमा उनी आबद्ध थिइन् । आˆनो टोलीलाई उपाधि जिताउँदा उनले बारम्बार भिन्न ‘पोजिसनमा’ पुरस्कार पाइन् । ती सबैको उनमा हेक्का पनि छैन । तर, गत महिना ज्ञानुबाबालाई पराजित गर्दै आˆनो टोलीलाई ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि दिलाएपछि उनी ‘ढोरपाटन प्लेयर अफ द इयर’ घोषित भएकी थिइन् । पुलिसले राष्ट्रिय लिग जित्दा पनि उनी उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । नौ वर्षअघि उनले हेटौँडामा केशवलाल श्रेष्ठसँग भलिबल खेल्न सिक्दा र अहिलेको परिवेशमा निश्चित फरक छ । मलाई लाग्थ्यो, ‘राष्ट्रिय खेलाडी बन्नु साँच्चै गर्वको विषय हो ।’ तर जब राष्ट्रिय खेलाडी भइन् उनलाई यो उपलब्धि पनि सामान्य लाग्न थाल्यो । ‘कहिलेकाहीँ गुरुहरूले पनि भन्नुहुन्छ तिमीहरू सिनियर खेलाडी, यसकारण तिमीहरूलाई धेरैले वाच गरिरहेका हुन्छन् ।’ त्यतिखेर मात्र आफू पनि ठूलो मान्छे भएको उनलाई महसुस हुन्छ । ०६३ मा पुलिस क्लबमा आबद्ध भएकी उनी तत्काल राष्ट्रिय टोलीमा पनि अटाइन् ।
तीन भिन्न अनुभव छ उनको राष्ट्रिय टोलीमा रहंदा, साग खेलमा कांस्यपदक जित्दा र बेस्ट प्लेयर घोषित हुँदा । त्यसपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय सहभागिता त जनाएन परन्तु बीच भलिबलमा उनले नियमित सफलता पाएकी छन् । नौवर्षे खेल जीवनमा उत्कृष्ट अलराउन्डरको छवि बनाउँदा उनका खेलमा केही कमजोरी पक्कै रहे । स्पाइकका लागि जम्प लिँदा गोडाको स्टेप राम्रो नमिल्ने र ब्लकिङमा टाइमिङ राम्रो नहुने उनका दुई समस्या रहे । आगामी खेलमा यी दुवै कमजोरी हटाउँदै अलराउन्डर खेलाडीको छविलाई अझ तेजिलो बनाउन उनी मिहिनेत गरिरहेकी छन् । पुलिस क्लबका प्रशिक्षक सुदेश रिमाल भन्छन्, ‘उसले यति धेरै मिहिनेत गर्छे कि टोलीका अन्य खेलाडीलाई पनि प्रेरणा मिल्छ ।’ पुलिस टिमकै लिडर सुशीला थापा पनि सुदेशसँग सहमत छिन् र भन्छिन्, ‘ऊ टोलीको प्रेरणाको स्रोत हो । उसको मिहिनेतको सबैले प्रशंसा गरेको सुन्दा हामीलाई पनि थप मिहिनेत गर्न बल पुग्छ ।’

प्रतिक्रिया