श्रम मन्त्री गिरी पद मुक्त


काठमाडौं, १० चैत्र । श्रम विभागका महानिर्देशक सरुवा प्रकरणमा बिवादमा मुछिएकी श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले आज पद मुक्त गरेका छन् ।

मन्त्री गिरीले पनि आफूलाई श्रम मन्त्रीको जिम्मेवारीबाट प्रधानमन्त्रीले हटाएको जानकारी आईसकेको स्वीकार गरेकी छन् । श्रम बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई सरुवा गरेपछि मन्त्री गिरीको चर्को आलोचना हुँदै आएको थियो ।

महानिर्देशक भट्टराईले नयाँ मेनपावर कम्पनी दर्ता गर्न नमानेपछि गिरीले सरुवा गरेकी आरोप छ ।

प्रधानमन्त्री भट्टराईले महानिर्देशकको सरुवालाई लिएर गिरीसँग स्पष्टिकरण समेत सोधेका थिए ।

स्पष्टिकरणप्रति चित्तनबुझेपछि गिरीसँग भट्टराईले राजीनामा माग गरेका थिए ।

गिरीले राजीनामा दिन नमानेपछि पदमुक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया