बैतडेलीहरू सिंहदरबारमा

काठमाडौँ, ७ चैत । सुरनैया गाडा साना जलविद्युत् आयोजना बन्द भएपछि अँध्यारोमा बस्न बाध्य बैतडीका पाटन बजार र आसपासका बासिन्दाले आयोजनामा तालाबन्दी गरे । तर, सरकारले सुनेन । सरकारले गुनासो नसुनेपछि सबै दलका प्रतिनिधिसहित उनीहरू आफ्ना मागसहित  सिंहदबार आइपुगेका छन् ।
बैतडीका माओवादी सभासद नरेन्द्र कुँवर, एमाले राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य दामोदर भण्डारी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरलगायतका सहभागी टोलीले सिंहदरबारमा साना जलविद्युत् आयोजना मर्मतका लागि पहल गर्न आग्रह गर्‍यो । उनीहरूले पाटन बजारमा सबस्टेसन निर्माणको माग पनि राखे । ऊर्जाराज्यमन्त्री सूर्यमान दोङ र नेपाल विद्युत् प्राधिकरणका अध्यक्ष एवं ऊर्जासचिव हरिराम कोइरालालाई भेटेर उनीहरूले त्यस्तो  आग्रह गरेका हुन् । ‘स्थानीयवासीले विद्युत्को माग गर्दै आयोजनामा तालाबन्दी गरे पनि सुनुवाइ नभएपछि आएका हैां,’ ऐरले भने ।
१५ दिन अघि २२० किलोवाट उत्पादन क्षमताको सुरनैया जलविद्युत् आयोजना बन्द भएपछि पाटन, भूमेश्वरी, गुजर, बासुलिङ्क, भोनेरी, सिलङ्गा, रौलेश्वर, सिद्धेश्वर, सिद्धिपुर, वसन्तपुरलगायतका गाविसका करिब तीन हजार घरधुरीमा विद्युत् समस्या परेको छ । लोडसेडिङ नहुने सो क्षेत्रमा आयोजना बन्द भएपछि लोडसेडिङको समस्या थपिएको छ भने बैतडीको गोठालाखानीमा रहेको सबस्टेसनबाट ३२ किलोमिटर टाढाको पाटनलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुग्दा विद्युत् पूरै भोल्टेजमा नआउँदा समस्या बढेको छ । स्थानीय हरिमोहन भण्डारीका अनुसार विद्युत् अभावमा कृषि विकास बैंकको बैंकिङ सेवा पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया