बाध्यता म्युजिक भिडियोको

काठमाडौं, ७ चैत । रियालिटी र दिलको बदला दिल गरी दुई एल्बम निकालेकी गायिका दीपा पन्तले आफ्ना एल्बम चलाउन कम्ता कसरत गर्नुपरेन । गीत रेकर्ड गराएर अडियो बजारमा ल्याइन् तर यतिले मात्र अहिलेको साङ्गीतिक बजारमा सफलता कमाउने कसरत पुग्दैन । दुई एल्बमका लागि उनले चारवटा म्युजिक भिडियो बनाएकी छन् ।
साङ्गीतिक बजारभित्रको यो स्पर्धाले म्युजिक भिडियो निर्माण बाध्यता नै बनिसकेको छ, सङ्गीतकर्मीलाई । ‘गीत चल्न अडियोले मात्रै काफी छैन, म्युजिक भिडियो पनि बनाउनुपर्छ, गीत प्रमोसनका लागि यो बाध्यताजस्तै हो,’ उनले थपिन्, ‘म्युजिक भिडियोले मात्र गीतको मर्म थप प्रस्ट्याउँछ, टेलिभिजनमा प्रमोसनका लागि त यो नभई हुँदैन ।’ अहिलेसम्म ११ वटा गीति एल्बम बजारमा ल्याएकी गायिका सुनीता दुलालको धारणा पनि दीपाको भन्दा फरक छैन । ‘अहिले गीत सुन्ने मात्र होइन, हेर्न पनि मिल्नुपर्छ भन्ने कन्सेप्ट स्थापित भइसकेको छ । जुन एल्बमले यसलाई फलो गर्दैन, त्यसको प्रचार नै दर्शकमाझ हुन पुग्दैन । प्रचारप्रसारका लागि म्युजिक भिडियो अनिवार्य सर्त नै बनिसक्यो,’ उनले भनिन् ।
त्यसो त म्युजिकभिडियो निर्माण सङ्गीतकर्मीको बाध्यता बनेको लामो समय भएको छैन । टेलिभिजन च्यानलको सङ्ख्या बढेसँगै र गीतको प्रचार त्यहाँबाट पनि गर्नुपर्ने भएपछि म्युजिक भिडियोले पनि आफैँमा एउटा व्यवसायको रूप धारण गरेको हो । केही वर्षअघि म्युजिक भिडियोलाई प्राथमिकता थिएन तर अहिले म्युजिक भिडियो पनि उत्कृष्ट बनाउनुपर्ने स्पर्धा बढेको छ ।
‘म्युजिक भिडियो निर्माण नगरे गीतको प्रचार टेलिभिजनमा गर्नै पाइँदैन,’ सङ्गीतम् म्युजिक प्रालिका प्रोपाइटर झलक सङ्गीतम्ले भने, ‘हाम्ले माया लाको हैन र ! बोलको गीतले म्युजिक भिडियोकै कारण बजारमा चर्चा कमाउन सफल भएको हो । म्युजिक भिडियोले फाइदा दिलाउँछ नै भन्ने छैन तर पनि यसबिना गीत अधुरोजस्तो मान्न थालिएको छ ।’
जुन गीतको भिडियो प्रमोसन गरिन्छ, त्यसले चर्चासँगै सिआरबिटी पनि बढी उठाउन सफल हुने बताउँछन्, भ्वाइस क्रिएसनका परशुराम रिजाल । भन्छन्, ‘एल्बममा अहिले फाइदा हुने भनेकै सिआरबिटीबाट हो, त्यसका लागि चर्चा कमाउन आकर्षक भिडियो बनाउनै पर्छ ।’ महिनामा पाँचदेखि सात एल्बम बजारमा ल्याउने भ्वाइस क्रियसनले एक एल्बमका दुई वा तीन गीतको म्युजिक भिडियो बनाउने गरेको उनले खुलाए ।

प्रतिक्रिया