वैद्य समूह युद्धको तयारीमा

काठमाडौ, ७ चैत । एकीकृत नेकपा (माओवादी)को संस्थापन पक्षले उपाध्यक्ष मोहन वैद्य समूह शान्ति र संविधान छाडेर फेरि युद्धको तयारीमा लागेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल–प्रधानमन्त्री डा बाबुराम भट्टराई पक्षधर केन्द्रीय सदस्यको भेलाले यस्तो निष्कर्ष निकाल्दै वैद्य समूहसित अन्तिमपटक छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
भेलामा अध्यक्ष दाहालले वैद्य समूहको चिन्तनमा विचलन आएको आरोप लगाएका थिए । शान्तिप्रक्रिया र नया“ संविधान निर्माणको काम पूरा होस् भन्ने जनताको चाहनाविपरीत वैद्य समूह फेरि युद्धमै फर्कने तयारीमा रहेको उनको आरोप थियो । ‘शान्ति र संविधान अहिले जनताको चाहना हो तर केही साथीहरू पुरानै बाटामा जाने तयारीमा हुनुहुन्छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहा“हरूमा चिन्तनकै समस्या देखिएको छ ।’
ती केन्द्रीय सदस्यका अनुसार वैद्य समूहमा मनोगत महत्वाकाङ्क्षा हाबी भएको आरोप दाहालले लगाएका थिए । ‘त्यो उहा“हरूकै लागि आत्मघाती हुन्छ,’ दाहालले बैठकमा भनेका थिए । पोलिटब्युरो सदस्य हरिबोल गजुरेलका अनुसार बैठकमा दाहालले पार्टीमा देखिएका सबैखाले चिन्तनका विषयमा छलफल गरेर पार्टीलाई एकताबद्ध बनाउन पहल गर्ने धारणासमेत
व्यक्त गरे ।
‘किरणजीको समूहमा चिन्तनको समस्या रहेको, अराजकतावादी, फुटपरस्त र सङ्कीर्णतावादी सोच हाबी भएको छ, फेरि सबैले एकताका लागि पहल गर्न अध्यक्षले आह्वान गर्नुभयो,’ गजुरेलले भने । धेरै उतारचढाव पार गर्दै माओवादी यहा“सम्म आइपुगेको उल्लेख गर्दै दाहालले आफू अहिले पनि एकताकै पक्षमा रहेको बताएको गजुरेलले जानकारी दिए ।
सोमबारको भेलामा अनुपस्थित स्थायी समिति सदस्य अमिक शेरचन पनि मङ्गलबारको भेलामा सहभागी भएका थिए । उनले आफू कुनै पनि गुटमा नरहेको भन्दै शान्ति र संविधानको पक्षमा भने दृढतापूर्वक उभिएको बताएका थिए । ‘म कसैको गुटमा छैन, एकताको पक्षपाती हु“ । शान्ति र संविधानका पक्षमा म सधै दृढ रहन्छु,’ उनले बैठकमा भनेका थिए ।
बैठकले उपाध्यक्ष वैद्य समूहसित छलफल गरेर चाडै केन्द्रीय समिति बैठक बोलाउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । ‘अध्यक्षले उहाहरू (वैद्य समूह)सित छलफल गरेर केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ,’ भेलापछि एमाओवादी प्रवक्ता दीनानाथ
शर्माले भने ।
वैद्य समूहले सरकार र पार्टी नेतृत्वविरुद्ध संघर्षको घोषणा गरेपछि आवश्यक रणनीति बनाउन अध्यक्ष दाहाल–भट्टराई समूहले आफू पक्षधर केन्द्रीय सदस्यको भेला बोलाएको थियो ।

माओवादी सत्ताकब्जामाः कांग्रेस

काठमाडौ, एकीकृत नेकपा (माओवादी) शान्तिप्रक्रियामा आएको चार वर्ष बित्न लाग्दासमेत जनविद्रोहमार्फत सत्ताकब्जा गर्ने रणनीतिबाट पछि नहटेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा गठित कांग्रेस प्रशिक्षण विभागले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन तयार पारेको कार्यपत्रमा यस्तो उल्लेख छ ।
सेना समायोजन विशेष समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले शान्तिप्रक्रियाका सम्बन्धमा तयार पारेको कार्यपत्रमा अन्य राजनीतिक दलभन्दा पृथक सैनिक चरित्रको दलका रूपमा माओवादीले आफूलाई कायम राख्न खोजेको आरोप लगाइएको छ । रिजालको कार्यपत्रमा भनिएको छ, ‘पृथक सैनिक चरित्र कायम राखी जनविद्रोहमार्फत सत्ताकब्जा गर्ने आङ्खनो कुत्सित उद्देश्य पूरा गर्न
एमाओवादी चाहन्छ ।’
माओवादी नेपाली सेनालाई प्रदूषित गरी राज्यसत्ता कब्जा गर्न सहयोगी सेना निर्माण गर्ने रणनीतिमा रहेको समेत रिजालद्वारा तयार पारिएको कार्यपत्रमा दाबी गरिएको छ । कार्यपत्रमा भनिएको छ, ‘नेपाली सेनालाई माओवादीको सिद्धान्तद्वारा प्रदूषित गरी राज्यसत्ता कब्जा गर्न सहयोगी सेनाको निर्माण गर्न माओवादी चाहन्छ ।’
माओवादीभित्र उदार र मध्यमार्गी भनेर चिनिएका नेतासमेत ‘जनसेना’लाई विघटन वा अपाङ्ग बनाउन नहुने पक्षमा रहेको कार्यपत्रमा उल्लेख छ । ‘जनसेनालाई अझ प्रशिक्षित र शक्तिशाली बनाउनुपर्ने आवाज उनीहरूबाट आएको छ,’ कार्यपत्रमा भनिएको छ ।
माओवादीले अहिले पनि विद्रोहको रणनीति कायमै राखेको उल्लेख गर्दै कार्यपत्रमा नेपाली सेनाभित्र आङ्खनो अलग्गै संरचना कायम राख्ने पक्षमा ऊ रहेको जनाइएको छ । समायोजनको सङ्ख्याका आधारमा माओवादीले विनाकुनै योग्यता सेनाको माथिल्लो पदमा प्रवेश गर्न चाहेको आरोपसमेत यसमा लगाइएको छ ।
कांग्रेसले माओवादीको उक्त रणनीति कुनै पनि हालतमा पूरा हुन नदिने उल्लेख गर्दै नेपाली सेनालगायत सबै सुरक्षा निकायको राजनीतिक तटस्थता र व्यावसायिकतालाई अक्षुण्ण राख्दै पूर्वलडाकुहरूको समायोजन गर्नुपर्नेमा जोड दिएको छ । विस्तृत शान्ति–सम्झौता, सेना र हतियार व्यवस्थापन सम्झौताअनुसार माओवादी लडाकुको समायोजन गरिने कार्यपत्रमा उल्लेख गरिएको छ । दलबीच भएको सहमतिअनुसार नै दर्जा निर्धारण गरिनुपर्ने उल्लेख गर्दै तोकिएको दर्जाका लागि एक तहसम्म शिक्षा र तीन वर्षभन्दा बढी उमेरमा लचकता अपनाउन नसकिने उल्लेख छ । (सौस)

 

प्रतिक्रिया