बनेन २५ तलाको काठमाडौं टावर

काठमाडौ, ७ चैत । काठमाडौ महानगरपालिकाले पुरानो बसपार्कमा सुविधासम्पन्न ‘काठमाडौ टावर’ निर्माणको तयारी गरे पनि काम अघि बढ्न सकेको छैन । टावर निर्माणका लागि महानगरपालिकाले कस्तो किसिमको भवन बनाउनेलगायत प्राविधिक पक्षको अध्ययन गर्न आशयपत्रसमेत मागेको थियो । ६ कम्पनीले आशयपत्र दर्ता गराए पनि महानगरपालिकाका कार्यकारी अधिकृत फेरिएपछि निर्णय कार्यान्वयन हुन नसकेको हो ।
महानगरपालिकाका निवर्तमान प्रवक्ता ज्ञानेन्द्र कार्कीले गणेश राई कार्यकारी अधिकृत हुदा गत असोजमा २५ तलाको भवनसहितको टावर बनाउने निर्णय भएको बताए । ‘सोही भवनमा मेट्रो एफएम र पौडी पोखरी सञ्चालनको योजनासमेत छ,’ कार्कीले भने, ‘टुडिखेल, खुलामञ्च, भोटाहिटीलगायत आसपासमा हाल पार्किङ चाप बढेकाले ‘काठमाडौ टावर’मा सुरुदेखि चार तलासम्म पार्किङ राख्ने सोच हो ।’ पार्किङ व्यवस्थित हुने र काठमाडौ“ देख्न सकिने भएकाले यो महत्वपूर्ण काम हुने उनले बताए ।
उनका अनुसार त्यही योजना कार्यान्वयन गर्नका लागि महानगरपालिकाले आशयपत्र मागेको थियो । सिद्धिगणेश कन्ट्रक्सन, सूर्योदय निर्माण एन्ड हाउजिङ, इनोभेटिभ कन्सेप्ट प्रालि, स्पिटग्रुप अफ बिल्डर्स, जय जनता जागरण परिषद् र एमआरबी एन्ड एसोसियट्सले आशयपत्र बुझाएका थिए ।
गत मङ्सिरमा राईको ठाउ“मा आएका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले सबै प्रक्रिया स्थगन गर्न लगाएकाले थप काम अघि बढ्न नसकेको स्रोतको भनाइ छ । ‘कार्यकारी अधिकृत सरले रोक्न निर्देशन दिनुभयो,’ एक कर्मचारीले भने, ‘त्यही भएर हामीले प्रक्रिया रोकेका हौ ।’
कार्यकारी अधिकृत अधिकारीले प्रक्रिया नपुर्‍याई आशयपत्र मागिएकाले सबै प्रक्रिया रद्द गरी पुनः सूचना जारी गरिने प्रतिक्रिया दिए । ‘त्यो प्रक्रिया रद्द गरेर फेरि आशयपत्र मागिनेछ,’ अधिकारीले सौर्यसग भने । उनका अनुसार टावर निर्माण अघि बढाउने विषयमा छलफल भइरहेको छ ।
एक अधिकारीले आर्थिक र प्राविधिक पक्षको अध्ययन भइरहेको बताए । ‘कमर्सियल कम्प्लेक्स बनाउन खोजिएकाले विस्तृत अध्ययन गर्नुपरेको हो,’ ती अधिकारीले भने, ‘कोठाका आकार, सभाहल, त्यहाबाट दिन सकिने सेवालगायतका बारेमा व्यापक छलफलपछि मात्र टुङ्गोमा पुगिनेछ ।’

प्रतिक्रिया