श्रीमतीसँग लागेको भन्दै हत्या

काठमाडौँ, ६ चैत । आफ्नी श्रीमतीसित अवैध सम्बन्ध राखेको भन्दै नेपाली सेनाका जवान राजकुमार रानामगरले एक सर्वसाधारणको हत्या गरेका छन् । उनले काठमाडौँ चाल्नाखेलका ४७ वर्षीय मानध्वज थापामगरलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
सुन्दरीजलस्थित राजदल गणमा दरबन्दी रहेका २८ वर्षीय राजकुमारले रानामगरलाई भक्तपुरको मध्यपुर ठिमी–११ स्थित मैत्रिक नेपाल कोरियन अस्पतालनजिकै बोलाएर आक्रमण गरेका थिए । महानगरीय प्रहरी वृत्त, ठिमीका अनुसार राजकुमारले मानध्वजलाई केटीको स्वर निकालेर गत २८ फागुनको साँझ अस्पतालनजिक बोलाएका थिए । साँझ ८ः३० बजे अस्पतालनजिक पुगेका मानध्वजलाई उनले पछाडिबाट दाउराको चिरपटले टाउकोमा हानी भागेका हुन् ।
चोटका कारण त्यहीँ ढलेका मानध्वजलाई सर्वसाधारणले छटपटाइरहेको अवस्थामा देखेपछि प्रहरीको सहायतामा उपचारका लागि गट्ठाघरस्थित नागरिक अस्पताल लगियो । चोट गम्भीर देखिएपछि थप उपचार गर्न भन्दै ग्वार्काेस्थित ‘बिएन्डबी’ अस्पताल लगिएको थियो । प्रहरी स्रोतले भन्यो, ‘बिएन्डबी’मा सिटिस्क्यान गरिए पनि उपचार सम्भव भएन ।’ त्यहाँबाट थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।
प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेकोले मानध्वजको उपचार अन्नपूर्ण न्युरोमा पनि हुन सकेन । टाउकाको अप्रेसन नै गर्नुपर्ने भएपछि उनलाई १ चैतमा थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरियो । अस्पतालले भोलिपल्ट नै टाउकाको अप्रेसन गरे पनि ३ चैतको बिहान १०ः३० बजे उनको मृत्यु भएको थियो ।
प्रहरीलाई राजकुमारले दिएको बयानअनुसार काठमाडौँ चाल्नाखेल–६ का ४७ वर्षीय मानध्वजले सुभद्रासँग केही महिना अघिदेखि अवैध सम्बन्ध राख्दै आएका थिए । राजकुमारलाई उद्धृत गर्दै प्रहरी स्रोत भन्छ, ‘कोठामा नआउन पटक–पटक चेतावनी दिँदासमेत मानध्वज कोठामा आउँथ्यो, सहनै नसक्ने भएपछि मात्रै
हत्या गरेँ ।’
दैलेख डाँडापराजुल वडा नम्बर ४ घर भई हाल जिल्ला सुर्खेत निगारे वडा नम्बर ९ बस्ने राजकुमारले पाँच वर्षअघि सुभद्रासँग विवाह गरेका थिए । सन्तान नभएका उनीहरू कोटेश्वरमा डेरा गरी बस्दै आएका थिए । घटनालगत्तै फरार रहेका राजकुमारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पुलचोकबाट ३ चैतमा पक्राउ गरेको हो । ठिमी वृत्तका अनुसार घटनाबारे अनुसन्धान गर्दै जाँदा राजकुमार नेपाली सेनामा कार्यरत रहेको खुले पनि दरबन्दी रहेको स्थान भने
खुलेको थिएन ।
प्रहरी वृत्त ठिमीका डिएसपी राजन अधिकारीले सौर्यसँग भने, ‘उनी सुन्दरीजलको राजदल गणमा कार्यरत रहेको पक्राउपछि मात्रै खुलेको हो ।’

प्रतिक्रिया