कोइरालाका सामान अलपत्र

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रयोग गरेका सामग्री अलपत्र अवस्थामा छन् ।

पूर्वप्रधानमन्त्री कोइरालाले अन्तिम समयमा प्रयोग गरेका सामग्री सङ्ग्रहालय बनाएर राख्ने भनिए पनि उनकी छोरी सुजाताको मन्डिखाटारस्थित निवासमा थन्किएका छन् ।
कोइरालाको निधनलगत्तै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका साथै कांग्रेस नेताले ती सामग्री संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल र कांग्रेस नेताले कोइरालाले प्रयोग गरेका सामान सङ्कलन गरी सङ्ग्रहालय बनाउने घोषणासमेत गरेका थिए । घोषणा कार्यान्वयन नहुँदा ‘लोकतान्त्रिक आन्दोलनका महानायक’को संज्ञा पाएका कोइरालाले प्रयोग गरेका सामग्री अलपत्र अवस्थामा थन्किएका हुन् । कोइरालाकोे निधन भएको दुई वर्ष बिते पनि सरकारले मात्र होइन कांग्रेसले समेत सङ्ग्रहालय बनाउन कुनै चासो देखाएको छैन ।
कोइरालाको अन्तिम समयमा उपचारार्थ प्रयोग गरिएका औषधिलगायत सामग्री नष्ट भइसकेका छन् । स्थान अभावका कारण भन्दै कोइरालाले प्रयोग गरेका टेबुल, कुर्सी, लुगा, चप्पल, ह्विलचियर, नुहाउन प्रयोग गर्ने बाल्टिन, जगसहितका सामग्री सानो कोठामा राखिएको छ । सङ्ग्रहालयमा राख्ने भनिएको बा.४च ९७९६ नम्बरकोे गाडी सुजाताका छोराबुहारीले प्रयोग गर्दै आएका छन् ।
कोइरालाको सम्झनामा छोरी सुजाताले जिपी प्रतिष्ठान भने स्थापना गरेकी छन् । प्रतिष्ठानका प्रबन्धनिर्देशक राकेश हमाल कोइरालाले प्रयोग गरेका सामग्रीको सङकलन र संरक्षण गर्न आफूहरू लागिपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामी सङ्ग्रहालय बनाउने सोचमा छौँ तर अहिले नै त्यहाँ पुग्न सक्ने अवस्थामा छैनौँ ।’
मजदुर आन्दोलनबाट राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित कोइरालाको इतिहासलाई ‘जीवन्त’ राख्न मोरङको विराटनगरमा समेत ‘राजनीतिक सङ्ग्रहालय’ बनाउने भनिएको थियो । पार्टीको पूर्वसभापति मात्र नभई गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइरालाको स्मृति दिवस ७ चैतलाई महत्व दिएर कांग्रेसले कुनै कार्यक्रम राखेको छैन । कांग्रेसले औपचारिकताका लागि सबै जिल्ला कार्यसमितिलाई कार्यक्रम गर्न पत्राचार गरिएको जनाएको छ । कोइरालाको ७ चैत ०६६ मा क्यान्सर रोगबाटनिधन भएको थियो ।

प्रतिक्रिया