साक्षरता अभियानमा सकियो साढे तीन अर्ब

काठमाडौँ, ६ चैत । दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणाका साथ सरकारले एक अर्ब रुपियाँ बजेट बिनियोजन गरी थालेको साक्षरता अभियानमा अहिलेसम्ममा साढे तीन अर्ब रुपियाँ सकिएको छ । निरक्षरता उन्मूलनको समय र बजेट पटक–पटक थप गरिए पनि निरक्षर सङ्ख्याको एकतिहाइ मात्र साक्षर भएका छन् ।
अभियान सञ्चालन गरेको शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारिक शिक्षा केन्द्रको तथ्याङ्कमा विज्ञहरूले विश्वसनीयता नभएको टिप्पणी गरेका छन् । विगतका अभियान असफल भएपछि आगामी कार्ययोजना बनाउन केन्द्रले सरोकारवालासँग छलफलसमेत थालेको छ । केन्द्रले सरोकारवाला पक्षलाई बोलाएर आइतबार छलफल थालेको हो । छलफलमा अभियानमा गरेको लगानीलाई शिक्षाविद्, शिक्षक तथा अन्यले ‘बालुवामा पानी’ हालेको टिप्पणी गरेका थिए ।
शिक्षाविद् विद्यानाथ कोइरालाले केन्द्रको तथ्याङ्क झुट रहेको बताए । अछाम, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत जिल्लामा धेरै झुटा विवरण पाइएको उनको भनाइ थियो । उनले भने, ‘अछाममा कुल जनसङ्ख्याभन्दा बढी साक्षर भएको तथ्याङ्क आउँछ भने त्यस्तो तथ्याङ्कलाई सही मान्न सकिँदैन ।’
केन्द्रका कर्मचारीका अनुसार यो वर्ष पनि साक्षरता अभियान असफल हुने सङ्केत देखिइसकेको छ । सुरुका वर्ष दुई चरणमा कार्यक्रम सञ्चालन गर्दा असफल भएको जानकारी हुँदाहुँदै यो वर्ष तीन चरणमा कक्षा सञ्चालनको कार्यक्रमले झन् असफल भएको उनीहरू बताउँछन् । ‘यो वर्ष कति साक्षर भइरहेका छन्, कुनै तथ्याङ्क आउन सकेको छैन,’ एक अधिकारीले भने, ‘कक्षा सञ्चालन अवधिभर सहभागी नभई कक्षा सुरु हुँदा नाम लेखाएकालाई साक्षर मान्दा पनि लक्षितभन्दा आधा सङ्ख्या साक्षर भएको छ, अन्तिमसम्म सहभागी भएर साक्षर हुनेको सङ्ख्या एकदमै न्यून छ ।
सरकारले आर्थिक वर्ष ०६५ ६६ मा दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणा गर्दै अभियान थालेको थियो । १५ देखि ६० वर्ष उमेरका ७८ लाख निरक्षरलाई साक्षर बनाउने लक्ष्य लिइएको थियो । त्यसअनुसार ०६६, ६७ सम्ममा २८ लाख मात्र साक्षर भए ।
केन्द्रका उपनिर्देशक केशव दाहालले भने, ‘अभियानले केही गर्‍यो तर हामी सन्तुष्ट छैनौँ ।’ उनले निरक्षरलाई सिक्नका लागि आकर्षित गर्नुभन्दा कोटा पार्नमा आकर्षण देखिएको बताए । विगतको यथार्थता औँल्याउँदै दाहालले भने, ‘सिकारुलाई सिक्नमा आकर्षण गर्नुको साटो सिकाउनेलाई आकर्षण गर्‍यो ।’
अभियानका लागि सुरुका दुई वर्षसम्म एक अर्ब चार करोडका दरले बजेट विनियोजन भएको थियो । ०६७, ६८ मा ६८ करोड आठ लाख ६० हजार र ०६८, ६९ का लागि ७० करोड विनियोजन गरेको छ ।
केन्द्रले ०६७, ६८ मा ६ लाख १२ हजार नौ सय २० निरक्षरलाई साक्षर बनाउने लक्ष्य राखेकोमा तीन लाख ३९ हजार साक्षर भए । ०६६, ६७ मा १२ लाख १० हजार पाँच सय ६० निरक्षरलाई साक्षर बनाउने लक्ष्यमा १० लाख साक्षर भएको केन्द्रको तथ्याङ्क छ । ०६५ ६६ मा २३ लाख ११ हजार नौ सय ८० लक्षित सङ्ख्या रहेकोमा १८ लाख साक्षर भएको केन्द्रले जनाएको छ ।
यस वर्ष लक्षित सङ्ख्याको आधा साक्षर हुने लक्षण देखिएको छ । यो वर्ष तीन चरणमा साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा अहिलेसम्म केही जिल्लामा अभियान नै सञ्चालन भएको छैन । केन्द्रका अनुसार दुई जिल्लामा कहिले कक्षा सञ्चालन गर्ने भन्ने निर्णय भएको छैन । एक जिल्लाले चैत पहिलो साता, तीन जिल्लाले माघ पहिलो साता, एक जिल्लाले पुस पहिलो साता, ३७ जिल्लाले कात्तिक तेस्रो साता र ३१ जिल्लाले कात्तिक पहिलो सातादेखि कक्षा सञ्चालन गर्ने तालिका बनाएको केन्द्रले जनाएको छ ।
यस वर्ष तेह्रथुम, सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, हुम्ला, म्याग्दी र मुगु जिल्लामा निरक्षरता उन्मूलन गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया