‘थ्री गर्जेज फर्किए दुर्भाग्य’

काठमाडौँ, ५ चैत । ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न समझदारी गरेको चिनियाँ थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन फर्किए देशकै दुर्भाग्य हुने बताएका छन् ।
संसद्को प्राकृतिक स्रोत–साधन समितिले समझदारीको विषयमा छानबिन गर्नका लागि भन्दै काम रोकेपछि गर्जेजले आमसहमति नभए समझदारी तोड्न सक्ने बताइसकेको छ । मन्त्री बोगटीले भने, ‘मलाई लाग्छ, थ्री गर्जेज पछि हट्दैन, तर पछि हटाउने वातावरण बनाइयो र पछि हट्यो भने त्यो सबैभन्दा दुर्भाग्यको कुरा हो ।’  यसले आगामी दिनमा नेपालमा जलविद्युत् क्षेत्रमा निर्माण गर्ने प्रकृयामा ठूलो अवरोध पुग्ने पनि उनले सौर्यसँगको कुराकानीमा बताए ।
देशमा लोडसेडिङ बढिरहेका बेला पश्चिम सेती निर्माणबारे समझदारी हुनु खुशीको कुरा भएकाले सहमतिलाई नबिथोल्न उनले सबैसँग आग्रह गरे । ‘यसलाई बिथोल्ने काम हुन्छ भने इतिहासले ती विरोध गर्नेलाई र बिथोल्नेहरूको मूल्याङ्कन गर्नेछ ।’ विरोध गर्नेप्रति आक्रोश व्यक्त गर्दे उनल भने, ‘नेपालको जलविद्युत्का सवालमा इतिहासका सय वर्षमा कसले कहाँकहाँ गल्ती गरे, कसले कसरी सहयोग गरे भन्ने कुरा इतिहाससिद्ध भइसकेको छ, कसैले लुकाएर लुक्दैन ।’
विद्युत् ऐनमै टेकेर दिइएको अनुमतिपत्रलाई विनाप्रतिस्पर्धा दिइयो भनेर अनावश्यक टिप्पणी गर्नु गलत भएको र पहिलेका धेरै आयोजना विनाप्रतिस्पर्धा दिइएको लामो फेहरिस्त आफूसँग रहेको भन्दै उनले जलाशययुक्त आयोजनाहरू निर्माण गर्दा सरकारले लिए राम्रो हुने धारणा राखे । उनले बूढी गण्डकीमा पटकपटक टेन्डर रद्द भएको नजिरलाई हेरेर प्रतिस्पर्धा गरेर दिन्छु भन्नु जलाशययुक्त आयोजनाहरू नबनाउनुसरह भएको टिप्पणी गरे ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, अरुण तेस्रो र माथिल्लो कर्णालीबारे भएका सहमतिबारे माओवादीकै वैद्य पक्षले राष्ट्रघाती भनेकाबारे उनले सहमतिलाई राष्ट्रघाती भन्नु गलत भएको टिप्पणी गरे । ‘एउटा समूहले अर्को समूहलाई आरोप लगाउँदैमा कुनै राष्ट्रघाती वा राष्ट्रद्रोही हुँदैन, राष्ट्रवादका नाममा धेरै राष्ट्रघाती र जनताविरोधी काम भएका छन्, इतिहासले त्यसको पुष्टि गर्छ ।’
महाकाली सन्धिको एउटा हिस्साका रूपमा पञ्चेश्वरको विरोध भइरहे पनि अरुण तेस्रोमा विवाद नरहेको भन्दै उनले अरुणको काम सुरु नहुनुमा ऊर्जा मन्त्रालयले केही कागजपत्र तयार गर्न बाँकी रहेकाले भएको स्पष्ट पारे । विद्युत् विकास सम्झौता सम्बन्धी काम सकिएपछि अधिकांश आयोजनाहरूको निर्माण प्रव्रिmया छिट्टै अघि बढ्ने उनले बताए ।
आफ्नै पार्टीका नेताहरूले विरोध गरे पनि काममा अवरोध नगरेको ऊर्जामन्त्रीको तर्क छ । ‘आफ्नै पार्टीका साथीहरूले आयोजनाको विरोध गर्नुलाई लोकतन्त्रको उपयोग भन्ने ठानेको छु,’ उनले भने, ‘अपर कर्णालीमा भएको अवरोध हटाउनेबारे छलफल भइरहेको र चाँडै टुङ्गिने छ’ ।
विद्युत् आयोजन निर्माण क्रममा आएका समस्याबाट आफू दिक्क, थकित र उदासीन नभए पनि मन्त्री भएपछि विकासमा आउने स्वार्थबारे भने प्रस्ट हुँदै गएको बताए । ‘बाहिर रामनामी बन्ने र भित्रभित्र मुसा मार्ने काम गर्ने काम नगराँै,’ उनले थपे, ‘सयवटा मुसा खाएर बिरालो हज गर्न गयो भन्ने उखानजस्तै व्यवहार मैले धेरैबाट पाएको छु, जसले मुसैमुसा खाएर डकार गरिरहेको छ, उसैले अर्कालाई दुर्गन्धित बनाउने काम गरिरहेको छ ।’
अन्य देशको स्वार्थभन्दा आफ्नो देशको यथार्थतालाई हेरेर अघिबढ्नु जरुरी रहेको भन्दै उनले रचनात्मक र आलोचनात्मक सुझाव दिनु गलत नभए पनि विकासमा तानातान हुनु गलत भएको टिप्पणी गरे । जलविद्युत् क्षेत्रभित्र देखिएका समस्या समाधानका लागि ठूला दलका त्यसमा पनि खास नेताहरूसँग कुराकानी भइरहेको बताउँदै उनले आगामी दिनमा सबैसँग सहकार्य र छलफल गरी विद्युत् आयोजना निर्माणलाई अगाडी बढाइने बताए ।
आफू भाषणभन्दा पनि काम गरेर देखाउने पक्षमा रहेको भन्दै उनले आफूले जलाशययुक्त आयोजनाहरू निर्माणमा तीव्रता दिने, उत्पादन र प्रसारणमा सञ्चित आयोजनालाई जोड दिने, अनुगमनलाई तीव्रता दिने, विद्युत् ऐनलाई अगाडि बढाउने, चुहावट नियन्त्रण गर्ने, ट्रान्समिसन लाइन निर्माण कार्यलाई अघि बढाइनेलगायतका काममा सरकार अघि बढेको बताए ।

प्रतिक्रिया