व्यवसायी सङ्घमा नौजनाको उम्मेद्वारी

काठमाडौँ, ४ चैत । वैदेशिक रोजगार व्यवसायीको छाता सङ्गठन वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ कार्यकालका लागि अध्यक्षसहित सात पदमा नौजनाले उम्मेद्वारी घोषणा गरेका छन् । आगामी २४ चैतमा हुने सङ्घको २०आँै साधारणसभाका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका तर्फबाट नौजनाले उम्मेद्वारी घोषणा गरेका हुन् ।
१७ सदस्यीय निर्वाचित कार्यसमितिका लागि अध्यक्षमा वर्तमान सङ्घका प्रथम उपाध्यक्ष हंसराज वाग्लको नेतृत्वमा नौजनाले उम्मेद्वारी दिने तयारी गरेको महासचिव कुमुद खनालले बताए । खनालका अनुसार नयाँ कार्यकालका लागि प्रथम उपाध्यक्षमा ज्ञानप्रसाद गैरे, द्वितीय उपाध्यक्षमा कुमुद खनाल, तृतीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, महासचिवमा कमल तामाङ, सचिवमा रोशन गुरुङ, कोषाध्यक्षमा शारदा न्यौपाने र सदस्य पदमा तुलसी काप्री र दीपक गुरुङको उम्मेद्वारी पक्का भएको छ ।
विगतदेखि नै प्रगतिशील र लोकतान्त्रिक पक्षबीच चर्को प्रतिस्पर्धा हुने गरेको सङ्घमा नयाँ कार्यकालका लागि अहिलेसम्म प्रगतिशील पक्षका कसैले पनि उम्मेद्वारी घोषणा गरेका छैनन् । हालसम्म लोकतान्त्रिक पक्षले मात्र उम्मेद्वार तयार गरे पनि अध्यक्षमा भने वाग्ले निर्विरोध चयन हुने पक्कापक्की भइसकेको खनालको दाबी छ ।
प्रगतिशील पक्षबाट अध्यक्षको उम्मेद्वारी नदेखिएकाले वाग्ले निर्विरोध हुने सम्भावना रहेको लोकतान्त्रिक पक्षको भनाइ छ । तर, अन्य पदमा भने दुई पक्षबीच कडा प्रतिस्पर्धा चल्ने व्यवसायी बताउँछन् । यसअघि फरेन इम्प्लोइमन्ट एसोसिएसनका अध्यक्ष रहेका प्रेम कटुवालले समेत अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेको व्यवसायीले बताउँदै आएका थिए । तर, केही साताअघि मात्र वैदेशिक रोजगार व्यवसायी सङ्घ र एसोसिएसनबीच एकीकरण भएकाले उनको उम्मेद्वारी पर्ने सम्भावना कम रहेको व्यवसायीको भनाइ छ । कटुवाल भने आफू निर्विरोध हुने अवस्था देखिएमात्र उम्मेद्वारी दिने मुडमा रहेको सङ्घका एक सदस्यले बताए । उनलाई हाल सङ्घको सल्लाहाकार बनाइएकाले पनि अध्यक्षमा उम्मेद्वारी नपर्ने लोकतान्त्रिक पक्षका व्यवसायीको धारणा छ ।

प्रतिक्रिया