नयाँ पारसलाई समाप्त पार्ने चेतावनी

काठमाडौं, ४ चैत । विद्यार्थी नेताहरुले नेपालमा नयाँ पारसको उदय भएको भन्दै नयाँ पारसको रुपमा देखिएका माओवादी अध्यक्ष पुष्पकमल दाहलका छोरा प्रकाशलाई पुराना पारस शाहको हालत बनाउने चेतावनी दिएका छन् ।

एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचण्ड पुत्रलाई नयाँ पारसको रुपमा उदय गराउने प्रयत्न भईरहेको दावी गरे । उनीहरुले नयाँ पारसलाई समाप्त पार्ने चेतावनी दिएका हुन् ।

अनेरास्ववियुका महासचिव किशोर विक्रम मल्लले सरकारले राज्यको ढुकुटी मोजमस्तीका लागि प्रचण्ड पुत्रलाई दुई करोड रुपैया दिने भनि गरेको निर्णय राष्ट्रघाती भएको आरोप लगाउँदै सरकारको त्यस्ता जनघाती निर्णयलाई सडकबाट परास्त गर्ने चेतावनी दिए ।
मल्लले भने, ‘सरकार शान्ति र संविधानमा लाग्नु पर्ने वेला देशको ढुकुटी रित्याउने खेलमा लागेको छ ।’

उनले प्रचण्डका छोरा प्रकाश दाहललाई दुई करोड दिने निर्णय २४ घण्टा भित्र फिर्ता नलिए सशक्त सडक संघर्ष गरेर सरकार ढाल्ने चेतावनी दिए ।

युवा संघ नेपालका उपाध्यक्ष झपट रावलले बाबुराम सरकार हत्या, आतङ्क र भ्रष्टाचारको ठेकेदार सावित भएको आरोप लगाए । उनले प्रचण्ड पुत्र प्रकाशलाई २ करोड दिने निर्णयले नयाँ सामन्तको उजागर भएको आरोप लगाए ।

उनले भ्रष्टचारीहरु सत्तामा बसिरहनु नैतिक अधिकार नभएको भन्दै तत्कालै राजीनामा दिनुपर्ने माग गरे ।

विद्यार्थीले सरकारको निर्णयको विरूद्धमा भोलीबाट देशभरीका शैक्षिक संस्था अगाडि आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया