परियोजना बारे छिटो टुंङ्गो लगाउन स्थानीयको माग

कैलाली, ४ चैत । बहुचर्चित पश्चिम सेती आयोजनाको निर्माण कार्यमा बाधा नगर्न प्रभावित क्षेत्रका बासिन्दाहरुले माग गरेका छन् ।

उनीहरुले आयोजना बन्ने नबन्ने एकीन नहुँदा वर्षौदेखि आफ्नो गाउँठाउँको विकास निर्माण लगायतका काममा बाधा पुगेको बताए ।

हालै नेपाल सरकारले चीनको थ्री गर्जेज कम्पनीसँग पश्चिम सेती आयोजना बनाउने सम्झौता गरेको भएपनि संसदको प्राकृतिक स्रोत र साधन समितिले तत्काललाई कुनै काम नगर्न निर्देशन दिएपछि प्रभावित क्षेत्रका बासिन्दाहरुले आयोजना बनाउने काममा बाधा नगर्न अनुरोध गरेका हुन् । सन् १९९४ देखि चर्चामा आएको पश्चिम सेती मुलुकै सबै भन्दा ठूलो जलासययुक्त विद्युत् परियोजना हो ।

यो परियोजना बने ७ सय ५० मेघावाट विद्युत् उत्पादन हुने बताइएको छ । परियोजनाबाट नजिकको गुयलीमा जमिनको सतहबाट १ सय ९५ मिटर उचाइको बाध निर्माण गरी भूमिगत सुरुङ मार्फत पानी डोटीको बारपाटा गाविसको राता पहाड भन्ने ठाउँमा झारेर २ सय ५० मेघावाट क्षमताका तीन टर्वाइन मार्फत ७ सय ५० मेघावाट विद्युत उत्पादन हुने छ ।

यसअघि अष्टे«लियाको स्मेक कम्पनीले आयोजनामा लाग्ने रकम जुटाउन नसक्दा परियोजना ओझेलमा परेको थियो । तत्पश्चात् नेपाल सरकारले सम्झौता तोडी थ्री गर्जेजलाई आगामी सात वर्षभित्र परियोजनाको काम सम्पन्न गरिसक्ने सम्झौता सहित जिम्मा दिएको छ । पश्चिम सेतीको चर्चा चलेदेखि आफनो गाउँठाउँमा विकास निर्माणका काम ठप्प भएर ठगिएको प्रभावित क्षेत्रका वासिन्दा तथा पश्चिम सेती मुल सरोकार समितिका अध्यक्ष रतन साउँदले बताए ।

परियोजनाबाट  बझाङका ५, डोटीका ७, बैतडीका ४ र डडेल्धुराका १ गरी १७  गाविसका ३१ वडाका करिब तीनहजार घरपरिवार प्रभावित हुने बताइएको छ ।

प्रतिक्रिया