विद्रोही आर्किटेक्चरको कथा

आयन रेन्डको उपन्यास ‘द फाउन्टेन हेड’ मैलै थुप्रैचोटि पढेको कृति हो । १८–२० वर्षको उमेरमा पहिलोचोटि पढ्दा म फाउन्टेन हेडको आदर्शवादी पक्षबाट प्रभावित भएको थिएँ । त्यस किसिमको आदर्शवाद अहिले आएर कुनै चरम दक्षिणपन्थी समूहको सांस्कृतिक मेनिफेस्टो बन्न सक्ने सम्भावनाप्रति बढी सजग भएको छु । समग्रमा भन्दा रेन्डको उपन्यासले मलाई आफ्नै विरोधाभासी विचारहरूको जालोबाट उम्कन मद्दत गरेको छ । उपन्यास र जीवन दुवैमा निहित रहेको सिर्जनात्मक आदर्शवादको उत्सव मनाउँदै उक्त आदर्शवादका नकारात्मक पलहरूप्रति समेत साथसाथै सजग हुन सिकाएको छ ।
‘द फाउन्टेन हेड’का नायक छन्, भवन निर्माण–कलामा दक्ष आर्किटेक्ट हावर्ड रोआर्क । उनले बनाएका भवनका चित्र आर्किटेक्चरको कलेजमा कोर्न सिकाइएका चित्रजस्ता हुँदैनन् । मौलिक तथा आफ्नै प्रकारका छाप बोकेका हुन्छन् । यस किसिमका विद्रोही आर्किटेक्चरल चित्र बनाएकामा रोआर्कलाई विद्यालयबाट निष्कासन गरिन्छ । पिटर किटिङ्गजस्ता रोआर्कभन्दा कम प्रतिभाशाली आर्किटेक्चर, चलिआएका भवन डिजाइन गर्ने परम्पराको अनुकरण गर्दै, पुरस्कार थाप्दै, अमेरिकाका चर्चित आर्किटेक्ट बन्न पुग्छन् । उता नयाँ किसिमको मौलिक आर्किटेक्चरको नमुना पेस गर्ने रोआर्क झन्झन् एक्ला र गरिब बन्दै जान्छन् । भवनको चित्र कोर्ने कामसमेत छोड्न विवश भएर ढुङ्गाको खानीमा दैनिक ज्यालामा काम गर्ने मजदुरसमेत बन्न पुग्छन् ।
तर, रोआर्क सम्झौता गर्दैनन् । उनी भन्छन्, ‘म समाजका निम्ति बाँच्दिनँ । आफ्नो कला निम्ति बाँच्छु । आफ्नो मनबाट उम्लेर आएको पिक्चरलाई भवनको स्वरूप दिन्छु । न म पुरस्कारका निम्ति भवनको नक्सा कोर्छु, न अर्थ आर्जन गर्न । म भवनका नक्सा किन बनाउँछु भने मलाई यसो गर्न मनपर्छ, रमाइलो लाग्छ । यदि भोकै बस्नु परे तापनि म अरूले भनेका जस्ता भवन बनाउँदिन,  आफँैलाई बनाउन मन लागेका जस्ता मात्र बनाउँछु ।’
उपन्यासको अन्त्य । तर, रोआर्कलाई प्रतिद्वन्द्वीको रूपमा हेर्ने पिटर किटिङ्गले उनकै नक्सा चोरेर दीन–दुःखीका निम्ति बन्न लागेको ठूलो अपार्टमेन्ट कम्प्लेक्स निम्ति टेन्डर भर्छ । किटिङ्गको टेन्डर छानिएर रोआर्ककै डिजाइनअनुसार उक्त भवन बन्नसमेत थाल्छ । तर, बन्ने क्रममा अन्य सरकारी आर्किटेक्ट र भवन निर्माणमा संलग्न अरूहरूले रोआर्कको ब्लुप्रिन्टलाई परिवर्तन र तोडमरोड गरेर अलि फरक किसिमको भवन बनाइदिन्छन् । रोआर्क यो सहन सक्दैनन् र उक्त भवन डायनामाइटको प्रयोग गरी ध्वस्त पारिदिन्छन् । पुलिसको पक्राउमा परेका रोआर्कलाई अदालतमा सोधिन्छ– ‘दीन–दुःखी निम्ति बनाइएको सार्वजनिक भवनलाई बमद्वारा उडाउने तपार्इंलाई के अधिकार थियो ? पिटर किटिङ्गले तपार्इंको डिजाइन चोरेकै थियो भने तापनि के यस्तो असामाजिक कार्य गर्न मिल्छ ?’ रोआर्कले भन्छन्– ‘यो भवन मेरो व्यक्तिगत सिर्जनशीलताको नमुना थियो । सिर्जनशीलताको स्रोत (फाउन्टेन हेड) हरेक मानिसको अन्तरमनमा हुन्छ । समाजको सामूहिकतामा हुँदैन । मानिस समाजको दास होइन, मानिस स्वतन्त्र हुन्छ, स्वतन्त्रता खोजिरहेको हुन्छ ।’
म रोआर्कको रोमान्टिक विद्रोह तथा व्यक्तिगत स्वतन्त्रता बारेका उनका विचारबाट अझै प्रभावित छु । तर, अहिले आएर यस्तो पनि लागेको छ – सामाजिक न्याय सबैलाई समान रूपले नपाएको संसारमा रोआर्कको व्यक्तिवादी विचारले समाजलाई कसिज्मतिर धकेल्ने त होइन ? यदि समाजमा वास्तवमै न्याय र लोकतन्त्र छ भने त उक्त समाजमा रोआर्कजस्ता एङ्लो सेक्सन, पुरुषका निम्ति मात्र नभई काला, खैरा व्यक्ति र नारीहरूका निम्ति पनि समसामयिक विश्वमा आआफ्ना सिर्जना तथा उपलब्धिमा भवन र टावरहरू ठड्याउने उत्तिकै अवसर प्राप्त हुनुपर्ने हो । तर, के त्यसो भएको छ त ? हो, उपन्यासमा रोआर्कको परिवारबारे खासै चर्चा नगरे पनि उनका पितालाई मजदुर भनिएको छ । यस दृष्टिले बुझ्दा रोआर्क निम्नवर्गबाट आएका थिए । तर, समसामयिक उपभोक्तावादी बजारमा हावर्ड रोआर्कजस्ता केही अत्यन्त प्रतिभाशाली तर निम्नआर्थिक वर्गका व्यक्तिले आफ्ना सफलताका अग्ला भवन ठड्याउन नसके पनि यस्ता केस अपवादका रूपमा मात्र सामुन्ने आउँछन् । बढीजसो गरिब व्यक्ति त छाना चुहिने झोपडीमै जीवन व्यथित गर्न विवश छन् । खास गरेर नेपालजस्तो गरिब मुलुकको सन्दर्भमा । के यस्तो अवस्थामा समाजका बलियाबाङ्गाहरूको ती दीन–दुःखी नरनारीप्रति कुनै सामाजिक जिम्मेवारी छैन ? के सबैले रोआर्कजस्तै म आफ्नो कला निम्ति मात्र बाँच्छु, समाज निम्ति होइन भनेर पन्छिन मिल्छ ? मानव समाजको दास हुनुहुँदैन भन्ने कुरामा म आयन रेन्ड तथा उनले सिर्जना गरेकी औपन्यासिक पात्र हावर्ड रोआर्कका विचारसँग सहमत छु । तर, के मानवले समाजबाट पूर्ण रूपले मुक्त हुँदै ‘असामाजिक’ अतिमानव बन्नुलाई जायज मान्न सकिन्छ ? के हिट्लर र मुसोलिनी पनि यस्तै अतिमानव बनेका थिएनन् त ?
आयन रेन्डका ‘द फाउन्डेन हेड’, ‘एट्लास स्रग्ड’, ‘वी लिभिङ,’ ‘एन्थम’ तथा अन्य पुस्तक पढेपछि उठेका आफ्नै विचारको मन्थन गर्दै मैले सोचेँ, दुवै प्रकारका ‘अतिहरूलाई समसामयिक विश्व समाजले अस्वीकार गर्दै आएको छ । एकातिर मानिसलाई पूर्ण रूपले समाजको दास बनाउने चरम साम्यवादी सोच छ भने अर्कातिर केही विशिष्ट व्यक्ति समाजभन्दा माथि उठेका हुन्छन्, तिनले व्यक्तिगत अहम् र आर्थिक फाइदानिम्ति जे गरे पनि हुन्छ भन्ने चरम पुँजीवादी सोच पनि विफल हुने क्रममा छ । समसामयिक विश्वलाई मध्यममार्गको आवश्यकता छ । एकातिर हामीले हरेक व्यक्तिको मौलिक व्यक्तित्व र उक्त व्यक्तित्वद्वारा निहित सिर्जनात्मक सम्भावनाको सम्मान गर्नुपर्छ । अर्कातर्फ आफैँभित्रका सिर्जनाका फाउन्टेन हेडहरू खोज्ने अधिकार विशिष्टहरू तथा केही अपवादका निम्ति मात्र नभएर सबैका लागि उपलब्ध हुने किसिमको, न्यायपूर्ण– समाज बनाउनका निम्ति पनि साथसाथै लागिरहनुपर्छ ।

प्रतिक्रिया