…बेलामा हरियो काँक्रो

काठमाडौँ, ३ चैत । मुख्यसचिव माधवप्रसाद घिमिरेले निजामती सेवाबाट अनिवार्य अवकाश लिन पाँच महिना मात्र बाँकी छ । आगामी २२ साउनदेखि बिदा हुने मुख्यसचिव घिमिरेले ‘…बेलामा हरियो काँक्रो’ भनेझैँ अहिले आएर बल्ल शिष्टाचार (नैतिक शिक्षा) को कक्षा लिइरहेका छन् ।
निजामती कर्मचारी सुदृढीकरण अभियानअन्तर्गत मुख्यसचिव घिमिरेले सेवाग्राहीसँग कसरी प्रस्तुत हुने, कार्यालयका काम कसरी व्यवस्थित गर्ने, कम खर्चमा धेरै काम कसरी गर्ने, कस्तो लुगामा कार्यालय आउने, कति दिनमा नङ तथा कपाल काट्नेजस्ता विषयमा कक्षा लिएका हुन् । उनी १ फागुनमा सुरु एकमहिने शिष्टाचार कक्षामा सहभागी भएका छन् ।
शिष्टाचार कक्षा लिने उनी एक्ला भने होइनन् । आगामी २८ वैशाखपछि नै अवकाश लिन लागेका सचिव पुरुषोत्तम ओझा, सचिवहरू लीलामणि पौड्याल, त्रिलोचन उप्रेती र जयमुकुन्द खनाल पनि शिष्टाचार कक्षामा सहभागी छन् । सचिव ओझा र उप्रेतीले मुख्यसचिव सँगसँगै अवकाश लिँदै छन् ।
उनीहरूलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालले शिष्टाचारसम्बन्धी ज्ञान दिलाइरहेका छन् । शिष्टाचार महापालले दिनको एकपटक मुख्यसचिवदेखि प्रधानमन्त्री कार्यालयका सबै कर्मचारीलाई शिष्टाचारबारे सिकाउँछन् र त्यसअनुसार काम गरे÷नगरेको अनुगमन गर्छन् । एक महिनाको अवधिमा कार्यालयलाई शिष्टाचारमैत्री बनाई त्यसलाई व्यक्तिगत जीवनमा ढाल्ने दुईजनालाई सम्मानका लागि सरकारसँग सिफारिस गर्ने योजनासमेत रहेको बताइएको.छ ।
मुख्यसचिव घिमिरे शिष्टाचार अभियानलाई बेग्लै कक्षाका रूपमा लिन नहुने बताउँछन् । ‘यसलाई कक्षाका रूपमा होइन दैनिक जीवनसँग जोडिने अनिवार्य काम ठानेका छौँ,’ उनले सौर्यसँग भने । मुख्यसचिवबाटै शिष्टाचारसम्बन्धी अभियान थाल्दा राम्रो सन्देश जाने भएकाले आफू यसमा सहभागी भएको उनको भनाइ छ ।
समयमै कार्यालय आउने, कार्यालय सफा राख्ने, सेवाग्राहीसँग विनम्रतासाथ प्रस्तुत हुने, कागजपत्र व्यवस्थित गरेर राख्ने, कसैसँग झगडा नगर्ने, सफा कपडा लगाउनेलगायत कुरा कक्षामा सिकाइन्छ । घिमिरेले भने, ‘यसका लागि बेग्लै कक्षा लिनुभन्दा पनि कामकै समय प्रयोग गर्नेगरी अभियान थालिएको हो ।’
सो अभियानलाई सबै निजामती कर्मचारीमा लागू गराइने घिमिरेले बताए । केही महिनामै यो अभियान देशभर लागू गराउने उनको भनाइ छ । अवकाशको मिति नजिकिँदै गए पनि यो अभियानले व्यक्तिगत जीवनमा पनि सुधार आउने उनको अपेक्षा रहेछ ।
पुराना सोचका कर्मचारीलाई परिवर्तन गरी नयाँ ढङ्गबाट जनतालाई सेवा दिन यस्तो अभियान सञ्चालन गरेको सचिव पौड्याल बताउँछन् । ‘यो अभियान धेरैअघि लागू गर्नुपर्ने थियो, ढिलै भए पनि काम थालिएको छ,’ उनले भने, ‘यसले कर्मचारीतन्त्रमा भएका नराम्रा आचरण अन्त्य गरी नयाँ संस्कारको विकास गराउँछ ।’
‘कर्मचारी शासक हुन् र अरू सबै दास’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन पनि शिष्टाचार कक्षा आवश्यक रहेको उनको ठम्याइ छ । ‘कर्मचारीमा परिवर्तन आउन नसकेकाले धेरै सेवाग्राही मारमा परेका छन्,’ उनले भने, ‘त्यसैले नयाँ सोचका साथ अघि बढ्न प्रधानमन्त्री कार्यालयबाटै शिष्टाचार अभियान थालिएको हो ।’ पहिले किन नगरेको भन्नुभन्दा पनि अब कसरी राम्रो गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्ने उनी बताउँछन् ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मी पनि यो अभियानले कर्मचारीबाट हुने काम र उनीहरूको शैलीमा सुधार आउने विश्वास व्यक्त गर्छन् । ‘यो सामान्यजस्तो लागे पनि महत्वपूर्ण अभियान हो,’ उनले भने, ‘कर्मचारीलाई आचरण सिकाउनुका साथै सेवाग्राहीसँग घुलमिल हुन यो अभियानअन्तर्गत दिइने कक्षाले धेरै कुरा सिकाउनेछ ।’ यसअघि चाहिँ कर्मचारी शिष्ट थिएनन् त भन्ने प्रश्नमा रेग्मीले भने, ‘तपाईंहरू उल्टो सोच्नुहुन्छ, पहिलेका कुरालाई बिर्सेर नयाँ अभियान थालेका छौँ । यो कर्मचारीका लागि सहयोगी बन्नेछ ।’

प्रतिक्रिया