अस्पतालमा तोडफोड, दुई घाइते

चितवन, ३ चैत । विद्यार्थीको एक समूहले आज चितवनको भरतपुरस्थित आशा अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडका क्रममा २ विद्यार्थी समेत घाईते भएका छन् ।

शुल्क वृद्धिको विरुद्धमा एक सातादेखि आन्दोलित बन्दै आएका विद्यार्थीले अस्पतालभित्र प्रवेश गरेर विभिन्न कोठा तथा मूलढोकामा तोडफोड गरेका हुन् ।

तोडफोडका क्रममा सिसा लागेर अनेरास्ववियु चितवनका अध्यक्ष निरज भट्ट र रमेश केसी घाइते भएका छन् । उनीहरूको हातमा गम्भीर चोट लागेको विद्यार्थीले बताएका छन् ।

तोडफोडमा आधा दर्जन बढी झ्यालका सिसा फुटेका छन् भने अस्पताल अगाडि सजाइएका सबै गमला फुटाइएको प्रहरीले जनाएको छ ।

तोडफोडपछि विद्यार्थीले अस्पतालबाट नाराबाजी गर्दै दिउँसो भरतपुरको चौबिसकोठीमा एक घन्टा चक्काजाम गरेको प्रहरीले जनाएको छ । उनीहरुले केही समय जिल्ला प्रशासनमा समेत धर्ना दिएका छन् ।

यसैबीच शुल्क वृद्धि खारेजीको माग गर्दै विगत एक सातादेखि आन्दोलनमा उत्रिएका चितवनको सिटिइभिटीअन्तर्गतका विद्यार्थीले आजबाट कलेजमा अनिश्चितकालीन बन्दको घोषणा गरेको अनेरास्ववियु चितवनका अध्यक्ष निरज भट्टले जानकारी दिए ।

प्रतिक्रिया