सगरमाथा चढ्न प्रकाशलाई २ करोड

काठमाडौं, ३ चैत । सरकारले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा आरोहणका लागि दुई करोड रुपियाँ दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको वैठकले लुम्बिनी सगरमाथा अभियानका नाममा हुन लागेको आरोहणका लागि दुई करोड रुपियाँ निकाशा गर्ने निर्णय गरेको भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । अध्यक्ष दाहालका छोरा प्रकाशले सगरमाथा आरोहणका लागि प्रशिक्षण समेत लिएका छन् । रकम दिने बिषयमा आलोचना भएपनि सरकारले अध्यक्ष दाहालको दबावमा सगरमाथा चढ्न छोरा प्रकाश रहेको टोलीलाई २ करोड उपलब्ध गराएको हो ।

सरकारले गणतन्त्र स्मारक नारायणहिटी दरवारभित्रै बनाउने पुनः निर्णय गरेको छ । नारायणहिटीबाट गणतन्त्र स्मारक रत्नपार्कमा सार्ने निर्णय माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा भएपनि पुनः बर्तमान सरकारले निर्णय उल्टाएर नारायणहिटीमै बनाउने निर्णय गरेको हो ।

गणतन्त्र स्मारक निर्माणका लागि संग्रहालयभित्रको पूर्वपट्टी रहेको ८२ रोपनी जग्गा उपलब्ध गराईने छ ।

स्मारक निर्माणका लागि तत्काल अर्थमन्त्रालयले बजेट निकासा गराउने निर्णयपनि भएको छ ।

सरकारले सरकारी कर्मचारीको सरुवा हरेक बर्षको साउनदेखि असोजसम्ममा मात्रै गर्ने गरि निजामति सेवा ऐन २०५० मा दशौं संसोधन गर्ने निर्णय गरेको छ । संशोधित निजामति सेवा नियमावलीमा दशौं संशोधन आजदेखि लाग भएको छ ।

बैठकमा सिंचाई मन्त्रालयकी सचिव बिन्द्रा हाडा माथि मन्त्रीले गरेको दुरब्यवहारका बारेमा समेत छलफल भएको थियो ।

सरकारले नेपाल बार एशोसियसनको कार्यक्रमका लागि सात लाख रुपियाँ सहयोग दिने निर्णयपनि गरेको त्रिपाठीले बताए ।

ऋषिराज अधिकारीलाई परराष्ट्र अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा दुई वर्षका लागि नियुक्त गरेको सरकारले सार्क सेवा व्यापार सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णयपनि गरेको छ ।

प्रतिक्रिया