क्रेज आमसञ्चारको

युवा विद्यालयको पढाइ सक्छन् । अनि रनभुल्लमा पर्न थाल्छन्– ‘अब क्याम्पसमा कुन विषय पढ्ने होला ।’ धेरै युवालाई आफ्नो रुचिअनुसारको विषय भेट्टाउनु चुनौतीझैँ हुन्छ । कतिपय अरूकै लहैलहैमा लागेर क्याम्पस र विषय छनोट गर्न पुग्छन् । अनि केही युवा भने रुचिअनुसारको विषय खोज्दै क्याम्पस–क्याम्पस चहार्छन् ।
सामाखुसीकी १८ वर्षीया मेलिना थापालाई चाहिँ मिडियामा रुचि छ । प्रिसियस कलेज, म्हैपीको कक्षा ११ मा आमसञ्चार पढ्दै गरेकी उनलाई मिडियामा संलग्न हुँदा सेलिब्रिटी बन्न पाइन्छ भन्ने लाग्छ । ढुङ्गेधाराका २१ वर्षीय अर्पण श्रेष्ठ पनि सोही क्याम्पसका आमसञ्चारका विद्यार्थी हुन् । उनी टिभीमा देखिने भीजेका अनुहार राम्रैसँग चिन्न सक्छन् । भन्छन्, ‘मलाई म्युजिक र रियालिटी शोमा रुचि छ ।’ उनीहरूजस्ता प्रायः विद्यार्थी पत्रकारिताभन्दा मनोरञ्जनमुखी मिडियामा आफूलाई उभ्याउने चाहना राख्छन् । तर, गोरखाबाट आएका सुभाष भट्टलाई चाहिँ पत्रकारिता नै मन पर्छ । उनी हरेक राष्ट्रिय स्तरकादेखि अन्तर्राष्ट्रिय स्तरका खबरसम्ममा अपडेट हुन्छन् । सिरियामा भएको युद्धमा खबर सम्प्रेषणका क्रममा घाइते भएका पत्रकारबारे अपडेट रहेका उनले सुनाए– ‘पत्रकारिता साँच्चै चुनौतीपूर्ण पेसा हो ।’
‘आमसञ्चार नै पढ्छु भन्ने कुनै प्लानिङ त थिएन, तर पढ्न मन लागेछ,’ रामेछापबाट आएकी पूनम थापा मस्किइन् । पूनम तेक्वान्दो खेल्दिरहिछन् । यसबाट राष्ट्रिय स्तरको रजत पदकसमेत हात पारेकी  छिन् । तेक्वान्दो उनको रुचि हो । त्यससँगै रुचि बनेछ–आमसञ्चार पनि । अहिले उनी खेलसँगै पढाइलाई पनि उत्तिकै बढाइरहेकी छिन् । गोरखाका सन्तोष पाण्डेलाई भने गाउँमा हुँदादेखि नै आमसञ्चारमा रुचि जागेको रहेछ । प्रिसियस कलेजमा कक्षा १२ मा पढ्दै गरेका उनी विद्यालय जाने उमेरमा खुब रेडियो सुन्थे रे । रेडियो नेपालका विभिन्न कार्यक्रमका नियमित श्रोता थिए । त्यही बेलादेखि उनी मिडियाप्रति आकर्षित बनेछन् । पत्रकारिता नपढ्न सुझाब दिनेहरू पनि रहेछन् उनलाई । ‘तर, म जसरी पनि आमसञ्चार पढ्ने मुडमा थिएँ, अरूको कुरा सुनिनँ,’ सन्तोषले भने ।
पढ्दै गर्नु अनि सँगसँगै त्यसलाई व्यवहारमा उतार्नु महत्वपूर्ण पक्ष हो आमसञ्चारमा । बजारमा चर्को प्रतिस्पर्धा भएकाले काम पाउन पनि त्यति सजिलो लाग्दैन यी विद्यार्थीलाई । धेरैजसो क्याम्पसमा आमसञ्चार र पत्रकारिता विषय राखिएकै हुन्छ अचेल । आमसञ्चार पढेका विद्यार्थीले पत्रकारिता नै गर्नुपर्छ भन्ने लाग्दो रहेनछ गोलढुङ्गाकी मञ्जु अर्याललाई । नुवाकोटबाट आएकी अम्बिका सापकोटाचाहिँ यसो भन्छिन्– ‘पढ्दै जाऊँ, पछिको कुरा पछि नै ।’ तर, सोही कलेजमा आमसञ्चार नै पढ्दै गरेकी गीताञ्जली अधिकारी भने पत्रकारितामा पाइला चाल्न खोज्दै छिन् । भन्छिन्, ‘मैले लेखेका केही लेख तथा समाचार पत्रिकामा छापिएका छन् ।’ उनलाई पत्रकारितामा पनि छापा माध्यममा बढी रुचि रहेछ ।
निजी क्याम्पसको आफ्नै नियम र परिधिभित्र यी विद्यार्थीहरू खुसी देखिन्छन् । ‘सायद विषय पनि त्यस्तै भएर होला, हामी सर– म्यामहरूसँग खुलेर कुरा गर्न सक्छौँ,’ सन्तोष पाण्डे बताउँदै थिए । उनलाई पत्रकारिता पढ्दै गर्दा आफ्नो बोल्ने कलाको पनि विकास भएको लागेको छ । प्रयोगात्मक विषय भएकाले प्रयोगात्मक शिक्षामा जोड दिनुपर्नेमा यी विद्यार्थीको एकै मत थियो ।
नयाँ पुस्ताको संलग्नताले पत्रकारिता र आमसञ्चार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्नेमा आमसञ्चारका विद्यार्थी ढुक्क देखिन्छन् । कक्षामा र साथीभाइसँगको गेटटुगेदरमा यी विद्यार्थी मोबाइल, बाइक, फेसबुक, केटा–केटी, फेसनका कुरा मात्र गर्दैनन् । मिडियाको गतिबारे पनि चासो देखाउँछन् ।

प्रतिक्रिया