चोभारमा खुलेको त्यो प्रेम

डिलराज पौडेल, गायक

करिब ६ वर्षअगाडि, डेटिङका लागि प्रख्यात चोभारमा थिएँ म । अनि सँगै उनी थिइन् उनी । अहिले सम्झिँदा पनि निकै रमाइलो लाग्छ– चोभार डाँडामा रहेका ढुङ्गा, माटो अनि वातावरणै रमाइलो लागेको थियो । सायद साथमा उनी नभइदिएकी भए त्यो राम्रो वातावरण मलाई फिका लाग्थ्यो होला । उनी भएकै कारण म भएजस्तो र म भएकै कारण उनी भएजस्तो लाग्छ अहिले पनि । उनीसँगै करिब एक महिनाअगाडि मात्र मेरो बिहे भएको छ ।
शनिबारको दिन थियो । बिहानीपख नुहाई–धुहाई ब्रेकफास्ट खाएर एकैचोटि कोटेश्वरतिर हाँक्किएँ । जामका कारण कोटेश्वर पुग्दा ११ बज्यो । उनलाई मैले साढे दस बजेतिरै भेट्ने भनेको थिएँ तर डेटिङ जानेचाहिँ बताएको थिइनँ । उनी समयमै आइपुगिछन् । डर लागेको थियो– किन ढिला आएको भन्दै रिसाउने पो हुन् कि ! ‘किन ढिला गरेको, जाममा परियो कि क्या हो’ –धन्न, यति मात्रै भनिन् । त्यहाँ मैले उनलाई घुम्न जाने प्रस्ताव गरेँ । उनलाई पहिलेदेखि नै मन पराउँथेँ तर, ‘प्रपोज’ गर्ने राम्रो वातावरण मिलिरहेको थिएन । उनले पनि मलाई मनपराउँछिन् जस्तो लाग्थ्यो । घुम्न जाने प्रस्ताव त गरेँ तर जाने कहाँ ? न उनलाई थाहा थियो न मलाई । त्यसअघि कहिल्यै त्यसरी घुम्न निस्केको भए पो ! सोच्दैमा २० मिनेट त खेर गएछ । फुत्त दिमागमा आयो– जोडीहरू घुम्न जाने ठाउँ त चोभार हो । हामी पनि त्यतैतिर हुइँकियौँ ।
चोभारमा पुगेपछि पनि कहाँ कसरी घुम्ने थाहा थिएन । एक ठाउँमा बसेर गफ गरिरह्यौँ । मेरो मुख्य उद्देश्यचाहिँ उनलाई प्रेम प्रस्ताव गर्नु थियो । त्यसअघि हाम्रा आँखाले मात्रै कुरा गरेका थिए ।
गफमा यति डुबेछौँ कि समय बितेको पत्तै भएनछ । त्यहाँ बसेको निकैबेर भइसकेको थियो, गफको प्रसङ्ग मोड्दै मैले हतारमा भनेँ– तिमीसँग एउटा कुरा राख्नु छ । ‘यत्रोबेर कुरा गरिसक्यौ त ?’ उनले यसो मात्रै के भनेकी थिइन्, मैले भनिहालेछु– ‘म तिमीलाई माया गर्छु ।’ उनी तुरुन्तै केही बोलिनन्, तर मुस्काइन् । त्यो मुस्कानमा प्रेम झल्किरहेको थियो । केहीबेरपछि उनले पनि त्यसलाई बोलीबाटै अभिव्यक्त गरिन्– ‘म पनि तिमीलाई मन पराउँछु ।’ यतिखेर चोभारको वातावरणभरि पूरै मधुमास खुलेजस्तो लाग्यो मलाई । त्योभन्दा पनि राम्री त उनै देखिएकी थिइन् । उनी यसै पनि मेरो स्वरको ठूलै फ्यान । त्यसपछि त्यहाँ आफ्ना चारवटा गीत सुनाएर मधुमास थपिदिएँ । यस्तै थियो मेरो पहिलो डेटिङको अनुभूति ।

प्रतिक्रिया