फेरि उखेलियो सीमास्तम्भ

राजविराज, २ चैत । भारतीय पक्षले सप्तरीमा पर्ने दुई देशीय सिमानामा अतिक्रमण गरी बाँध निर्माण गर्न थालेको छ । सीमास्तम्भ उखेलेर नेपालतर्फको तीन सय मिटरभित्र फालिएको छ । बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यससँगै भारतीय किसानले नेपालतर्फको दुई सय मिटर भूभागमा खेतीपाती पनि सुरु गरेका छन् ।
सप्तरीको तिलाठी र सीमावर्ती भारतीय गाउँ कुनौलीका बीचमा रहेका सीमास्तम्भ उखेलेर फालिएको स्थानीयवासीले बताए । दसगजामा रहेका २२३÷१३ नम्बरको स्तम्भ भारतीय सीमा सुरक्षा बलले उखेलेर नेपाली भूमिमा फालेका हुन् । ‘भारतीयले दसगजामा बाँध निर्माणदेखि स्तम्भ सार्ने काम गरेका छन्,’ स्थानीय विश्वमोहन झाले भने, ‘स्थानीय बासिन्दा गाउँबाटै विस्थापित हुने अवस्था
आउन लाग्यो ।’
तिलाठी भएर भारततर्फ बग्ने खाडो खोलामा भारतीयले एकतर्फी बाँध निर्माण गरेपछि खोला नेपालतिरै फर्केको छ । भारतले ‘कब्रिस्तानसे पश्चिम कटिङ मे मिट्टी भराइ एवं सुरक्षात्मक कार्य’ नाम दिएर थालेको बाँध निर्माण योजनाको ७५ प्रतिशत काम सकिएको छ । होलीका कारण कामदार छुट्टीमा गएकाले बाँकी काम तुरुन्त सम्पन्न गर्ने तयारी भइरहेको कुनौलीका मोहम्मद अयुबले जानकारी दिए ।
खाडो खोलाले भारततर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा पारेको भन्दै प्रधानमन्त्रीको ग्रामीण विकास कार्यक्रमअन्तर्गत एकतर्फी बाँध निर्माण गरिएको हो । बाँध निर्माणपछि सप्तरीको तिलाठी, लालापट्टिरम्पुरा मल्हनियाँ, सकरपुरा, लौनियाँ, बर्साइन तथा मधेपुरालगायत आधा दर्जन गाविसको खेतीयोग्य जमिन जलमग्न हुने स्थानीय देवनारायण यादवले बताए । ‘अहिले खोला नेपालपट्टि मात्र फर्केको हो,’ यादवले भने, ‘वर्षायाममा खेतीयोग्य जमिन डुबानमा पर्ने र स्थानीयवासी गाउँमा बस्न नसक्ने अवस्था आउने भय छ ।’
बाँध निर्माणसँगै दसगजाभन्दा करिब दुई सय मिटरभित्रको नेपाली भूमिमा भारतीयले गहुँ खेती गरेका छन् । भारतीय अतिक्रमणका क्रममा सीमाक्षेत्रका स्तम्भ माटोले पुरिनुका साथै तोडफोड पनि गरिएको छ । कतिपय स्तम्भका नम्बर पनि मेटिएका छन् भने नक्सा र कम्पासका भरमा स्तम्भ गाडिएको ठाउँ खोज्नुपर्ने अवस्था आएको सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी बताउँछन् ।
भारतीयका तर्फबाट भइरहेको अतिक्रमणबारे कुनै जानकारी नआएको सप्तरीका सिडिओ कृष्णचन्द्र घिमिरेले बताए । उनले तत्काल सिमानाको स्थलगत निरीक्षण गरेर अतिक्रमणबारे तथ्य पत्ता लगाइने बताए । ४ चैतमा भारतीय पक्षसँग हुन लागेको बैठकमा कुरा उठाइने र सीमा अतिक्रमणको समस्या समाधानका लागि प्रयास गरिने पनि उनले जानकारी दिए । ‘अतिक्रमण सर्वसाधारणबाट या कर्मचारी जोबाट भए पनि कारबाही अघि बढाइनेछ,’ उनले भने ।

प्रतिक्रिया