नर्सिङ छात्रा आन्दोलनमा

चितवन, २ चैत । चर्को शुल्क लिएको विरोधमा नर्सिङ कलेजका छात्राले आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा केही नर्सिङ कलेजमा तोडफोडसमेत भएको छ ।
सिटिइभिटीले निर्धारण गरेको तीन लाख ९६ हजार तीन सय २० रुपियाँ शुल्कमात्र लिनुपर्ने विद्यार्थीले माग गरेका हुन् । सिटिइभिटीबाट मान्यता लिएर चलेका नौ नर्सिङ कलेजले प्रतिविद्यार्थी दुई लाख ९६ हजार रुपियाँदेखि चार लाख ९५ हजार रुपियाँ लिइरहेका छन् । आशा नर्सिङ कलेज प्रालि, भरतपुरले छात्रासँग चार लाख ९५ हजार रुपियाँ लिएपछि आन्दोलन सुरु भएको हो । अघिल्लो वर्ष केही विद्यार्थी सङ्गठन र कलेज सञ्चालकबीच भएको सहमतिमा तीन वर्षका लागि चार लाख ३६ हजार रुपियाँ शुल्क तय भएको थियो ।
विद्यार्थीको आन्दोलनपछि नर्सिङ कलेजको छाता सङ्गठन फोरम अफ हेल्थ साइन्सको रोहवरमा छलफल भइरहेको छ । तर, निर्णयमा पुग्न नसकिएको फोरमका उपाध्यक्ष बाबुराम उपाध्यायले बताए । उनका अनुसार सिटिइभिटीले कति लिने भनेर यकिन शुल्क नतोक्दा नर्सिङ कलेजलाई शुल्क घटाउन अनुरोध गर्ने आधार नभएको बताए ।
गएको वर्ष शुल्क निर्धारणमा अनियमितता बढेको गुनासो आएपछि सिटिइभिटीले अनुगमन गरेर शुल्कको मापदण्ड तोकेको थियो । तीनवर्षे नर्सिङका लागि तीन लाख ९६ हजार तीन सय २० रुपियाँ शुल्क निर्धारण भए पनि नर्सिङ कलेजले आफ्नो अनुकूल विद्यार्थीसँग रकम असुल्दै आएका थिए ।
नर्सिङ कलेजले असुलेको रकमबारे अनुगमनका लागि गएका वर्षको मापदण्ड नभएकाले अप्ठ्यारो परेको चितवनका सिडिओ गणेश कार्कीले बताए । उनले दोस्रो र तेस्रो वर्षको शुल्क अनुगमन पनि सिटिइभिटीले नै गर्नुपर्ने बताए ।
चितवनमा आशा नर्सिङ कलेज, भरतपुर मेडिकल कलेज, बालकुमारी कलेज, श्री टेक्निकल तथा नर्सिङ कलेज, आइओएमटी भरतपुर, बोस्टन नर्सिङ कलेज, न्यु वेस्टर्न नर्सिङ कलेज, एनपिआई नर्सिङ कलेज, ओएसिस नर्सिङ कलेज, चितवन एकेडेमीले नर्सिङको पढाइ गरिरहेका छन् । चितवनका नर्सिङ कलेजमा एक सय बीस विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया