माथिल्लो तामाकोसीमा नियुक्ति विवाद

काठमाडौँ, १ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सञ्चालक सदस्यमा नेपाल विद्युत् प्राधिकरणभन्दा बाहिरका व्यक्तिलाई नियुक्ति गरेको भन्दै १७ कर्मचारी सङ्गठनले विरोध गरेका छन् ।
माथिल्लो तामाकोसी कम्पनीको प्रबन्धपत्र र नियमावलीविपरीत प्राधिकरण बाहिरबाट प्राधिकरण सञ्चालक समितिले सदस्य नियुक्ति गरेको भन्दै उनीहरूले त्यसको विरोध गरेका हुन् ।
स्वदेशी लगानीमा निर्माण भइरहेको तामाकोसी आयोजनालाई असर पार्नेगरी नियुक्ति गरिएको निर्णय बदर गर्न उनीहरूले माग गरेका छन् । तामाकोसीको लगानीकर्ता रहेको नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानमा कार्यरत १७ मजदुर सङ्गठनले संयुक्त रूपमा बुधबार जारी गरेको विज्ञप्तिमा सम्झौता र कम्पनी प्रबन्धपत्रको भावनाविपरीत जाँदा जलविद्युत् क्षेत्रमा विकृति आउने र लगानी मैत्रीवातावरण निर्माणमा अविश्वास बढ्ने उल्लेख छ ।
हालैको बोर्ड बैठकले प्राधिकरणका वीरेन्द्र पाठकलाई हटाएर ऊर्जा मन्त्रालयका सहसचिव अर्जुन कार्कीलाई सदस्यमा नियुक्ति गरेको थियो । त्यस्तै प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम बिसीलाई समेत अध्यक्षबाट राजीनामा दिन लगाएको थियो । प्राधिकरणबाटै सदस्य हुनुपर्नेमा मन्त्रालयका सहसचिवलाई सदस्य नियुक्ति गरेको भन्दै उनीहरूले विरोध जनाउँदै आएका हुन् । बैठकको निर्णय नसच्याए कडाभन्दा कडा आन्दोलनमा उत्रने चेतावनीसमेत आन्दोलनकारीले दिएका छन् । प्रधानमन्त्री, मन्त्रिपरिषद्, ऊर्जामन्त्री, ऊर्जा राज्यमन्त्री, प्राधिकरण सञ्चालक समितिलाई समेत दिइएको सो मागसहितको ज्ञापनपत्र बुझाउँदै उनीहरूले उठान गरेको विषय निरूपण नहुञ्जेल सञ्चालक समितिको बैठकमा भाग नलिने व्यवस्था मिलाउन कर्मचारी सञ्चय कोष, टेलिकम, बिमा संस्थान र लगानी कोषका प्रमुखलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया