कांग्रेस–एमाले नयाँ चुनावको मुडमा

काठमाडौँ, १ चैत । संविधानसभाको म्याद सकिन साढे दुई महिना बाँकी रहँदा प्रतिपक्षी दुई दल नयाँ निर्वाचनको मनस्थितिमा पुगेका छन् । आगामी १४ जेठभित्र संविधान बने पनि नबने पनि नयाँ निर्वाचनमा जानुपर्ने ठहर गर्दै कांग्रेस र एमाले आन्तरिक विवाद थाती राखेर साङ्गठनिक अभियानमा लागेका छन् ।
दुई वर्षको म्यान्डेट पाएको संविधानसभाले चार वर्षमा पनि संविधान बनाउन नसके फेरि म्याद थपिने आशा यी दललाई छैन । संविधान जारी भए संसदीय चुनाव र नभए नयाँ संविधानसभाको चुनाव हुने निष्कर्षमा कांग्रेस, एमाले पुगेका हुन् । दुवै अवस्थामा ०६९ को चैत मसान्तभित्र चुनाव हुने दुई दलको आन्तरिक विश्लेषण रहेको छ ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अब नयाँ निर्वाचनको कुनै विकल्प नभएको बताए । शान्तिप्रक्रिया पूरा भएर संविधान जारी भए पनि वा नभए पनि चुनावमै जानुपर्ने उनको भनाइ छ । ‘दुई वर्षका लागि जनताले दिएको म्यान्डेट चार वर्षसम्म पनि पूरा भएन,’ उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले गर्दा पनि अब नयाँ निर्वाचनमा जानुको विकल्प छैन ।’ दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेको स्विकार्दै केसीले भने, ‘दलहरूले आफ्ना कार्यक्रम लिएर गाउँ जानुका साथै शान्ति र संविधान निर्माणको कामलाई पनि अघि बढाउनुपर्छ ।’
भ्रातृसङ्गठन विघटन गर्ने केन्द्रीय समितिको निर्णयपछि उत्पन्न विवादलाई थाती राखेर कांग्रेस सङ्गठन सुदृढीकरणको दुईमहिने अभियानमा जुटेको छ । आफ्नो साङ्गठनिक अवस्था मूल्याङ्कन गर्न कांग्रेसले ७५ वटै जिल्लामा कार्यक्रम राखेको छ । आफू मातहतका सबै निकायलाई निर्वाचनको तयारीमा जुट्नसमेत कांग्रेसले निर्देशन दिएको स्रोतले बतायो ।
यता, एमालेले पनि आगामी निर्वाचनलाई ध्यानमा राख्दै पार्टीभित्रको विवाद समाधान गरेको छ । यसअघि निरन्तर अन्तरसङ्घर्षमा रहेका तीन नेताले पार्टीलाई एकढिक्का बनाएर लैजाने सङ्कल्प गरेका छन् । तीनमहिने जागरण अभियानसहित राष्ट्रिय प्रतिनिधि परिषद् सम्पन गरेको एमालेले फेरि तीनमहिने सङ्गठन परिचालनको कार्यक्रम तय गरेको छ ।
शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याएर संविधान जारी गर्नु नै एमालेको पहिलो प्राथमिकता भएको एमाले सचिव युवराज ज्ञवालीले बताए । यद्यपि, शान्ति र संविधानको काम पूरा नभए निर्वाचनको विकल्प नभएको उनको भनाइ छ । पार्टीले सुरु गरेका विभिन्न साङ्गठनिक अभियान निर्वाचनकै तयारीस्वरूप भएको उनले स्विकारे । ‘अब चुनावको तयारी त गर्नु नै पर्‍यो नि !’ ज्ञवालीले भने, ‘संविधान जारी भएन भने अर्को विकल्प के छ र ?’
माओवादीका हतियार लडाकुबाट अलग भए शान्तिप्रक्रिया र संविधान निर्माणका केही काम थाती राखेर संविधान जारी गर्ने पक्षमा कांग्रेस–एमाले रहेका छन् । शान्तिप्रक्रियाको काम अघि नबढे र संविधान पनि जारी नभए अन्तरिम संविधान संशोधन गरेर आमनिर्वाचनमा जानुपर्ने उनीहरूको आन्तरिक निष्कर्ष छ । फेरि संविधानसभाको म्याद थपिए जनताको तीव्र विरोध हुने र अन्तर्राष्ट्रिय समुदायले पनि नस्विकार्ने अनुमान दुई दलले गरेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आउँदो वर्षाभन्दा अघि आयोगले कुनै पनि निर्वाचन गराउने सपना नदेखेको बताए । यद्यपि, सबै राजनीतिक दल तयार भए आयोग जुनसुकै बेला निर्वाचन गराउन सक्षम रहेको उनको दाबी छ ।
‘निर्वाचनसम्बन्धी कानुन तयार भएपछि आयोगले ९० दिनभित्रै निर्वाचन गराउन सक्छ,’ उप्रेतीले भने, ‘मुलुकको भौगोलिक र प्राकृतिक अवस्थाका कारण कात्तिक÷मङ्सिर वा चैत वैशाखमा मात्र एकैपटक निर्वाचन गराउन सकिन्छ ।’

माओवादी के भन्छ ?
संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको माओवादी तत्काल नयाँ निर्वाचनमा जान चाहँदैन । यद्यपि, सम्भावित चुनावको आँकलन गर्दै उसले पनि साङ्गठनिक अभियान थालिसकेको छ ।
पार्टीभित्रको विवादको निकास महाधिवेशनबाट खोज्नेगरी माओवादीले तत्कालका लागि आन्तरिक विवाद थामथुम बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार थारू राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठक र प्रशिक्षणमा सबै नेता तथा कार्यकर्ता सङ्गठन विस्तारमा जुट्नेगरी पार्टीले छिट्टै नयाँ कार्यक्रम ल्याउने जानकारी दिए । शीर्ष नेताहरू व्यस्त रहेको भन्दै उनले अन्य नेता तथा कार्यकर्तालाई पनि सङ्गठन विस्तारमा जुट्न आग्रह गरेका थिए ।
माओवादी पोलिटब्युरो सदस्य पम्फा भुसालले १४ जेठमा पनि संविधान जारी नभए जनताले जहाँबाट सक्यो त्यहाँबाट संविधान बनाउने बताइन् । ‘हामी संविधानसभाबाटै संविधान जारी गर्न लागिपरेका छौँ, अहिले त्यसको विकल्प सोच्ने बेला भएको छैन,’ उनले भनिन्, ‘संविधान जारी भएपछि हुने जुनसुकै निर्वाचनका लागि हामी तयार छौँ ।’
माओवादी स्थायी समिति सदस्य एवं स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले संविधानसभा भङ्ग गरेर नयाँ निर्वाचनमा जाने कुरा घातक हुने बताए । ‘शान्तिप्रक्रियालाई टुङ्गो लगाएर संविधान जारी गर्नेबाहेक हामीले अरू कुरा सोचेका छैनौँ,’ उनले सौर्यसँग भने ।

प्रतिक्रिया