रेखाका भूमिका

हिरोबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापाले हालसम्म एक सयको हाराहारीमा चलचित्रमा अभिनय गरिसकेकी छन् । एक दशक बढीको यो करियरमा उनले नेपाली चलचित्रमा ग्ल्यामरको नयाँ ट्रेन्ड भित्र्याउँदै थुप्रैपटक आफूलाई नम्बर एक नायिकाको सूचीमा उभ्याएकी छन् । अभिनय मात्र होइन, थुप्रै चलचित्र निर्माणसमेत गर्न भ्याइसकिन् । यत्तिका चलचित्रमा काम गरिसक्दा रेखाले भूमिकाचाहिँ कस्ता–कस्ता गरिन् त ? उनी यसो भन्छिन्,

गृहिणी यो भूमिकामा मैले एकदमै कम चलचित्रमा अभिनय गरेकी छु । आफ्नो चलचित्र रावणबाहेक अन्यमा यो भूमिका गर्न पाएको छैन । यो चलचित्रमा गृहिणीको स्ट्रङ भूमिका छ । जो घरको चुलाचौकाबाट बाहिर निस्किएर पुरुषले गर्न नसकेको काम गर्छे । परिवारको रक्षाका लागि रावणजस्तो राक्षसलाई मार्न पछि पर्दिनँ ।
प्रेमिका यो मेरो फेबरेट भूमिका हो  । चलचित्रमा यो चरित्रमा अभिनय गर्न असाध्यै मन पर्छ । रियल लाइफमा पनि प्रेमिका भएरै रहिरहन मन लाग्छ । प्रेमिका भनेको मीठो भावना हो, यो भावनालाई जो–कोहीले अनुसरण गर्न खोज्छन्  । प्रेम प्राप्त नहुँदाको पीडा, प्रेमीप्रेमिकाको लभस्टोरी चलचित्रमा निकै रुचाइन्छन् । आफैँले भूमिका छान्नुपरे म त प्रेमिकाको भूमिका नै छान्छु चलचित्रमा ।
नेत्री सानोभन्दा सानो र सबै कुराको जानकारी राख्ने, समाजसेवाका लागि हरदम तयार हुने नारीलाई नै नेत्री भनिन्छ । यो पनि मैले निर्वाह गरेका थोरै भूमिकामध्ये पर्छ । तर, यो भूमिका बोल्ड हुन्छ । दर्शकमा राम्रै प्रभाव पार्छ । प्रदर्शनको तयारीमा रहेको आफ्नै चलचित्र लंकामा मैले यो भूमिका गरेकी छु । हेरौँ, दर्शकबाट कस्तो प्रतिक्रिया आउँछ । मन पराउनुभयो भने अरू चलचित्रमा पनि यो भूमिका गर्नेछु ।
प्रहरी यो समाजको शान्तिसुरक्षासँग जोडिएको चरित्र हो । सामान्यतया चलचित्रमा यो भूमिकालाई चोर समात्ने अनि शान्तिसुरक्षा गर्ने भनेर सीमित गरिएको पाइन्छ । मैले पनि धेरै चलचित्रमा यो भूमिका गरेकी छु । मैले गरेको यो भूमिकामा चाहिँ लिडरसिप छ । दर्शकले निकै मन पराउनु पनि भयो । नेताले गर्न नसक्ने काम प्रहरी भएर गर्न सकिने सन्देश मैले गरेको भूमिकाले दिने गरेको छ । मलाई मन पनि पर्छ । अभिनय गर्दागर्दै म साँच्चैको पुलिस नै हुँ कि जस्तो लाग्थ्यो कहिलेकाहीँ त ।
बहिनी म आफैँ पनि दुई दादा र दुई दिदीकी बहिनी हुँ । परिवारकी कान्छी छोरी । वास्तविक जीवनमा पनि बहिनीहरू पुलपुलिएका हुन्छन् अनि परिवारको सबै सदस्यका प्यारा । मलाई पनि बहिनीको ‘ट्याग’ मन पर्छ । चलचित्रमा पनि मैले मायालु बहिनीको भूमिका निर्वाह गरेकी छु ।
एक्सन अर्थात् द्वन्द्व यो त्यति राम्रो चाहिँ होइन । जिन्दगीमा धेरै द्वन्द्व देखिएको छ । तर, द्वन्द्व नभईकन कुनै पनि नयाँ कुरा आउँदैन, त्यो चलचित्रमा होस् या वास्तविक जीवनमा । चलचित्रमा द्वन्द्वले नै माया–प्रेम पैदा गर्छ, दूरी घटाउँछ, कथालाई मोड दिन्छ । यस्तो भूमिका मैले पनि गर्नुपर्छ । द्वन्द्व भूमिकाबाट मैले अवार्डसमेत पाएकी छु ।
रुन्चे नारी मलाई रोनाधोना त्यति मन पर्दैन । वास्तविक जीवनमा पनि यसबाट टाढै रहन्छु । मलाई कसैको आँखामा आँसु मन पर्दैन । तर, चलचित्रमा चाहिँ यस्ता भूमिका थुप्रै गरिसकेकी छु । यो मेरो रुचिको भूमिकाचाहिँ होइन । मलाई सहज नलागे पनि दर्शकलाई चाहिँ मैले यो भूमिका गरेको मन पर्दो रहेछ । निकै सुहाउँछ रे । आफैँ हेर्दा पनि हो कि जस्तोचाहिँ लाग्छ । मलाई रुनै आउँदैन जस्तो लाग्छ, तर त्यही नै नेचुरल्ली हँुदो रहेछ ।
टिनएजर यो भूमिका त नहुने कुरै भएन । तीस वर्ष काटेको केटीको भूमिका गर्न सायद मेरो परिपक्वता नपुग्ला तर टिनएजरको त मज्जाले गर्न सक्छु, किनकि मलाई तीसभन्दा तलका केटीका सबै कुरा थाहा भइसकेको छ । म पनि त्यो स्टेजबाट पार गरिसकेकी हुँ ।  त्यो हिसाबले पनि मलाई यो भूमिका गर्न सहज हुन्छ । धेरै चलचित्रमा गरेकी पनि छु । अहिलेको समयमा टिनएजर्स धेरै एड्भान्स छन् ।

प्रतिक्रिया