फोटो परिवर्तन गर्दा फन्दामा

काठमाडौँ, ३० फागुन । स्थायी घर बुटवल–२ ट्राफिक चोक भए पनि १५ वर्षदेखि भारतमा बस्दै आएकी मुना मल्लले कुवेत जाने सोच बनाइन् । उनले त्यसकै लागि पाँच हजार भारतीय रुपियाँ सहित आफ्नो एउटा फोटो दलाललाई दिइन् । दलालले केही दिनमै उपलब्ध गराएको पासपोर्ट र भिसा बोकेर उनी कुवेत उडिन् ।
कुवेत पुगेर मख्ख पर्दै ‘हाउसमेड’ काममा लागेकी उनी नेपाली दूतावासको नियन्त्रणमा परेपछि भने छाँगाबाट खसेझैँ भइन्, किनकि उनले प्रयोग गरेको ४५३६३९५ नम्बरको पासपोर्ट आफ्नो नभई सुरजमणि राजवंशीको नामको रहेछ । दलालले त्यही पासपोर्टमा राजवंशीको फोटो झिकी मुनाको टाँसेका थिए । दूतावासले मुनालाई तत्काल नेपाल फिर्ता पठायो, अन्ततः उनी प्रहरीको फन्दामा परिन् ।
अर्कैको नाममा जारी पासपोर्ट (हस्तलिखित)मा फोटो परिवर्तन गरी विदेश जाने महिला मुना मात्रै एक्ली होइनन्, उनीजस्ता धेरै छन् । अध्यागमन विभागले गत जनवरी महिनामा मात्रै ६७ जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा २२ जना पुरुष छन् भने बाँकी सबै महिला । तीमध्ये अधिकांश कुवेतस्थित नेपाली दूतावासले नियन्त्रणमा लिएर फिर्ता पठाइएकाहरू हुन् ।
प्रहरीका अनुसार उनीहरूमध्ये थोरैमात्रै नेपालको विमानस्थल प्रयोग गरी बिदेसिएका थिए । बाँकी सबै भारतीय विमानस्थल प्रयोग गरी कुवेत पुगेका थिए । भारतीय विमानस्थल प्रयोग गरेर गैरकानुनी ढङ्गले विदेश जाँदा धेरै जोखिम मोल्नुपर्छ ।
अध्यागमन विभागका महानिर्देशक सुधीरकुमार शाहले जोखिम मोलेर विदेश जाने कारण अशिक्षा मुख्य रहेको बताए । ‘दलालको फोस्रो आश्वासनमा आँखा चिम्लेर विश्वास गर्छन् अनि दुःख पाउँछन्,’ महानिर्देशक शाहले भने ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि फोटो परिवर्तन गरी विदेश गएका धेरैलाई पक्राउ गरेको छ । सिआइबीको तथ्याङ्कअनुसार गत कात्तिकयता मात्र २७ जना पक्राउ परिसकेका छन् । तीमध्ये २३ महिला छन् । उनीहरूलाई कुवेतस्थित नेपाली दूतावासले नियन्त्रणमा लिएर नेपाल फिर्ता गर्ने क्रममा सिआइबी र अध्यामगनको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सिआइबीका डिएसपी प्रवीण पोखरेलका अनुसार पक्राउ परेकामध्ये अधिकांश भारतीय विमानस्थल हुँदै कुवेत पुगेका थिए । ‘धेरै दिल्लीको बाटो हुँदै कुवेत पुग्छन्, बाँकी मुम्बइबाट,’ डिएसपी पोखरेलले भने ।
प्रहरी स्रोतका अनुसार दलालले नक्कली पासपोर्ट बनाइदिएबापत पाँचदेखि सात हजार रुपियाँसम्म लिने गरेको पाइएको छ ।
अर्कैको नाममा जारी पासपोर्ट प्रयोग गरी कुवेत पुगेका नेपाली धेरै भेटिएपछि दूतावासले पाँच महिनाअघि अध्यागमन विभाग, परराष्ट्र मन्त्रालय, सिआइबी लगायतका निकायमा यसबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको थियो । दूतावासको पत्रमा कुवेतमा रहेका ६० हजार नेपाली कामदारमध्ये ३३ हजारभन्दा बढी महिला रहेको उल्लेख छ । २२ हजार महिला कामदार गैरकानुनी ढङ्गले कुवेत पुगेका छन् ।
डिएसपी पोखरेलले भने, ‘श्रम स्वीकृत नगरी कुवेत पुगेका महिला कामदारमध्ये धेरैको पासपोर्टमा फोटो परिवर्तन गरिएको छ ।’

प्रतिक्रिया