विदेशी शरीरमा नेपाली नारी

उनी नेपाली होइनन्, लवजै नेपालीको जस्तो छैन । तर, पनि सकेसम्म कनीकुथी नेपाली नै बोल्ने प्रयास गर्दै थिइन् । उनले बोलेका अस्पष्ट नेपाली शब्दहरूको आशय यस्तो छ– ‘म अब कर्मघर जाने बेला भयो मित्रहरू, अनुकूल मिले अर्को वर्ष भेटौंँला । बाईबाई ।’ त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा इलिनर ब्रुमले भनेका यी वाक्य आफैंँमा अनौठा थिए, कुनै नेपाली युवाले विदेश जाँदा साथीभाइसँग बिदा मागेजस्तो । खासमा यी स्विडेनी नागरिक स्वदेश फर्कंदै थिइन्, तर भनिरहेकी थिइन्– कर्मघर जाँदै छु । नेपालमा रहँदा चलनचल्तीका नेपाली पोसाक नै उनका प्राथमिकतामा पर्छन् । लाग्छ– नेपाली जीवनशैलीसँग निकै प्रभावित छिन् । यत्तिको आत्मीयता किन त ? भन्छिन्– ‘नेपाल मलाई आफैंँ जन्मेको ठाउँजस्तो लाग्छ ।’
ब्रुम स्विडेनको सरकारी अस्पतालकी नर्स हुन् । स्वास्थ्यक्षेत्रमा लागेको ३० वर्ष पुगिसकेछ । पचपन्न वर्ष पुगिसकिन् । ७ मार्च उनको जन्मदिन, यसपालि उनले नेपाली शैलीमै मनाइन् । उमेर ढल्कँदै छ, तर पनि नेपाली युवाका लागि केही गर्नुपर्छ भन्ने सोच जवान बनेर गडेको छ उनको मस्तिष्कमा । स्विडेनी युवा व्यक्तिगत स्वार्थमा मात्र रुमल्लिएको देख्ने उनले नेपाली युवामा चाहिँ केही गरौंँ भन्ने भावना पाएकी रहिछन् ।
‘पहिलोपल्ट नेपाल आउन प्लेन चढ्दा मलाई बीसौंँ वर्षपछि आफ्नो घर फर्किरहेको अनुभूति भएको थियो’, उनले सुनाइन्– ‘गुगलमा सर्च गरेर हेर्दा कतिखेर नेपाल पुगौंँ  भनेर हतारिएकी थिएँ ।’ आइपुगेपछि यहाँका मानिसका व्यवहारमा उनले आफ्नै परिवारले दिने न्यानो मायाको स्पर्श पाइछन् । ‘त्यसैले त मलाई नेपाल आफ्नै घरजस्तो लाग्छ’ –उनले थपिन् ।
पहिलोपटक नेपाल आउँदा ‘पर्यटक’ थिइन् उनी । घुम्दै पोखरा पुगेपछि त्यो ठाउँ छाड्नै मन लागेनछ । ‘स्वयंसेवक भएर बस्छु बरु, नेपालमै बस्छु’ उनले अड्डी कसिछन् । त्यति बेला कास्की हेम्जाका स्नोभ्यु बोर्डिङ स्कुलका सञ्चालकहरूले उनलाई सहयोग गरेछन् । भिसाको म्याद तीन महिनाको मात्र थियो, फर्कनु त प¥यो नै । ‘मन त थिएन, फर्कनु बाध्यता थियो । तर मनमनै छिट्टै फर्कने वाचा भने गरेँ’, ती पल न्यानो स्मृति बनेका छन् उनलाई– ‘नेपालीले देखाएको सद्भाव भुल्नै सक्दिनँ, त्यो दुई महिना मेरा लागि नेपाली चालचलन बुझ्न विश्वविद्यालय पसेजस्तो भयो ।’
उनका अनुसार स्विडेनमा मानिसहरू कसैसंँग बोल्ने फुर्सदसम्म पाउँदैनन् । भौतिक रूपमा त नेपालभन्दा सम्पन्न छ तर त्यहाँ मानवता छैन । भ्रातृत्व रत्तिभर देखिँदैन– ‘त्यहाँ नपाएको माया म नेपाल आएपछि प्राप्त गर्छु, स्विडेनमा जन्मेँ त के भो, घर त मेरो नेपाल नै हो ।’
स्विडेन फर्केपछि नेपालको माया झनै बल्झिन्छ रे !  धारामा पानी आउँदा होस् या बिजुलीको स्विच थिच्दा, अस्पतालको ड्युटीमा रहँदा होस् वा स्विडेनी नागरिकका बीच रुमल्लिँदा, नेपालकै यादले सताइरहन्छ रे ! ‘त्यति बेला मलाई आफ्नो नेपालप्रतिको जिम्मेवारी झन् गाढा लाग्न थाल्छ’ –उनले सुनाइन् । सन् २००८ देखि स्विडेनको नर्सिङ सङ्घमार्फत नेपालका लागि सहयोग जुटाउने अभियान उनले सुरु गरिसकेकी छन् ।
नेपाली र स्विडेनी महिलाबीचका अनेकाँै असमानताबीच एउटा समानता देख्छिन् उनी– त्यहाँ पनि भान्छाको काम महिलाले नै गर्छन् । राजनीतिक सचेतनाचाहिँ यहाँका महिलामा बढी छ । तर, नेपालमा महिलाप्रतिको लिङ्गीय विभेद उनका आँखाबाट पनि छिपेको छैन । भन्छिन्– ‘विभेदविरुद्धको चेतनाका लागि नेपालको पाठ्यक्रममा नै सुधार गर्नुपर्छ । शिक्षामा समानता भयो भने यो असमानता पनि बिस्तारै हट्दै जान्छ ।’
आफ्नो पारिवारिक जिम्मेवारी पनि त होला नि उनको ? ‘त्यो त मैले चिन्तै लिन पर्दैन, उनीहरू आआफ्ना ठाउँमा स्थापित भइसके । त्यसै कारण अब नेपालबारे सोच्ने फुर्सद राम्ररी पाएकी छु’, उनी निर्धक्क भइन् ।
‘नेपाली मन खुला हुन्छ, त्यहाँ सद्भाव हुन्छ । आँखा मायालु हुन्छ । नेपालको आफ्नै पहिचान छ । चाहन्छु– यो पहिचान विश्वभरि फैलियोस्, नेपाली युवा आत्मविश्वासी भएको हेर्न चाहन्छु ।’ एक झमट प्रशंसा भ्याएपछि आफ्नो दायित्व सम्झिइन् उनले– ‘नेपालमा नजन्मे पनि यो देश बनाउन मैले धेरै काम गर्नु छ ।’

प्रतिक्रिया