‘मापदण्ड पुरा गरे नेतृत्व दिनसकिन्छ’

काठमाडौ , २९ फागुन । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सेना समायोजनमा क्रान्तिकारी कदम चाल्नसके प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको विशेष साक्षात्कारमा नेता नेपालले आफूसँग भएको कुराकानीका आधारमा प्रधानमन्त्री अगाडि बढे जेठ १४ गतेसम्म बर्तमान सरकार कायम रहने दाबी गरे ।
उनले भने, ‘सहमति अनुसार सेना समायोजनको प्रक्रिया अगाडि बढाउन क्रान्तिकारी ढंगले प्रधानमन्त्रीले निर्णय गर्नु पर्छ ।’
नेता नेपालले प्रधानमन्त्री भट्टराई नेतृत्वकै सरकारलाई राष्ट्रिय सहमतिको बनाउन भने नसकिने बताए । उनले मुलुकमा अझै दुई वटा सरकार बन्ने बताए । नेता नेपालले भने, ‘संविधान जारी गर्दा र निर्वाचन गराउन दुई वटा नयाँ सरकार बन्ने सम्भावना मुलुकमा विद्यमान छ ।’
उनले अहिलेकै अवस्थामा सरकारको औचित्य सकिएको बताए । नेता नेपालले सरकार ढाल्न भने अहिले आफूहरुलाई हतार नभएको स्पष्ट पारेका छन् ।
उनले संघीयता बाहेक सबै विषयमा तत्कालै सहमति बन्न सक्ने भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहितको मिश्रित शासकीय स्वरुपमा सहमति बन्न सकने बताए ।
संघीयतमा धेरै भावना बाहिर आउन थालेकाले अप्ठ्यारो अवस्थ आउन थालेको उल्लेख गर्दै नेपालले समथ्र्य र पहिचानका आधारमा संघीयता बनाउनु पर्ने बताए ।
नेपाली सेनाको मापदण्ड ब्यक्तिगत रुपमा पुरा गर्नेलाई मात्रै समायोजन गर्ने बताएका नेता नेपालले सेनाको मापदण्ड पुरा गर्ने लडाकु महानिर्देशनालयको  नेतृत्व समेत गर्न सक्ने बताए । उनले भने, ‘मेजरभन्दा माथि हुँदैनपनि भन्नु उचित होईन, जर्नेल, कर्णेल चाहिन्छ पनि भन्नु पर्दैन, मापदण्ड पुरा गरे नेतृत्वपनि गर्न सक्छन ।’

प्रतिक्रिया