‘कोषले बजार निर्माताको काम गर्न सक्छ’

ऋषिराम गौतम, कार्यकारी निर्देशक, नागरिक लगानी कोष

नेपाल राष्ट्र बैंकमा ३० वर्ष लामो अनुभव सँगालेका  ऋषिराम गौतम तीन वर्षअघि नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट छनोट भएका हुन् । उनी कार्यकारी निर्देशक भएयता कोषमा करिब दोब्बर बढीले बचत बढेर २७ अर्ब पुगेको छ । बचतको मात्रा बढ्दै गएपछि कोषले लगानीको दायरा पनि फराकिलो बनाउँदै लगेको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गरेका गौतमले  बेलायतबाट एमबिए उत्तीर्ण गरेका छन् । कोषको समग्र विषयमा सौर्यका किरण ढकालले गरेको कुराकानी

कोष अहिले के गरिरहेको छ ?
कोषले विभिन्न क्षेत्रलाई समेटेर काम गरिरहेको छ । यसको कामको प्रकृति बृहत् छ । छरिएर रहेको पुँजीलाई सङ्कलन गरी देश विकासमा लगाउने तथा पुँजी बजारको विकास गर्नेतर्फ कोषले काम गरिरहेको छ । कोषले कर्मचारी बचतवृद्धि, अवकाश कोष, लगानीकर्ता हिसाब योजना, उपदान कोष, नागरिक एकाङ्क योजना, निजामती कर्मचारी बिमा, सामुदायिक विद्यालयका शिक्षकको जीवन बिमा कोषजस्ता सामाजिक सुरक्षण प्रदान गर्ने आयोजना तथा ट्रस्टी सेवाहरू र पुँजी बजार सेवा सञ्चालन गरिरहेको छ । विभिन्न किसिमका बचत कार्यक्रमबाट सङ्कलन भएको रकमलाई सफलतापूर्वक लगानी व्यवस्थापन गर्ने काम गरिरहेको छ ।
कोषले पुँजी परिचालनमा विविधीकरण गर्न चाहेको हो ?
कोषले निक्षेप राख्ने र ब्याज असुली गर्ने कामले मुलुकको आर्थिक विकासमा पर्याप्त योगदान पुग्न नसक्ने भन्दै दीर्घकालीन पुँजी निर्माणका क्षेत्रमा लगानी अघि बढाएको छ । अब हामी दीर्घकालीन पुँजी निर्माण हुने आयोजनामा लगानी गर्न चाहन्छौँ । हाम्रो यो योजनालाई सरकारले पनि सहयोग गर्नुपर्छ । दीर्घकालसम्म प्रतिफल दिने र आम नागरिकको जीवनस्तरमै परिवर्तन ल्याउन सक्ने किसिमले ठूला आयोजना निर्माण गर्न सकिए कोषको दीर्घकालीन पुँजी परिचालनबाट मुलुकको आर्थिक विकासले गति लिन सक्छ । दीर्घकालीन बचतलाई दीर्घकालीन पुँजी निर्माणमा परिवर्तन गरी आर्थिक रूपान्तरणसमेत गर्न सकिन्छ ।
कोषको सस्थागत संरचनामा पनि सुधार हुँदैछ  ?
हामी कोषको सस्थागत संरचना परिवर्तनको पक्षमा छौँ ।  यसमा सुधार आवश्यक छ । अब नयाँं चुनौती थेग्नसक्ने संरचनाको आवश्यकता बढिसकेको छ । कोषको व्यवस्थापकीय संरचनामा क्रमिक सुधार, सूचना प्रविधि क्षेत्रका स्तरोन्नति, लगानी नीतिमा परिमार्जन, भौतिक संरचनाको विकासजस्ता क्षेत्रमा सुधार गर्ने योजना कोषले बनाएको छ ।
त्यसो भए कोषलाई प्रभावकारी बनाउन के गर्नुभएको छ ?
कोषलाई बढी प्रभावकारी बनाउन यसको सबै कार्यलाई प्रतिफलमुखी र प्रविधियुक्त बनाउँदै लगिएको छ । लगानीलाई प्रभावकारी किसिमले विश्लेषण गरी जोखिम र प्रतिफलको आधारमा उच्च प्रतिफल दिने गरी लगानी केन्द्रित गर्ने, सङ्गठनात्मक स्वरूपलाई आवश्यकताअनुसार संशोधन गरी समयानुकूल र प्रभावकारी बनाउने, सूचना प्रणालीलाई सशक्त र प्रभावकारी बनाउने, भौतिक पूर्वाधार निर्माण तथा विकास गर्नेतर्फ काम भइरहेका छन् । ट्रस्टीका रूपमा रहेका संस्था भएकाले सुरक्षालाई प्राथामिकता दिँदै फन्डलाई बढी प्रतिफलमुखी र राष्ट्रिय हितमा उपयोग गर्ने र त्यस्तो फन्डलाई चुस्त राख्ने कार्य पनि आफ्नो ठाउँमा छ । मेचीदेखि महाकालीसम्मका कर्मचारीको बचत, बिमाजस्ता कुराको तथ्याङ्क वेबसाइटबाटै हेर्ने कार्यलाई अझ प्रभावकारी बनाइएको छ ।
कस्ता आयोजनामा जाने तयारी छ  ?
विशेषगरी कोषको सुरक्षाका साथै प्रतिफल बढाउनुपर्ने आवश्यकता छ । बंैकको मुद्दती निक्षेपमा केन्द्रित कोषलाई दीर्घकालीन परियोजनामा लगानी गर्ने उद्देश्य लिइएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरमा लगानी तथा दुई अर्ब ऋण दिने विषय टुङ्गो लागिसकेको छ । अन्य केही आयोजनामा पनि कोषले लगानीको गृहकार्य गरिरहेको छ । विषेशगरी जलविद्युत्, सामाजिक, पर्यटन र अन्य उत्पादनसशील आयोजना, जसले दीर्घकालीन विकास तथा प्रतिफल प्राप्त हुने आयोजनामा लगानी गर्ने हाम्रो प्राथमिकतामा पर्छ ।
सहवित्तीयकरणको कुरा पनि उठेको थियो नि ?
तपाईंले भनेको ठिकै हो । हामी सहवित्तीयकरणमा जान चाहिरहेका छौँ । निजी क्षेत्रका वाणिज्य बैंकहरूसँंगको सहवित्तीयकरणमा लगानी गर्न सकियो भने ठूला आयोजनाका लागि पुँजी पुग्छ र विकासले गति लिन्छ । सहवित्तीयकरणका लागि हाम्रो आफ्नै पूर्वाधार विकास पनि भइसकेको छैन । यस्तो अवस्थामा पूर्वाधार भएका संस्थासँग मिली लगानी गर्दा दुवै पक्षलाई सहज हुन्छ ।
सहवित्तीयकरणमा विगतको अनुभव त त्यत्ति राम्रो देखिएन नि ?  
विगतमा सहवित्तीयकरण सरकारी बैंकबाट बढी भएको छ । त्यस्तो लगानीमा राजनीतिक हस्तक्षेप भएको देखिन्छ । अब त्यस्तो अवस्था छैन । निजी क्षेत्रका वाणिज्य बैंकहरू आफैँले आयोजनाका बारेमा स्वतन्त्र रूपमा विस्तृत अध्ययन गर्न सक्ने क्षमता राख्छन् । आयोजना उपयुक्त छ, छैन र प्रतिफल प्राप्त हुन सक्दैन भन्ने देखिएमा लगानी गर्दैनन् । त्यसैले निजी क्षेत्रका वाणिज्य बैंकसँग सहवित्तीयकरणले कोषमा जम्मा भएका रकमबाट पुँजी निर्माणमा रूपान्तरण गर्न निश्चित रूपमा योगदान पुग्छ ।
अहिले कोषले बजार निर्माताको काम पनि गर्न लागेको हो ?
नेपाल धितोपत्र बोर्डले बजार निर्माताको काम गर्न भनेको छ । हामीले नेपाल धितोपत्र विनिमय बजारमा बजारनिर्माताका विषयमा कुरा राखिसकेका छौँ । बजारनिर्मार्ताका रूपमा सेयर कारोबार गर्न कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थानजस्ता संस्थाबाट पनि फन्ड उपलब्ध हुने विषयमा चर्चा छ । यदि सबै कुरा सकारात्मक रूपमा अघि बढेमा कोषले बजारनिर्माताका रूपमा काम गर्न सक्छ ।
सेयर बजारलाई कसरी हेर्नुभएको छ त ?
हाम्रो सेयर बजारमा बंैक तथा वित्तीय संस्थाको मात्र ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । वास्तविक र उत्पादनमूलक कम्पनीको उपस्थिति ज्यादै न्यून मात्रामा रहको छ । सेयर परिसूचक विगतमा जुन रूपमा बढेको थियो, त्यो हाल वास्तविकतामा आएको मात्र हो । यस्तो अवस्थमा परिसूचक, त्यस्ता कम्पनीको नाफा र उसले दिने प्रतिफल तथा बजारको मनोभावनको सेरोफेरोमा घुमिरहेको प्रस्टै देखिन्छ ।

प्रतिक्रिया