नाचघरका कर्मचारी आन्दोलित

काठमाडौः जमलस्थित सांस्कृतिक संस्थान -राष्ट्रिय नाचघर) को भवन बाहिरबाट हेर्दा जति चिटिक्क देखिन्छ, भित्रको आन्तरिक व्यवस्थापन र संरचना भने त्यति नै नाजुक रहेको त्यहां कार्यरत कर्मचारीले बताएका छन् । कार्यरत कर्मचारीको सङ्गठन स्वतन्त्र कर्मचारी युनियनले आइतबार पत्रकार सम्मेलनमा अवस्था नाजुक हुादै गएको जानकारी गराएका हुन् ।
संस्थानलाई व्यवस्थित गराउन माग गर्दै कर्मचारीले त्यसका लागि सङ्घर्ष समितिसमेत गठन गरेका छन् । ‘संस्थान बेवास्ताको सिकार भएको छ, सबै आन्तरिक कुरा लथालिङ्ग र भताभुङ्ग भइसकेका छन्,’ सङ्र्घष समिति संयोजक कृष्ण गुरुङले भने ।
भवन निर्माणपछि निर्माणपक्षले आधिकारिक रूपमा हस्तान्तरण नगरी भित्रभित्रै बुझाएको र अहिले तीन वर्ष नपुग्दै भवन जीर्ण अवस्थामा पुग्न लागेको आरोप कर्मचारीले पत्रकार सम्मेलनमा लगाए । भवनको छानादेखि लिएर धारा-पानीको व्यवस्था सबै अस्तव्यस्त भएको उनीहरूले बताए । करिब १८ करोडको लागतमा बनेको भवनको अन्डरग्राउन्ड पार्किक, भुइा तल्लाको सपिङ कम्प्लेक्सका साथै माथिल्ला दुई तल्ला व्यापारिक प्रयोजनका लागि भाडामा दिइएको र त्यसमा पनि अनियमितता हुने गरेको आरोप कर्मचारीले लगाए । उनीहरूले भने, ‘सरकारी अनुदानबाट बनेको भवन व्यापारिक समूहलाई ३० वर्षका लागि न्यूनतम दररेटमा दिनु कति उचित हो, यसमा पनि छानबिन हुनुपर्छ ।’
संस्कृति प्रवर्द्धन तथा जनतालाई मनोरञ्जन गराउने उद्देश्यले विसं २०१६ मा सांस्कृतिक विभागका रूपमा स्थापित यो संस्था ५ असार, २०२९ मा  सांस्कृतिक संस्थानका रूपमा परिणत भएको थियो । हालको भवन भने २४ मङ्सिर २०६० मा शिलान्यास भई १८ असोज २०६५ मा उद्घाटन भएको थियो ।

प्रतिक्रिया