सरकारी कामकाजमा गतेको साटो तारिख !

काठमाडौँ, २८ फागुन । अन्तर्राष्ट्रिय स्तरमा मेल खुवाउन भन्दै सरकारी कामकाजमा विक्रम सम्वत्को सट्टा इस्वी सम्वत् प्रयोग गर्ने गृहकार्य थालिएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा संस्कृति मन्त्रालयले यस्तो गृहकार्य सुरु गरेको हो ।
इस्वी सम्वत्लाई सरकारी मान्यता दिइएमा नेपाली क्यालेन्डरमा विक्रम सम्वत् दोस्रो प्राथमिकतामा पर्नेछ । वैशाख–जेठभन्दा पनि जनवरी, फेबु्रअरी बढी चलनचल्तीमा आउनेछन् भने गतेभन्दा तारिखको प्रयोग बढी हुनेछ । सरकारी क्यालेन्डरमा इस्वी सम्वत्पछि विक्रम सम्वत् र नेपाल सम्वत् सँगसँगै राख्ने तयारी संस्कृति मन्त्रालयले गरेको छ । जबकि अहिलेको क्यालेन्डरमा विक्रम सम्वत्लाई पहिलो र इस्वी सम्वत्लाई दोस्रो महत्व दिइन्छ ।
संस्कृति मन्त्रालयले इस्वी सम्वत्लाई सरकारी कामकाजको सम्वत् बनाउन गृहकार्य सुरु गरेको संस्कृतिमन्त्री गोपाल किरातीले पुष्टि गरे । सरकारको कामकाजलाई अन्तर्राष्ट्रिय तहमा व्यावहारिक बनाउन यो निर्णय लिइएको उनले बताए । ‘इस्वी सम्वत्लाई अन्तर्राष्ट्रियस्तरमा जसरी प्रयोग भइरहेको छ, त्यसैगरी नेपालमा पनि प्रयोग गर्ने गृहकार्य भएको हो,’ संस्कृतिमन्त्री किरातीले सौर्यसँग भने, ‘यसको विरोध हुन सक्छ, तर विरोधको औचित्य छैन ।’
संस्कृति मन्त्रालयले इस्वी सम्वत्लाई कानुनी मान्यता दिन तीन महिनाअघि पद्मरत्न तुलाधरको संयोजकत्वमा हरिनारायण मल्ल र कुमार योञ्जन सदस्य रहेको सम्वत् अध्ययन तथा सुधार कार्यदल गठन गरेको थियो । कार्यदलले यही २५ माघमा मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा भने इस्वी सम्वत्, नेपाल सम्वत् र विक्रम सम्वत्लाई अहिलेकै जसरी मान्यता दिनु उपयुक्त हुने सुझाइएको छ ।
‘इस्वी सम्वत्लाई अहिले जसरी मान्यता दिइएको छ, त्यसैलाई निरन्तरता दिन तथा नेपाल सम्वत् र विक्रम सम्वत्लाई पनि सँगसँगै राख्न सल्लाह दिएका छौँ,’ सदस्य कुमार योञ्जनले भने । संस्कृतिमन्त्री किरातीले भने कार्यदलको प्रतिवेदनप्रति आफू सन्तुष्ट नभएको बताए । ‘नेपालको सीमा कट्नेबित्तिकै वैशाख, जेठ भनेर कसैले बुझ्दैन, जनवरी फेब्रुअरी भने मात्रै बुझ्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा कामकाज गर्दा पनि जनवरी, फेबु्रअरी प्रयोग नगरी सुखै छैन,’ किरातीले भने, ‘सूचना, सञ्चार, वाणिज्यलगायत क्षेत्रमा अहिले पनि इस्वी सम्वत् नै प्रयोग भइरहेको छ । त्यसैले अब हामीले फराकिलो भएर सोच्नुपर्छ ।’
त्यसो त सरकारले विगतमा पनि इस्वी सम्वत्लाई व्यावहारिक प्रयोगमा नल्याएको होइन । विदेशी पर्यटक भित्र्याउन सरकारले पर्यटन वर्ष २०११ घोषणा गरेको थियो भने हाल लगानी वर्ष २०१२ जारी रहेको छ । इस्वी सम्वत्लाई सरकारी मान्यता दिने गृहकार्य प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै इच्छामा थालिएको मन्त्री किराती बताउँछन् । यसअघि कार्यदल पनि प्रधानमन्त्रीकै निर्देशनमा गठन गरिएको थियो ।
यसैबीच, आगामी वर्ष पनि चैत महिनालाई क्यालेन्डरबाट नहटाइने भएको छ । सरकारले दुई वर्षपहिले नै चैत महिनालाई एक वर्षका लागि क्यालेन्डरबाट हटाउने घोषणा गरेको थियो तर हिन्दूवादीले विरोध गरेपछि निर्णय फिर्ता भएको थियो ।

प्रतिक्रिया