युनियन गठन व्यवस्थित बनाउन अख्तियारको निर्देशन

काठमाडौं, २८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको गठन सञ्चालनसम्बन्धी कार्य कानून बमोजिम यथाशीघ्र गरी व्यवस्थित गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिवलाई निर्देशन दिएको छ ।
आयोगद्धारा आज जारी विज्ञप्तीमा निजामती कर्मचारी संगठन गठन प्रक्रियालाई कानून बमोजिम बनाउने बिषयमा मन्त्रिपरिषद्लाई समेतलाई जानकारी दिने जनाईएको छ ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको गठन लामो समयसम्म हुन नसकेको र ट्रेड युनियन गठन हुँदा सदस्य सङ्ख्या कूल कर्मचारी सङ्ख्याको अनुपातमा अमिल्दो तथा अस्वाभाविक भएको भनी सरोकारवालाहरुबाट प्राप्त उजुरी उपरेपछि फागुन २६ गते आयोगमा छलफल भएको थियो ।
अब आइन्दा निजामती कर्मचारीको ट्रेड युनियन दर्ता गर्दा सदस्य कर्मचारीको नाम, पद, सङ्केत नम्बर जस्ता आधिकारिक विवरण निजामती किताबखानाको अभिलेखसँग भिडाई अन्य ट्रेड युनियनसँग दोहोरोतेहोरो नपर्ने गरी वास्तविक कर्मचारीको ट्रेड युनियन दर्ता गर्ने व्यवस्था मिलाउन र भइसकेका ट्रेड युनियनले पेस गरेको सदस्यको विवरणसमेत उल्लेखित आधारमा अनुगमन गर्न श्रम विभागमा लेखी पठाउने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया