होलीको दिन

दिगन्त एउटा असल विद्यार्थी हो । पढ्नुबाहेक ऊ कथा, कविता पनि लेख्न रुचाउँछ । विद्यालयमा शिक्षकहरूको प्रिय विद्यार्थी पनि हो । कविता प्रतियोगितामा प्रथम हुने गर्छ ।
एक दिनको कुरा हो, ऊ आफ्नो गृहकार्य सकेर बालकथा पढ्दै थियो । त्यसै बखत उसलाई सम्झना आयो– आज बिदाको दिन रमेशको घरमा जानुपर्ने । ‘अस्ति मैले आउँछु भनेको थिएँ । रमेशले मलाई पर्खिरहेको होला’ –सोच्दै ऊ तयार भयो ।
रमेशको घरतिर हिँड्यो ।
शनिबारको दिन भएकाले उसले बिहानै नुहाएको थियो । सुकिलो लुगा लगाएर  सफासुग्घर देखिन्थ्यो । मन चङ्गाजस्तै भएको थियो । रमाइलो अनुभव गर्दै अघि बढ्यो ।
आज रमेशको घरमा हिजो पढाइ भएका कुरा छलफल गर्ने निधो भएको थियो । त्यसैले दिगन्त हिजो पढाइ भएका विषयहरू स्मरण गर्न थाल्यो ।
बाटोमा उसले रङ लगाएर हिँडिरहेका मानिस देख्यो । ‘ए ! आज त फागुपूर्णिमा होली पो रहेछ ।’ उसले मनमनै सोच्यो । ‘ला भुसुक्कै बिर्सिएको आज होली खेल्छन् । घरबाट बाहिर निस्किनु हुँदैन थियो । कसैले रङ लगाइदियो भने त बित्यासै हुने भयो ।’
दिगन्त रमेशको घर छिटो पुग्न पाए हुन्थ्यो भन्दै लम्किन थाल्यो । ऊ एकसुरले हिँड्न थाल्यो । सोच्यो– रमेश मलाई पर्खिरहेको होला ।
‘आछु..छु..छु…’ दिगन्त अत्तालियो । ऊ पूर्ण रूपले निथ्रुक्क भिजिसकेको थियो । बाटामा हिँड्दै गर्दा घरको बार्दलीबाट रङ घोलेर कसैले उसको जिउमा खन्याइदिएको थियो । जाडोले ऊ लुगलुग काँप्न थाल्यो ।
‘हेर, लुगा सबै भिजिहाल्यो नि । अब रमेशको घर कसरी पुग्ने होला,’ उसले बरबराउँदै भन्यो ।
दिगन्तसँगै सुतेका उसका दाजु छक्क पर्दै उसलाई हेर्न थाल्नुभयो । भाइ किन बरबरायो भनी दाजुलाई खुलदुली लाग्यो र झकझकाउँदै भन्नुभयो– ‘हैन दिगन्त, एकाबिहानै लुगा भिज्यो भन्छौ, फेरि रमेशको घर कसरी जाने पनि भन्छौ । के हो सपना देखेको हो कि क्या हो ?’
दाइले झकझकाउँदा दिगन्तको होस खुल्यो । ऊ निद्राबाट ब्युँझिँदै अलमलियो । ‘ए ! सपना पो रहेछ । झन्डै होली खेलेर बित्यास परेको’ भन्दै सबै कुरा उसले दाजुलाई सुनायो ।
दिगन्त सपनाको कुरा सम्झेर हाँस्यो ।
‘आज होली खेल्ने हैन त दाइ, तर अबबाट हामी अर्कालाई दुःख दिने गरी नखेलौँ । दाजुभाइ, साथीहरू मिलेर खेल्यौँ भने नै रमाइलो हुन्छ । मित्रता कायम रहन्छ । अर्कालाई जथाभाबी रङ छ्यापेर दुःख दिनु पनि राम्रो हैन,’ दिगन्तले भन्यो । ओछ्यानबाट उठ्दै दाइलाई हे¥यो ।
‘ठीक भन्यौ तिमीले, यसरी नै सबैले बुझिदिए कति राम्रो हुन्थ्यो । हुन्छ हामी त्यसै गरौँ ।’ दाइले दिगन्तलाई धाप दिँदै भन्नुभयो ।
दाजुभाइ मुखहात धुन बाहिर निस्किए ।
त्यस दिन दाजुभाइ र साथीहरू मिलेर खुब रमाइलो गरे । फागुपूर्णिमा त भाइचाराको पर्व हो भन्ने सबैले बुझेर अबिरसँगै रमाए ।

प्रतिक्रिया