चलचित्रमा कर्णाली

काठमाडैाः कर्णाली अञ्चलको विषयवस्तु समावेश गरी तयार पारिएको चलचित्र कर्णालीको सार्वजनिक प्रदर्शन गरिएको छ ।
कर्णाली जनअधिकार मञ्चले बिहीबार राजधानीमा सो क्षेत्रको स्रोत र साधनका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी प्रवर्द्धन गर्न चलचित्र प्रदर्शन गरेको हो । करिब दुई घन्टा अवधिको सो चलचित्रमा कर्णाली क्षेत्रका पर्यटन, संस्कृति, जलविद्युत्, खनिज सम्पदा र जीवनशैलीबारे प्रस्तुत गरिएको छ । सो क्षेत्रमा करिब चार लाख जनसङ्ख्या रहेको र त्यहांका विभिन्न नदी तथा खोलाबाट ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने सम्भावनालाई चलचित्रले उठाएको छ ।
पुष्कर रेग्मी र जया वाग्लेको मुख्य भूमिका रहेको सो चलचित्र देव नेपालको निर्देशनमा तयार भएको हो । कर्णाली मिडियाले निर्माण गरेको चलचित्रबाट सो क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको कर्णाली जनअधिकार मञ्चका विदेश विभाग प्रमुख चन्द्र रावलले जनकारी गराए । -सौस)

प्रतिक्रिया