आगलागीमा एक जनाको मृत्यु

बीरगन्ज, २५ फागुन । रौतहटको भसेडवा गाविस वडा नम्बर ६ मा आज बिहान आगलागी हुदा एक जनाको जलेर मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् ।

जलेर मृत्यु हुनेमा स्थानीय ४० वर्षीय लक्ष्मी ठाकुर रहेका छन् । घरमा सुती रहेका बेला अचानक आगलागी हुँदा ठाकुरको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते सौखी दासको कटहरीयामा उपचार भइरहेको छ । स्थानीय पाचु दासको घरमा  लामखुट्टे धपाउन बालिएको धुपबाट सल्किएको आगोले  पाँचु दास, मोहन दास र लक्ष्मी ठाकुरको फुसको घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट करिब ६ लाख रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा दुइ वटा बाख्रा र दुइ वटा भैसीपनि जलेर मरेका छन् । बिहान ४ बजे देखि सुरु भएको आगलागी स्थानीयवासी र प्रहरीको प्रयासमा दुइ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

यसैवीच, प्रहरीले पर्साको महादेवपटटी गाविस वडा नम्बर ३ बलुवटा टोलमा स्थानीय मुकेश सिंहको मदिरा पसलमा छापा मारेर भारतीय मदिरा बरामद गरेको छ । सिंहको पसलबाट भारतीय ब्राण्डका ८० हजार रुपियाँ बराबरको मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी बलुवाको संयुक्त गस्ति टोलीले भारतीय बियर १४ कार्टुन, रम ४ कार्टुन, सात बोरा पाउचलगायतका अवैध  मदिरा बरामद गरेको थियो ।

प्रतिक्रिया