‘सक्नुहुन्न भने राजीनामा गर्नुहोस्’

काठमाडौं, २४ फागुन । उपराष्ट्रपति परमानन्द झाले आगामी १४ जेठमा नयाँ संविधान जारी हुन्छ या हुँदैन भन्नेमा आफू अन्योलमै रहेको बताएका छन् । राजनीतिक दलहरूको कार्यशैलीप्रति पटक–पटक असन्तुष्टि जनाउँदै आएका झाले संविधान निर्माणको काम कहाँसम्म पुग्यो, कति काम भयो र के–के हुन सकेन भन्ने विषयमा दलहरूले आफूसँग परामर्श नलिएको बताए ।
सौर्यसँगको कुराकानीमा मङ्गलबार उनले समयमा संविधान बनाउन दलहरू गम्भीर नभएको आरोप लगाए । जनताले दिएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनले सभासद्प्रति आक्रोश पनि पोखे । ‘तपाईंहरू संविधान बनाउन सक्नुहुन्न भने राजीनामा गर्नुहोस् । राजीनामापछि निकासका लागि अर्को बाटो खुल्छ,’ उपराष्ट्रपतिले भने, ‘ठूलो नेता होस् या सानो, उसले आफूले पाएको जिम्मेवारी पूरा गर्नुपर्छ । जिम्मेवारीबाट पन्छिन मिल्दैन । जिम्मेवारी वहन गर्न नसक्ने नेताले इमानदारीपूर्वक मैदान छाड्नुपर्ने उनको भनाइ छ ।
उनको भनाइमा जब म्याद गुज्रन थाल्छ तब दलहरू तातिन थाल्छन् । ‘म्याद सकिन लाग्दा दलहरू तातिन थाल्छन् । अब के गर्ने भन्दै बैठक र छलफल सुरु गर्छन्,’ उनले भने, ‘त्यसपछि उनीहरू समाधानको बाटो खोज्न थाल्छन् । यसमा सुधार आवश्यक छ ।’
संविधान निर्माणमा के–के काम भयो भनेर तपाईंले दलहरूलाई सोध्न सक्नुहुन्न त भन्ने प्रश्नको जवाफमा उनले आफूसँग त्यस्तो अधिकार नभएको बताए । ‘मलाई त्यस्तो अधिकार कसले दिन्छ र !’ उनले भने, ‘नेताहरू मलाई केही भन्न आउँदैनन्, उनीहरूलाई पनि मैले के भन्ने ?’ आफू भूमिकाविहीन भएको गुनासो पनि उनले दोहो¥याए । आफू भूमिकाविहीन भएको कुरा धेरैपटक गरिसकेको भन्दै उनले निराशा व्यक्त गरे, ‘अब त कति भनूँ ! मेरो काम भनेको राष्ट्रपति नभएका बेला गर्ने काम हो । अहिले मेरो केही काम छैन ।’
नेताहरूलाई राष्ट्रपतिले बोलाएर सोध्ने काम भइरहेको भन्दै राष्ट्रपतिको यो काम जायज रहेको उनको ठम्याइ रहेछ । ‘संविधान निर्माणमा राष्ट्रपति डा. रामवरण यादवले दलहरूलाई बोलाएर सभ्य ढङ्गले सोध्ने काम गरिरहनुभएको छ । यो जायज हो,’ उनले भने ।
आगामी १४ जेठभित्र संविधान निर्माण भएन भने फेरि पनि म्याद थप्नुपर्छ कि पर्दैन भनी सोधिएको जिज्ञासामा उनले म्याद थप्ने या नथप्ने विषयमा अहिले बहस गर्नु राम्रो नहुने बताए । म्याद थप्ने या नथप्ने विषयमा अहिले बहस नगर्न आग्रह गर्दै उनले १४ जेठमै संविधान देऊ भन्नेमा बहस गर्नुपर्ने बताए ।
अब आउने संविधान पूर्ण हुनुपर्ने बताउँदै अपूर्ण संविधान जारी गरे त्यसले समस्या समाधान गर्न नसक्ने उनले स्पष्ट पारे । ‘संविधान पूर्ण हुनुपर्छ । अधुरो र खण्डित संविधान हुनुहुँदैन । सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई ग्यारेन्टी गर्नेगरी संविधान आउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया