च्यालेन्जकपको तयारी पूरा

काठमाडौं, २३ फागुन । यतिबेला नेपालमा रङको पर्व होली चलिरहेको छ तर यसपटक होलीसँग जोडिएको रङले नेपाली फुटबललाई पनि रङ्गिन बनाएको छ । नपत्याए हेर्नुभए हुन्छ, दशरथ रङ्गशालादेखि नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयसम्म यतिबेला रङ्गिन बनेको छ ।
नेपालमा हुन लागेको हालसम्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता एएफसी च्यालेन्जकप र विश्व फुटबल महासङ्घ (फिफा) अध्यक्ष सेप ब्लाटरको पहिलोपटकको नेपाल आगमनलाई लक्ष्य गरी एन्फाले यस्तो तामझाम गरेको हो ।
बहुप्रतीक्षित एएफसी च्यालेन्जकपका लागि रङ्गशाला पूरै सिँगारिएको छ । रङ्गशालामा पछिल्ला धेरै वर्षदेखि नफेरिएका भिआइपी प्यारापिटअन्तर्गतका सिटहरूले यसपटक फेरिने सुअवसर पाए । त्यससँगै त्यहाँ रङरोगनको काम पनि भयो । त्यहाँ मात्र होइन, साधारण प्यारापिटअन्तर्गत विभिन्न रङ लगाएर बस्ने ठाउँको भित्तो रङ्ग्याइएको छ । ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई नेपाली फुटबलको रौनक देखाउन चाहन्छौं,’ एन्फा अध्यक्ष गणेश थापाले भने, ‘हाम्रो इच्छा छ, फिफा अध्यक्ष ब्लाटर प्रभावित बनून् ।’
प्रतियोगिताको उद्घाटन गर्न आइपुग्ने ब्लाटरले दशरथ रङ्गशालामा नेपाल र प्यालेस्टाइनबीच हुने पहिलो खेल अवलोकन गर्नेछन् । सो अवसरमा एएफसीका कार्यवाहक अध्यक्ष झ्याङ जिलोङ र महासचिव एलेक्स सुसीको पनि उपस्थिति रहनेछ ।
आयोजनाको सम्पूर्ण तयारी पूरा भएको एन्फाले मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एएफसीले केही सर्त राखेर नेपाललाई प्रतियोगिता आयोजनाको जिम्मेवारी गतवर्ष दिएको थियो । त्यसमा भौतिक पूर्वाधारको निर्माण र रङ्गशालामा मर्मतसम्भार नै प्रमुख सर्त थिए । यसका लागि खेलपत्रकार बस्नेदेखि टिमले अभ्यास गर्ने ठाउँसम्म एन्फाले खोजी गर्नुपरेको थियो । भिआइपी प्यारापिटको तल रहेको जुडो हलमा अस्थायी प्रयोजनका लागि पत्रकार सम्मेलन गर्ने हल बनाइएको छ । त्यस्तै यसअघि अर्कै खेलको प्रयोजनमा रहेका केही हल अस्थायी रूपमा यस प्रतियोगिताका लागि खाली गरिएको छ । मैदानमा फिल्ड मात्र होइन ट्र्याकको पनि मर्मत गरिएको छ । ट्र्याकको केही ठाउँमा परेका चिरा टेप लगाएर टालिएको छ ।
टिमहरूले अभ्यास गर्नका लागि नेपाल प्रहरीको मैदान, बुद्धिविकास मण्डल ललितपुरको खेलमैदान, एन्फा कन्फ्लेक्स र एन्फा टेक्निकल सेन्टरको खेलमैदानलाई लामो समयदेखि मर्मत गरिँदै आएको थियो । त्यस्तै, प्रतियोगिताका केही खेल सञ्चालन हुने अर्को मैदान सशस्त्र प्रहरीको हल्चोकमा पनि केही महिना अघिदेखि मर्मत तथा पूर्वाधार निर्माणको काम भएको थियो । यी सबै तयारीका लागि एन्फाले सरकारबाट एक करोड रुपियाँ सहयोग प्राप्त गरेको थियो । त्यस्तै सरकारको पहलमा चिनियाँ सहयोगमार्फत फ्लडलाइट पनि निर्माण भएको छ । यसैकारण सन् २००५ पछि पहिलोपटक नेपाली दर्शकले घरेलु मैदानमा फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल हेर्नेछन् । ‘हामीले आयोजनाको तयारी गर्न सबैबाट यसपटक धेरै ठूलो सहयोग पायांै, खासगरी सरकारबाट,’ उत्साहित एन्फा अध्यक्ष थापाले भने ।

ब्लाटरसामु कुनै प्रस्ताव छैन
ठूलो ओहोदाका अन्तर्राष्ट्रिय व्यक्तित्वको आगमन हँुदा सम्बन्धित क्षेत्रमा राज्यले विभिन्न सहयोगका लागि अनुरोध गर्ने गर्छ । त्यसका लागि प्रस्ताव पनि तयार गर्छ तर पहिलोपटक नेपाल आउन लागेका फिफा अध्यक्ष सेप ब्लाटरसामु सहयोगका लागि कुनै अनुरोध गर्ने तयारी छैन, एन्फासँग । ‘सुरुमा ब्लाटरलाई हामी नेपाली फुटबल चिनाउन चाहन्छांै ।’ एएफसी उपाध्यक्षसमेत रहेका  थापाले भने, ‘त्यसैले यसपटक प्रस्ताव अघि सार्ने हामीसँग कुनै योजना छैन ।’ ८ मार्चमा नेपाल आइपुग्ने ब्लाटर एक दिनको नेपाल बसाइपछि ९ मार्चमा फर्कनेछन् । उनले ९ मार्चमा नेपाललाई प्राप्त ‘गोल फुटबल प्रोजेक्ट’ को उद्घाटन गर्नेछन् । त्यस्तै, ८ मार्च नारीदिवसको अवसरमा सातदोबाटोस्थित एन्फा परिसरमा हुने सडक बालबालिकाको फुटबल खेल पनि उनले अवलोकन गर्नेछन् । त्यसपछि राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भटराईसँग उनको भेट हुनेछ । त्यसपछि खेल पत्रकारसँगको भेटघाटपछि दिउँसो उनी फर्कनेछन् ।

प्रतिक्रिया