खाद्य सङ्कटको चपेटामा बस्टीगाउ

कैलाली, २३ फागुन । सडक निर्माण क्रममा भत्किएको सिँचाइ–कुलो मर्मत नहुँदा बझाङ धमेनाको बस्टीगाउँका एक सयभन्दा बढी परिवार खाद्यान्न सङ्कटको चपेटामा परेका छन् ।
कुलो भत्काएर सडक निर्माण गरेपछि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) परियोजनाले चार वर्षसम्म पनि कुलो मर्मत नगरिदिँदा बस्टीगाउँमा खाद्यान्न सङ्कट चर्केको हो ।
परियोजनाले भत्किएको कुलो नबनाएका कारण आफूहरू ठूलो समस्यामा परेको पीडित गाउँलेले बताए ।
जिल्ला विकास समितिअन्तर्गत सञ्चालन भएको ड्रिलिप परियोजनाले ०६४ सालमा सडक खन्दा कुलो पनि भत्केको थियो । परापूर्वकालदेखि सिँचाइमा प्रयोग हँुदै आएको यो कुलोको करिब पाँच सय मिटर सडकखण्डमा परेर भत्किएपछि कुलोमा पानी आउन बन्द भएको हो ।
स्थानीय खितडी खोलाबाट पानी ल्याइएको यो कुलोले बस्टीवासीको दुई सय ५० रोपनी खेत सिँचाइ हुने गरेको थियो । सिँचाइको सुविधा हुँदा धान, गहुँ, तरकारी बालीलाई सिँचाइ गर्न पाइन्थ्यो,’ स्थानीय कृषक कलक रोकायाले भने, ‘कुलो भत्किाएपछि सिँचाइ अभावमा बर्र्से तथा हिउँदे बाली नै लगाउन छोडेका छौँ ।’
रोकायाका अनुसार विगत चार वर्षयता बस्टीगाउँका खेतबारी बाँझै हुनाले पूरै गाउँमा खाद्यान्न अभाव हुने गरेको छ । एक किलोमिटर लम्बाइ रहेको यो कुलो ०६० सालमा केयर नेपाल नामक संस्थाले पक्की बनाइदिएको थियो ।
कुलो भत्किएपछि सिँचाइ खेत, पाखो खेतमा परिणत भएको किसानहरू बताउँछन् । स्थानीयनवासीका अनुसार सर्वे हुनेबेला कुलोलाई असर नपर्ने गरी सडक बनाउने भनिए पनि सडकको काम सुरु भएपछि कुलोमा पनि असर परेको थियो । अवरुद्ध कुलो हालसम्म नबनेको पीडित बम रोकाया बताउँछन् । उनले पटकपटक परियोजनाको चैनपुरस्थित कार्यालय र अरू सरोकारवाला निकायमा कुलो मर्मत गरिदिन आग्रह गर्दा ‘भइहाल्छ’ भन्ने आश्वासनबाहेक अन्य केही उपलब्धि नभएको बताए ।
ड्रिलिप परियोजनाको लापरबाहीका कारण बस्टीगाउँमा खाद्य सङ्कट देखिएको गाविस सचिव रङ्गलाल सार्की बताउँछन् । सार्कीले कुलोमा पानी आउन छोडेपछि आफ्नो खेतबारीको उब्जनीले खान पुग्नेले पनि आजकाल बाह्रै महिना बेसाएर खाने गरेको बताए ।
ड्रिलिप परियोजनाका प्रमुख गोरखराज जोशीले सडक निर्माणको जिम्मा लिएको ठेकदारको ढिलासुस्तीले कुलो मर्मतमा ढिला हुन गएको बताए ।

प्रतिक्रिया