महिला आन्दोलन दिशाविहीन भएको छ

अष्टलक्ष्मी शाक्य, पोलिटव्युरो सदस्य एमाले

सानोमा के बनौला भन्ने थियो ?
मलाई स्वास्थ्यक्षेत्र मन पथ्र्यो । नर्स हुन मन थियो तर सकिनँ ।
कहिलेदेखि सुरु गर्नुभयो राजनीति ?
विसं ०२७ २८ देखि हो । एसएलसी सकेर बसेकी थिएँ । खाली समयमा चिनियाँ भाषा पढ्न वसन्तपुरमा रहेको चिनियाँ लाइब्रेरी गएँ । त्यो क्रममा चीनका कम्युनिस्ट पार्टीतिर आकर्षण बढ्यो । चीनमा महिला–पुरुष समान छन् रे, धनी–गरिबको विभेद छैन रे भन्ने कुरा सुनियो । त्यसले प्रभाव पारेछ ।
केले प्रेरित गरायो राजनीतिमा लाग्न ?
त्यतिबेलाको सामाजिक अवस्था । सम्पन्न परिवार भए पनि हाम्रामा छोराछोरीबीच विभेद त थियो नै । एसएलसी पास गरेपछि मेरो बिहे गरिदिने भनेर सुपारीसमेत लिइसकेका रहेछन्, मलाई भन्दै नभनी । साथीहरूले सुनाए– तेरो त बिहे रे ! मैले बिहे गर्दिनँ भनेर ठूलै सङ्घर्ष गरेँ । सुपारी फिर्ता त भयो तर एक महिनासम्म बाहिरै निस्कन दिएनन्, खान पनि दिएनन् । मैले घर छाड्ने निर्णय गरेँ । यिनै कुराहरूले राजनीतिमा लाग्न प्रेरित गरेको हो ।
पार्टीमा बसेर काम गर्न कति कठिन थियो ?
त्यतिबेला पुरुषलाई त गाह्रो थियो भने महिलाको त कुरै नगरौँ । म कम्युनिस्ट पार्टीमा लागेको घरमा कसैलाई थाहा थिएन, किताब पनि लुकाएर पढ्थेँ । सबै सुतेपछि झ्यालबाट हाम फालेर बाहिर निस्कन्थेँ । सिरकलाई मान्छेजस्तै बनाएर जान्थेँ । महेशमान श्रेष्ठले धेरै सहयोग गर्नुभयो, त्यतिबेला, वर्ग र विचारका कुरा सिकाउनुभयो । आफूलाई सहयोग गर्ने, मन मिल्ने साथी बनाउनुपर्छ भन्नुभयो, त्यसैले आफूसँग विचार मिल्ने कान्छी बहिनीलाई साथी बनाएकी थिएँ ।
काम गर्ने शैली कस्तो हुन्थ्यो त्यतिबेला ?
चिनियाँ भाषा पढ्ने ६० जना मिलेर अध्ययन समूह बनाएका थियौँ, हाम्रा नेता भने कोही थिएनन् । माओको रेडबुक सधैँ सँगै राख्थ्यौँ र हरेक शुक्रबार गाउँतिर जान्थ्यौँ । प्रचार गरेर शनिबार फर्कन्थ्यौँ । लक्ष्य थाहा थियो तर जाने स्पष्ट बाटो थिएन । प्रायः साथीकहाँ गएर आएको बताउँथेँ घरमा । म आफू स्कुलमा पढाउने भएकाले त्यो बहाना पनि देखाउँथ्यौँ । कहिलेकाहीँचाहिँ भन्ने कुरै हुँदैनथ्यो, आमाको पिटाइ खुब खाइन्थ्यो ।
पति–पत्नी नै राजनीतिमा सक्रिय हुदा अप्ठ्यारा पनि आइपरे कि ?
धेरै असजिलो भयो । भूमिगत थियौँ, श्रीमान्–श्रीमती भन्ने कमैलाई थाहा थियो । चिनाउने अवस्था पनि थिएन । बच्चाहरू जन्मिए । आफूसँग राखेर सङ्घर्ष गर्न सम्भव थिएन । कहिले कता, कहिले कता भए । कतिपय ठाउँमा सँगै लिएर गयो, यसको बाउ को हो भनेर सोध्थे । एकपटक पाँगामा भूमिगत भएर बस्दा मलाई देखेर त्यो घरकी महिलालाई ‘तेरो श्रीमान्ले सौता हालेछ’ नि भनिदिएछन् छिमेकीले । खैलाबैला भयो । आरोप–अपमान निकै सह्यौँ । छोराछोरीले उहाँ (पति) लाई मोटे काका भन्थे अनि मलाई चाहिँ दिदी भन्थे । बहुदल आएपछि मात्रै हामी चार जनाको परिवार सँगसँगै भएका हाँै । सुरुसुरुमा उनीहरूले हामीलाई बाबुआमा भन्नै अस्वीकार गरे । थाहा होस् पनि कसरी, सँगै कहिल्यै बसेका भए पो !
अहिले कस्तो व्यवहार गर्छन् नि ?
चाहिने बेलामा बाबुआमाको माया पाएनन् उनीहरूले । अपमान र समस्याबीच नै हुर्किए । यस्तो अवस्थाबाट आएका छोराछोरी एकान्तप्रेमी हुँदा रहेछन् । तैपनि, उनीहरूलाई आफ्ना बाबुआमाले इमानदारीपूर्वक राजनीति गरेका छन् भन्नेचाहिँ छ । आमाबुबा दुवैले छोराछोरी छोड्नु हुँदो रहेनछ भन्ने लाग्छ अहिले आएर ।
राजनीतिक रूपमा महिलाको सहभागिता र जिम्मेवारी कत्तिको बढेको छ ?
तुलनात्मक रूपमा हिजो महिलाको सहभागिता थोरै थियो अहिले बढ्दै गएको छ । हिजो थोरै महिला थिए, हामी थियौँ । बलिदानी दिएकै हौँ, बालबच्चा छाडेर हिँडेकै हौँ । आँट गरेर जेलनेल खाएकै हौँ । यसको अर्थ हिजो पनि महिला थिएनन् भन्ने होइन । ६२  ६३ को आन्दोलनपछि महिलाको सङ्ख्यात्मक सहभागिता बढेको छ । तर, सङ्ख्याभन्दा गुणात्मक सहभागितामा ध्यान दिनुपर्छ । महिलालाई महत्वपूर्ण जिम्मेवारी र अवसर दिनुपर्छ, निर्णय मात्र होइन कार्यान्वयन नै हुनुपर्छ । आज पार्टीमा पनि महिलाका विषयमा छलफल हुन थालेको छ । ६२ मा बसेको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकले आठवटा एजेन्डा महिलाको सवालमा पारित गरेको छ ।
तपाईंलाई महिलाका सबालमा थप के गर्नुपर्ला जस्तो लाग्छ ?
मलाई मात्र होइन, सिङ्गो पार्टीलाई लाग्नुपर्छ त्यो कुरा । पार्टीमा महिलाको सबाललाई गम्भीर रूपले हेर्न अनेमसङ्घ बढी क्रियाशील हुनुपर्छ । पुरानालाई सम्मान गर्दै उनीहरूको अनुभवबाट सिकेर नयाँलाई स्थापित गर्नुपर्छ ।
नेपाली महिलाहरू एकता नभएका कारण पछि परेको चर्चा हुन्छ नि ?
पितृसत्तात्मक र सामन्तवादी सोच हाबी भएकै छ अझै पनि । हुन त पुरुषलाई गाली गरिने शब्द हुन् यी । तर, महिलामै पनि कम छैन यो सोचाइ । यथार्थ यो पनि हो कि ०४६ को परिवर्तनपछि राजनीतिक कामजति पुरुषका भागमा र सामाजिक कामजति महिलाका भागमा पर्ने गरेका छन् । यो प्रवृत्तिले राजनीतिक अवसरबाट महिलालाई विस्थापित गर्ने जोखिम निम्तिन सक्छ ।
महिला आन्दोलनले ३३ प्रतिशत सहभागिताको रटान त लगायो तर गुणस्तरमा ध्यान दिइएन भनिन्छ नि ?
हो, महिला आन्दोलन यतिबेला दिशाविहीन भएकै छ । केही कमजोरी पक्कै छन् । तर, विभिन्न रूपमा महिलामाथि हिंसा भएको छ, अन्याय भएको छ । यसलाई हटाउन र गुणात्मकता बढाउन अनेमसङ्घले विशेष ध्यान दिनुपर्छ । स्थानीय कमिटीले पनि योजनासहित काम गर्नुपर्छ । महिलासम्बन्धी कार्यक्रमको प्याकेज बनाउनुपर्छ ।
प्रस्तुति, चमिना

प्रतिक्रिया