ओमदेवीको भान्सामा पतिको सहयोग

पेसाले सहकारीकर्मी हुन् ओमदेवी मल्ल अनि गृहिणी पनि । उनलाई सफा र चिटिक्क भान्सा मन पर्छ । बिहानको नित्यकर्म र पूजापाठपछि उनको प्रवेश सिधै भान्सामै हुन्छ । सकेसम्म खाना आफैँ बनाउन मन गर्छिन् । भान्सा चिटिक्क सजाएकी छन्, देख्दै केही खाऊँखाऊँजस्तो । ‘मासु साह्रै मीठो पकाउँछु रे म, छोरोछोरी र श्रीमान् तारिफ गर्छन्,’ उनले सुनाइन् । भ्याएसम्म भान्सालाई सजाउने तरिकाबारे ध्यान दिइरहन्छिन् उनी । स्टिलभन्दा काँस र सेरामिक्सका भाँडा उनको रोजाइमा पर्छन् ।
‘खानामा सचेत छु,’ उनले भनिन्, ‘सकेसम्म नौलानौला खाना परिवारको रुचिमा पर्छन् ।’ कहिलेकाहीँ स्वाद फेर्न परिवारसहित रेस्टुराँ पनि पुग्छन् उनीहरू । रेस्टुराँमा देखेका खाना घरमा पनि बनाएर खुवाउँछिन्, यसो गर्न पाउँदा रमाइलो लाग्छ रे उनलाई । ब्रेकफास्टमा प्रायः ब्राउन ब्रेड र चिया तयार पार्छिन् । भान्सामा अरूले सहयोग गरेको मन पराउँछिन् । छोरा र श्रीमान्ले भान्साका काममा सघाउँदा रमाइलो मानेर हेर्छिन् । भान्सामा साधारण पोसाकमै रहने उनले अनुभव सुनाइन्, ‘पकाउनु ठूलो कुरो होइन, पकाउनुअगाडिको तयारी पो महत्व हुन्छ त ।’
कहिलेकाहीँ बाहिरबाट थाकेर आउँछिन् उनी, खाना पकाउने जाँगर नरहन सक्छ । त्यस्तोबेला पतिले पकाएको खान पाउँदा छुट्टै आनन्द अनुभूति गर्दिरहिछन् उनी । पति मटन निकै मीठो पकाउँछन् रे, जुन ओमदेवीलाई साह्रै मन पर्छ । यस्तो प्रायः भइरहन्छ पनि । पति बाहिरको भन्दा घरकै खाना बढी मन पराउँछन्, त्यसैले पत्नीले नभ्याएका बेला आफैँ भान्सामा डाडुपन्यु चलाइरहेका हुन्छन् । वैवाहिक जीवनमा खानाका विषयमा कहिल्यै ठाकठुक परेको ओमदेवीलाई थाहा छैन । भन्छिन्, ‘उहाँ त जे दिए पनि चुपचाप खानुहुन्छ, कुखुराको मासुबाहेक उहाँको खासै रोजाइ छैन न त कुनै गुनासो नै ।’ छोरालाई पनि सबै कुरा पकाउन आउँदो रहेछ, पास्ता झन् मीठो बनाउँछन् रे ! ओमदेवीको भान्सामा साग कहिल्यै छुट्दैन ।
प्रायः बाहिर गइरहनुपर्छ उनले, त्यतिबेला घरको खाना मिस गर्छिन् रे । अमिलो गुन्दु्रकमा भटमास राखेको झोल अनि घरको अचार खुब सम्झिँदी रहिछन् । ‘खासमा श्रीमान्भन्दा पनि म बढी सौखिन छु खानाको,’ हाँस्दै भनिन्, ‘घरमा पनि नयाँ–नयाँ डिस बनाएर खुवाउँछु, खाइरहेकै खानालाई नयाँ–नयाँ तरिकाबाट बनाउन मन पर्छ, खानेले पनि नयाँपन पाओस् न !’ छोराछोरी र श्रीमान्को रोजाइमध्ये कुनचाहिँलाई प्राथमिकता दिन्छिन् त उनी । छेउमै रहेका श्रीमान्तिर हेर्दै हाँस्दै भनिन्, ‘के गर्नु ढाँट्न भएन, छोराछोरी भएपछि त उनीहरूकै रोजाइतिर मन ढल्कँदो रहेछ, पहिला–पहिलाचाहिँ उहाँकै रोजाइ हेरिन्थ्यो ।’ उनले ढाँटिनन्, श्रीमान् मुस्कुराए ।
खुबै मन पर्छ उनलाई कर्कलोको तरकारी तर त्योचाहिँ बनाउन आउँदैन । त्यसलाई उनी आफ्नो किचेन कमजोरी बताउँछिन् । आमाले पकाएको कर्कलोको स्वाद उनको जिब्रोमा झुन्डिरहेकै छ । पति र छोराले भान्सामा सघाउँछन् तर सामान अलपत्र पारिदिने उनीहरूको बानी ओमदेवीलाई मन पर्दैन, ‘के गर्नु, काम त गर्छन् तर सामान जहाँ पायो त्यहीँ छाडिदिन्छन्, फेरि सफा पनि कहाँ राम्ररी गर्छन् र, चित्तै बुझ्दैन भनेको !’

प्रतिक्रिया