होलीमा रङको जोखिम

होली रङहरूको पर्वका रूपमा चिनिन्छ । वर्ष दिनमा आउने यो पर्वमा रङ तथा पानीको बढी प्रयोग हुन्छ । तर, रमाइलोमा भुलेर अलिकति ध्यान पु¥याइएन भने त्यही रङ र पानीले तपार्इंलाई विभिन्न स्वास्थ्य समस्यामा पार्न सक्छन् ।
चिकित्सकहरूका अनुसार रङको उत्सवका रूपमा चिनिने होलीमा ध्यान नदिँदा मानिसहरूलाई छाला, आँखा, कान तथा श्वासप्रश्वासको समस्याले सताउने गर्छ । रङ, अबिर, पिचकारी, लोलाको असुरक्षित प्रयोगका कारण होली सकिएलगत्तै अस्पतालमा छालाको एलर्जी, घाउ–खटिरा, आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, सुन्ने क्षमता गुमाउने तथा दमजस्ता समस्या लिएर आउनेहरू प्रशस्तै हुने वीर अस्पतालका वरिष्ठ फेमिली फिजिसियन डा. भरत थापाले बताए । उनका अनुसार बजारमा पाइने विभिन्न केमिकलयुक्त रङले छालामा सोझै एलर्जी तथा घाउ, खटिरा आउने समस्या हुन्छ भने रसायनयुक्त रङ शरीरमा प्रवेश गरे त्यो श्वासनली, मुटु वा मिर्गाैलामा गएर टाँसिन्छ र तिनीहरूमा समस्या उत्पन्न गराउँछ ।
‘रसायनयुक्त रङ तथा फोहोर पानी अनुहार, फोक्सो, छाला, आँखा, नाक, कान, घाँटी, कपालका लागि हानिकारक हुन्छन्’, डा. थापाले भने, ‘यस्तै, लोला तथा पानी भरिएका प्लास्टिकका प्याकेट प्रहारले आँखामा क्षति हुने वा दृष्टि गुम्ने, कानको पर्दा च्यातिने वा सङ्क्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्नेजस्ता समस्या देखिन सक्छन् ।’ उनले होलीमा प्रयोग भएका रङ–अबिरलाई हात तथा नङबाट नहटाएमा कुनै खानेकुरा खाँदा वा पिउँदा रङको केही अंश पनि खाइने भएकाले श्वासप्रश्वास, मुटु, कलेजो तथा पेटका समस्या देखिने बताए । उनका अनुसार रसायनयुक्त रङ खानु विष सेवनभन्दा कम घातक हुँदैन । रङमा भएको धुलो सासबाट शरीरमा पस्दा दमका रोगीका लागि झनै घातक हुने बताइन्छ ।
विशेषज्ञहरूका अनुसार बजारमा पाइने विभिन्न थरीका रङ तथा अबिरमा मानव स्वास्थ्यमा असर गर्ने हानिकारक रसायनको उपयोग गरिँदै आएको छ । कालो रङमा ल्याड अक्साइड, हरियो रङमा कपर सल्फेट, हलुका बैजनी रङमा क्रोमियम आयोडाइड, सिल्भर रङमा अल्मुनियम ब्रोमाइड र रातो रङमा मर्करी सल्फेटको उपयोग भइरहेको बताइन्छ । वीर अस्पतालकै चर्मरोग विशेषज्ञ डा. अनुपमा कार्कीका अनुसार कृत्रिम वा रासायनिक रङबाट अधिकांश मानिसलाई एलर्जी हुन्छ । रासायनिक रङ लगाउँदा छालामा घर्षण हुने हुँदा जलनलगायत समस्या देखिन्छ । ‘यदि शरीरमा कुनै घाउ छ र त्यसमा रङ प¥यो भने जटिल समस्या निम्तिन सक्छ’, डा.कार्कीले भनिन् ।
उनका अनुसार रङ तथा अस्वस्थ पानीबाट हुने समस्याबाट जोगिन होलीमा हात–खुट्टामा सनस्क्रिन एवं अनुहारमा मोस्चराइजर क्रिम लगाउनु पर्छ । साथै हात तथा खुट्टाको नङमा गाढा रङको नेलपोलिस लगाउने, होली खेल्दा पूरा बाहुला भएको कपडा लागाउनु उपयुक्त मानिन्छ । उनले रङबाट जोगिन हल्का तेल लगाएर मसाज गरी कपाललाई बाँध्न र रङलाई मुख, नाक, आँखा, कानभित्र पस्नबाट जोगाउन मास्क प्रयोग गर्नसमेत सुझाएकी छ । होलीको समयमा रासायिनक रङमात्र नभई अस्वस्थ पानी भरिएका लोलाले आँखाको ज्योति गुम्न सक्ने समस्यासमेत देखिएको चिकित्सकहरूको भनाइ छ । यस्तो समस्या पनि अस्पतालमा थुप्रै आउने गरेका छन् । लोला लागेर कानको जालीसमेत फुट्न सक्ने नाक, कान, घाँटी रोग विशेषज्ञ डा. यज्ञप्रसाद भण्डारी बताउँछन् । उनका अनुसार लोलाले बढी जोडले लाग्दा कानको नसा पनि नष्ट हुने समस्या पाइएको छ ।

प्रतिक्रिया