एमालेलाई पहिलो पार्टी बनाउने प्रतिज्ञा

काठमाडौँ, २१ फागुन । एमाले नेताहरूले आन्तरिक एकता सुदृढ भएको सन्देश दिँदै आगामी चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने प्रतिज्ञा गरेका छन् । माओवादीको उग्रवामपन्थी र कांग्रेसको यथास्थितिवादी बाटोबाट मुलुक अघि बढ्न नसक्ने भन्दै उनीहरूले लोकतन्त्र र सामाजिक, आर्थिक रूपान्तरणको झन्डा एमालेले मात्र बोक्न सक्ने दाबी गरे ।
राजधानीको खुलामञ्चमा पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्को प्रथम बैठक उद्घाटन समारोहमा एमाले शीर्षस्थ नेताहरू लामो समयपछि एकै लवजमा प्रस्तुत भएका थिए । एमालेलाई पेन्डुलमका रूपमा चित्रण गरिएकोप्रति कडा जवाफ दिँदै उनीहरू विशेषगरी माओवादीप्रति आक्रामक रूपमा प्रस्तुत भए ।
‘संविधानसभाको चुनावमा एमाले तेस्रो पार्टी भए पनि अब एमाले जनताको मनमा पहिलो पार्टी भइसकेको छ,’
अध्यक्ष झलनाथ खनालले भने, ‘पार्टीभित्रका अस्पष्टता समाप्त गरेर हामी एकताबद्ध भएर आएका छौँ, विराट् जनताको समर्थनमा एमाले पहिलो स्थानमा छ ।’
वरिष्ठ नेता माधवकुमार नेपालले पनि एमालेको विजययात्रा सुरु भइसकेको दाबी गरे । ‘एमालेको विजययात्रा आजैबाट सुरु भइसकेको छ, यो विजययात्रा आगामी चुनावसम्म लगातार रूपमा अगाडि बढ्नेछ,’ नेपालले भने, ‘एउटा चुनावमा जितेबापत माओवादीले जुन दम्भ गर्दै आएको छ त्यसलाई चकनाचुर गर्नुपर्ने आवश्यकता छ ।’
अर्का नेता केपी शर्मा ओलीले उग्रवामपन्थी शक्तिले संविधान निर्माणको मुख्य जिम्मेवारी पाएकाले चार वर्षमा पनि शान्तिप्रक्रिया र संविधान निर्माण हुन नसकेको दाबी गरे । ‘जसले नीति नै विद्रोह र सत्ताकब्जाको लिएको छ उसको नेतृत्वमा शान्तिप्रक्रिया र संविधान निर्माण कसरी टुङ्गिन्छ ?’ ओलीले प्रश्न गरे, ‘बाँदरलाई खेताला लगाएर मकैको कुन्युँ ठडिँदैन ।’
भगवान् विष्णु निदाएका बेला विष्णुकै कानेगुजीबाट निस्किएका मधु र कैटभले वितण्डा मच्चाएजस्तै माओवादीले एमाले निदाएको फाइदा उठाएको उनले बताए । ‘अब एमाले ब्युँझेको छ, कानेगुजीबाट निस्केर वितण्डा मच्चाउनेहरूले एमालेको विजयलाई रोक्न सक्दैन,’ ओलीले भने ।
उपाध्यक्ष वामदेव गौतमले दुईपटक सत्ताको नेतृत्व गरेर पनि माओवादीले हिंसा र विद्रोहको बाटो नछाडेको आरोप लगाए । ‘चार वर्ष महसुस ग¥यौँ, सरकारको नेतृत्व गरेको माओवादी विद्रोह र सत्ताकब्जाको मात्र कुरा गर्छ,’ गौतमले भने, नेपालको भाग्य निर्माण र परिवर्तनको नेतृत्व माओवादीलाई दिन सकिन्न, अब एकताबद्ध एमालेले मुलुकको परिवर्तनको नेतृत्व गर्छ ।’ उनले १४ जेठमा संविधान बने आगामी चुनावबाट एमालेले मुलुकको जिम्मेवारी लिने दाबी गर्दै संविधान नबने पनि मुलुकको नेतृत्व लिन एमाले तयार रहनुपर्ने बताए ।
एमालेलाई माओवादी र कांग्रेसको राजनीतिक अडानबीच अल्झिएको शक्तिका रूपमा चित्रण नगर्न नेताहरूले आग्रह गरेका थिए । ‘एकपटक चुनाव जित्दा दिग्विजय ठानेर अधिनायकवादी बाटो लिने र सरकारमा गएपछि जनविरोधी काम गर्ने माओवादी जनजीविकाको मसिहा हुन सक्दैन,’ सभामा अध्यक्ष खनालले भने, ‘श्रमजीवीका अधिकार सुनिश्चित नगर्ने र होहल्लालाई मात्र कांग्रेसले लोकतन्त्र भन्छ भने कांग्रेसलाई लोकतन्त्रको मसिहा मान्न सकिँदैन ।’
खनालले एमाले सामाजिक, आर्थिक रूपान्तरण र श्रमिक जनताको अधिकार सुनिश्चित भएको लोकतन्त्रका पक्षमा रहेको दाबी गरे । ‘श्रमिक जनताको अधिकार सुनिश्चित भएको लोकतन्त्रको झन्डा एमालेले बोक्छ, त्यसैले लोकतन्त्र र जनजीविकाको मसिहा एमाले हो,’ खनालले भने, ‘कांग्रेसलाई यसै मञ्चबाट सोध्न चाहन्छु तपार्इंहरूको लोकतन्त्र हल्ला मात्र हो ? माओवादीको जनवाद अधिनायकवाद मात्र हो ?’
खनालले मधेसी जनताका नाममा राजनीति गरिरहेका मधेसी दलहरूले सरकारमा जान र भ्रष्टाचार गर्न मात्र मधेसी जनताको नाम लिएको बताए । ‘कालापानी मधेस हो कि होइन ? सुस्ता मधेसमा पर्छ कि पर्दैन ? त्यहाँका जनताले दुःख पाउँदा केही नबोल्ने मधेसवादी भनिएकाहरू सत्तामा बस्न मात्र मधेसको नाम लिने गर्छन्,’ खनालले भने, ‘यो नौटङ्की कहलेसम्म टिक्छ ?’
उपाध्यक्ष अशोक राईले माओवादीको हिंसाको नीति र अराजकता शान्तिप्रक्रिया र संविधान निर्माणको मुख्य बाधक रहेको दाबी गरे । महासचिव ईश्वर पोखरेलले एमालेले हिंसा छाडेको माओवादी र यथास्थितिवाद त्यागेर सामाजिक, आर्थिक रूपान्तरणमा सहमत भएको कांग्रेससँग मात्र हात मिलाउने बताए । ‘हिंसा नछाडेको माओवादी र यथास्थितिवादको धङ्धङीबाट मुक्त नभएको कांग्रेससँग एमालेले किमार्थ हात मिलाउँदैन,’ पोखरेलले भने, ‘माओवादलाई हिंसाको राजनीतिबाट अलग गर्न र कांग्रेसलाई यथास्थितिबाट मुक्त गर्न मात्र एमालेले हात बढाएको हो ।’
यसअघि माओवादीलाई हेर्ने मामिलामा विभाजित हुँदै आएका एमाले नेताहरू एकै स्वरमा माओवादीप्रति आक्रामक देखिएका थिए । सबै वक्ताले भूमिहीन, सुकुम्बासी र आफ्नै लडाकुलाई झुटा भ्रम दिएर माओवादीले शक्ति आर्जन गरेको आरोप लगाए । ‘सुकुम्बासीलाई जहाँ मन लाग्छ घर बनाऊ भने, अहिले बस्ने बासको बन्दोबस्त नगरी उनीहरूमाथि दादागिरी गरिरहेका छन्,’ ओलीले भने, ‘जनयुद्धको नाममा खाली खुट्टा जङ्गल छिरेका माओवादी नेताहरू टावर र महलका मालिक बनेका छन्, पजेरोका ताँतीले घेरिएका छन्, लडाकुहरूका चेक खोसेर रुवाएका छन् ।’
सभाअघि राजधानीका विभिन्न भागबाट हजारौँको जुलुस खुलामञ्च आएको थियो । यसअघि केन्द्रीय कमिटीबाट पारित भएको पार्टीको आन्तरिक एकतासम्बन्धी प्रस्ताव सोमबार सुरु हुने परिषद् बैठकको बन्द सत्रमा प्रस्तुत हुनेछ ।

सभामा जे देखियो…

राजेश राई

नेपालपत्नीलाई कुर्सीबाट उठाइयो
मञ्चअघि डोरीको घेराभित्र पत्रकारका लागि खुला स्थान थियो । ठीक त्यसपछि पत्रकार र अशक्तका लागि प्लास्टिकका कुर्सी राखिएका थिए । औपचारिक कार्यक्रम सुरु हुनुअघिसम्म अधिकांश कुर्सी खाली थिए । त्यही बीचमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालकी श्रीमती गायत्री अर्का एकजना साथीसहित खाली कुर्सीमा आएर बसिन् । तर, व्यवस्थापनमा खटिएका एक स्वयंसेवकले तत्कालै आएर सोधे, ‘तपार्इंहरू को हो, अशक्त कि पत्रकार ?’ ‘दुवै होइन’ नेपालपत्नीको उत्तर थियो, ‘एमाले प्रतिनिधि परिषद् सदस्य ।’ ती स्वयंसेवकले त्यो कुर्सी नेता–कार्यकर्ताका लागि नभई पत्रकार र अशक्तका लागि मात्रै हो भनेर हटिदिन आग्रह गरे । केही समय त मजेत्रोले ढाकिएर नसुनेजस्तो गरिरहिन् गायत्रीले । तर, स्वयंसेवकले चोरआँला देखाउँदै अनुशासनको पाठ पढाउन थालेपछि बाध्य भएर उठिन् र पछाडि गइन् । उनले आफूलाई ‘म माधवकुमार नेपालकी पत्नी भनेर चिनाइनन् ।

सञ्चालकले सहिदको नाम भुले
कार्यक्रमका सञ्चालक थिए, एमाले उपत्यका विशेष समन्वय समितिका इन्चार्ज राजेन्द्र श्रेष्ठ । मञ्चमा उक्लिएलगत्तै उनले ०२९ फागुन २१ मा झापाको सुखानीमा भएको घटना सम्झिए । उनले सुखानी दिवसको अवसरमा सहिदहरूको नामै लिएर श्रद्धाञ्जली त व्यक्त गरे तर सुरुमै रामनाथ दाहाल भन्नुपर्नेमा सहिद क. रामनाथ ढकाल भनेपछि पत्रकारबीच हाँसो गुन्जियो ।

वामदेव गौतम अमर रहोस्….
सधैँ माओवादीप्रति नरम दृष्टिकोण राख्ने एमाले नेता भनेर चिनिएका उपाध्यक्ष गौतम माओवादीविरुद्ध सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भए । उनकै भाषणमा सबैभन्दा बढी ताली पनि बज्यो । गौतमको भाषणबाट उत्तेजित भएर मञ्चको दायाँतिर रहेका कार्यकर्ताले भने चर्को–चर्को स्वरमा नारा लगाए, ‘वामदेव गौतम अमर रहोस्, वामदेव गौतम जिन्दावाद ।’

चर्पीमा साम्यवाद….
खुलामञ्चमा कार्यकर्ताका लागि खानेपानीको व्यवस्था थिएन । पानी पाउन जति गाह्रो थियो, त्योभन्दा बढी चर्पी प्रयोग गर्न ‘अप्ठ्यारो’ । विद्युत् प्राधिकरणभन्दा अघिको चर्पीमा लामैै लाइन थियो । महिला र पुरुषका लागि छुट्टाछुट्टै व्यवस्था थियो । तर, भीडभाडमा झुक्किएर एक हुल पूर्वतिरका नेता महिलाले प्रयोग गर्ने चर्पीमा छिरिहाले । चर्पी प्रयोग गरिरहेका महिलाले आत्तिएर भने ‘होइन महिलाले प्रयोग गर्नेतिर किन हो ?’ ‘साम्यवादका लागि लड्नेहरूले यस्तो भन्नुहँुदैन’ महिलाको चर्पीमा छिरेका ती पूर्वेली नेता भन्दै थिए, ‘यही त हो साम्यवाद ।’

नेताको तस्बिरमोह
मञ्चअघि फोटो पत्रकारको भीड थियो । तर, तस्बिर खिच्न फोटोपत्रकारजत्तिकै सक्रिय थिए मञ्चमा रहेका नेताहरू पनि । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच तस्बिर खिच्ने प्रतिस्पर्धा नै चलेजस्तो देखिन्थ्यो । नेपालले डिजिटल क्यामेराले खिच्दै थिए भने गौतमले आइफोनले ।

माओवादी निसाना
बोल्नेजति सबै नेता माओवादीविरुद्ध खनिए । मानौँ कि कार्यक्रम माओवादीको आचोलना गर्नकै लागि हो । कार्यक्रमका सभापति एवं सचिव युवराज ज्ञवालीले सुरु गरेको गाली अध्यक्ष खनालसम्म आइपुग्दा ‘उत्कर्ष’मै पुगेको थियो । सबै नेताको तारो सुरुमै माओवादी भयो, त्यसपछि मात्रै कांग्रेस । आचोलना गर्ने मामलामा अध्यक्ष खनाल अलि फरक हुन खोजे । उनले पनि माओवादीमाथि आक्रोस त पोखे तर कांग्रेसभन्दा पछि । कांग्रेसको आलोचना गरेपछि मात्रै उनले माओवादीको आलोचना गरे ।
बेलुनमा विश्वास
कार्यक्रमको उद्घाटन अध्यक्ष खनालले बेलुन उडाएर गरे । उद्घाटनपछि सञ्चालकले कार्यक्रम अघि बढाए । तर, नेताको ध्यान भने खनालले उडाएको बेलुनतिर थियो । आकाशमा देखुन्जेल अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल, नेता ओली, उपाध्यक्ष गौतमले आँखा च्याती–च्याती हेरिरहेका थिए । अध्यक्ष खनाले भाषण गर्दा पनि बेलुनकै चर्चा गरे । ‘बेलुनले पनि सङ्केत गरेको छ, एमालेले शिखर चुम्छ’ खनाल भन्दै थिए ।

अभिवादनको ‘भेद’
कार्यक्रममा सञ्चालक श्रेष्ठले नेतालाई पालैपालो आसनग्रहण गराए । तर, आसनग्रहण गर्दा अभिवादन गर्ने नेताको शैलीचाहिँ फरक–फरक थियो । प्रमुख अतिथि अध्यक्ष झलनाथ खनालले नमस्कार गरेर दुवै हात हल्लाए । त्यसपछि दुवै मुठी कसेर अभिवादन गरे । त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले दुवै हात उचालेर हात हल्लाए र शैलीमा दाहिने मुठी कसे अनि अभिवादन गरे । उपाध्यक्ष गौतमले पनि दाहिने मुठी कसेर अभिवादन गरे । अर्का उपाध्यक्ष अशोक राई, नेता भरतमोहन अधिकारी र अमृतकुमार बोहराले पनि नमस्कार गरेर दाहिने मुठी कसे । तर, नेता केपी शर्मा ओली, महासचिव सचिवद्वय शङ्कर पोखरेल र विष्णु पौडेलले भने नमस्कार मात्रै गरे ।

प्रतिक्रिया