आज ऐतिहासिक दिन

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक काठमाडौंमा आयोजना भइरहेको छ । एमाले गौरवपूर्ण इतिहास बोकेको र बलिदानी गाथाहरूले भरिएको पार्टी हो । ऐतिहासिक रूपमा पनि एमाले नयाँ पुराना, त्यागी र जुझारु कार्यकर्ताले भरिएको पार्टी हो । मुलुकको राजनीतिक परिवर्तनका सवालमा यसले इतिहासका विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान दिएको छ । देशव्यापी जनसङ्गठनसँगै अन्तर्राष्ट्रिय प्रभाव र प्रतिष्ठा बनाएको एमालेले सत्ता र प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ ।
समाज परिवर्तनका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई सर्वाधिक रूपमा सही र वैज्ञानिक सिद्धान्त बोकेर आज एमाले अगाडि बढिरहेको छ । प्रतिबन्धित अवस्थामा पनि विभिन्न सङ्घर्षका अनुभव र आफ्नै कथा छन् । यस्तो सङ्घर्षशील र जुझारु कार्यकर्ताले भरिएको राजनीतिक पार्टी भइकन पनि आज मुलुक किन यस्तो अवस्थामा रुमल्लिएको छ ? सङ्क्रमणकालले किन आवश्यक गति लिन सकेको छैन ? जनताले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै पार्टी किन सही ढङ्गले अगाडि बढ्न सकेन ? आज नेपाली जनतामा यस्तै गम्भीर प्रश्न उठिरहेको छ । जनतालाई एमालेले यी तमाम प्रश्नको चित्तबुझ्दो उत्तर दिन सक्नुपर्छ ।
यति हुँदाहुँदै पनि आज एमालेमा वैचारिक अस्पष्टता र शिथिलताका कारण विभिन्न किसिमबाट विचलन आएको देखिएको छ । आज पार्टीभित्र यस्तो अवस्था किन आइरहेको छ त ? र, प्रभावकारी पार्टी भए पनि एमाले किन आज प्रभावहीन पार्टीका रूपमा देखा परिरहेको छ ? यी यस्तै गुनासा आइरहेको वर्तमान अवस्थामा एमाले वैचारिक रूपमा स्पष्ट अडान भएको पार्टीका रूपमा स्थापित हुँदैछ । ऐतिहासिक जिम्मेवारी र अभिभारा बहन गर्ने नयाँ अठोटका साथ एमाले आफ्नासामु रहेका चुनौतीलाई सामना गर्नका लागि तयार छ । र, यही विश्वासका साथ अघि बढ्दै नयाँ एकता र गतिमा  समाहित हुँदैछ । राष्ट्रिय प्रतिनिधि परिषद्को आयोजनासँगै पार्टी नेतृत्व, कार्यकर्ता र आमजनतालाई यही अनुभूति हुनेछ ।
पार्टीभित्रको आन्तरिक समस्या समाधान र साङ्गठनिक रूपमा प्रभावकारिताका सन्दर्भमा विभिन्न कमजोरी देखिएका छन् । सङ्क्रमणकाल टुङ्ग्याउने सन्दर्भमा होस् वा उग्रवामपन्थ समूहसँगको बैचारिक लडाइँमा, यसले तीव्रताका साथ विजय हासिल गर्दै जाने कुरामा पनि यस्तै कमजोरी देखिए । पार्टीभित्र यस्ता तमाम कमजोरी किन देखिए त ? यिनै प्रश्न सर्वत्र उठिरहेको वर्तमान सन्दर्भमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक सुरु हुँदैछ । यी प्रश्नको उत्तर खोजेर समग्र मुलुकको राष्ट्रिय राजनीतिलाई सही मार्गमा डोरायाउन पनि यो बैठकको अत्यन्तै ठूलो महत्व रहन्छ । परिषद् बैठकअघि पनि एमालेले पार्टी सुदृढीकरणका लागि राष्ट्रव्यापी रूपमा तीनमहिने अभियान सञ्चालन गरेको थियो । यस क्रमसँगै एमालेले पार्टी एकताको अभ्यास र नयाँ अवधारणा प्रस्तुत गरेको थियो । स्वाभाविक रूपमा परिषद् बैठकमा कार्यकर्ताहरू पार्टीको प्रगतिका लागि व्यापक रूपमा नयाँ जोस, जाँगर, उत्साह र आत्मविश्वासका साथ सहभागी भइरहेका छन् ।
परिषद् बैठकसँगै एमालेमा देखिएको शिथिलता र वैचारिक अस्पष्टता पनि हराउँदै जानेछ । पार्टी कार्यकर्तामा आएको निराशा र शिथिलता मेटाउँदै कार्यकर्तामा नयाँ उत्साहका साथ पार्टी एकताको सन्देश फैलने छ । एमालेमा उत्साह आएकाले सर्वसाधारणमा समेत बैठकले उत्साह र उमङ्ग ल्याउनेछ । खासगरी एमाओवादीलाई हेर्ने दृष्टिकोण र उसका उग्रवामपन्थी गतिविधिलाई चिन्ने सन्दर्भमा एमालेमा कतिपय कमजोरी पनि रहे । विभिन्न प्रकारका गलत विचार र प्रवृत्तिलाई चिन्ने र तिनीहरूसँग व्यवहार गर्ने प्रसङ्गमा विगतमा एमालेमा कतिपय मतभेद र कमजोरी  रहे । यस्तै विभिन्न सन्दर्भ र दृष्टिकोणमा आएको वैचारिक विविधताले पनि पार्टीभित्र मतभेद ल्याइदियो । र, अर्को कुरा, पार्टीमा केही सञ्चालनगत र प्रक्रियागत त्रुटि पनि रहेका हुन्, जसले गर्दा मतभेदजन्य अनेकौँ अवस्था पैदा भए, तर अब एमाओवादीप्रति हेर्ने दृष्टिकोणमा एकरूपता, समरूपता र स्पष्टता आएको छ । त्यसकारण उसप्रतिको व्यवहारमा पनि स्पष्टता आएको छ ।
त्यसले एमालेलाई नयाँ उत्साह र  आत्मविश्वासका साथ अहिलेका समस्या समाधान गर्नका लागि तत्पर गराएको छ । एमाले मुलुक र जनताप्रतिको जिम्मेवारी र अभिभारा बहन गर्न तयार छ । वर्तमानमा देखापरेका चुनौती सामना गर्न  प्रतिनिधि परिषद्को बैठकले एमालेलाई नेतृत्वकारी भूमिकामा मनोवैज्ञानिक ढङ्गले उभ्याउन मद्दत गर्छ । यससँगै मुलुकको राष्ट्रिय राजनीतिलाई बैठकले दिशाबोध गर्नेछ । नेपाल हिंसातर्फ फर्कन सक्दैन भन्ने कुराको पनि बैठकले टु्ङ्गो लगाउँछ । अब नेपाल कुनै प्रकारको तानाशाहीतर्फ फर्कन सक्दैन । विभिन्न प्रकारका साम्प्रदायिक वा सङ्कीर्ण विद्वेषकारी अवस्थातर्फ मुलुक जान सक्दैन ।  विगतका सबै प्रकारका असमानतालाई समाधान गरेर समतामूलक समाज निर्माण गर्नेतर्फ मुलुकको राजनीति अगाडि बढ्छ । यसका लागि नेकपा(एमाले)ले अब नेतृत्वदायी भूमिका निर्वाह गर्छ । साँचो अर्थमा एमाले अब जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन र शासकको हैसियतमा उठाएर अगाडि बढ्छ । सुदृढ राष्ट्रिय एकताका साथ एमाले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणको उद्देश्यमा अगाडि बढ्छ भन्ने कुरा बैठकले स्पष्ट रूपमा सन्देश दिन्छ ।  बैठकले आफ्नो बाटो र कार्यदिशा पनि स्पष्ट गर्छ । त्यससँगै जनतामा मनोवैज्ञानिक रूपमा पार्टी एकता र स्पष्ट अडान भएको पार्टीका रूपमा रहेको विश्वास पनि जगाउँछ ।
यसै बैठकले शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णता दिई जारी गर्ने होइन, तर पनि त्यसका निम्ति यसले ठोस मनोविज्ञान दिन्छ र मार्गप्रशस्त गरी पहिल्याउँछ । संविधान जारी गर्न केही मार्गनिर्देशन दिने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्य पनि बैठकले लिएको छ । शान्ति प्रक्रियालाई पूर्णता दिने भनेको एमाओवादीका हतियार खोसेर विश्राम गर्ने होइन । मुख्य कुरा उग्रवामपन्थबाट एमाओवादीलाई निःशस्त्र गर्ने कुरा हो । शान्ति प्रक्रियाको पूर्णताका लागि एमाओवादीलाई हतियारबाट अलग गर्न सक्नु ठूलो महत्वपूर्ण पाटो हो । सँगै यस बैठकले मुलुकको अग्रगामी परिवर्तनका विषयमा प्रेरित गर्न कांग्रेसलाई मद्दत गर्छ ।
सङ्कीणतावादीहरूलाई व्यापक राष्ट्रिय मूलधारमा जान प्रेरित गर्छ । यो सबै कुरा गर्नका लागि एमालेलाई एक ढिक्का बनाई उच्च मनोबल, जोस र जाँगरका साथ अगाडि बढाउनु आजको आवश्यकता हो । एमाले जबजको विचार बोकेर स्पष्ट कार्यनीतिका साथ एक ढिक्का भई अगाडि बढ्यो भने यस पार्टीको नयाँ वेगलाई कृत्रिम बाँधको त कुरै छाडौं, केहीले पनि थेग्न सक्दैन ।

प्रतिक्रिया