हिंसाले विनाश गराउँछ

बबरमहल बमकाण्डले मुलुकको शान्ति–सुरक्षाको अवस्थालाई प्रतिविम्बित गर्छ । राज्यको केन्द्रीय प्रशासनसामुन्ने दिनदाहाडै विस्फोटन हुँदा पनि सरकार गम्भीर नदेखिनुले डरलाग्दो अनिष्टको सुई घुमेको प्रस्ट हुन्छ । शान्ति–सुरक्षाको मुख्य जिम्मेवारी सम्हालेको गृहमन्त्रीले सिंहदरबारको सामुन्नेमै भएको बमकाण्डलाई अत्यन्तै हल्का रूपले लिएका छन् । उनले यस घटनाले शान्ति–सुरक्षा कमजोर भएको इंगित गर्छ भन्ने कुरालाई ठाडै अस्वीकार गरेका छन् । बितेका डेढ दशकमा नेताहरूको सङ्कीर्ण दलीय स्वार्थका कारण राज्य संयन्त्र सम्पूर्ण रूपले ध्वस्त गराइयो । सुरक्षा निकायलाई राजनीतिक दल र केही स्वार्थी नेताको तुष्टि सिद्धिका खातिर पङ्गु बनाइयो । नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी बोकेका निकाय नै लाभ र हानिको हिसाबकिताबमा संलग्न भएर सुरक्षा संयन्त्रलाई तहसनहस पार्ने काममा लागे ।
विदेशीको इसारामा सञ्चालित तत्वको स्वार्थपूर्ति गर्न राज्यका सबै निकायमा खुलेआम अख्तियार दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा भइरहेको छ । शान्ति–सुरक्षा राज्यको प्रमुख दायित्व हो । राज्य सञ्चालनको मूल मर्म नै सुरक्षा व्यवस्थासँग जोडिन्छ । शान्ति–सुरक्षा कमजोर भयो भने आर्थिक विकास त अवरुद्ध हुन्छ नै साथसाथै राष्ट्रको अस्तित्व पनि खतरामा पर्छ । अहिले मुलुकको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रको स्वतन्त्र अस्तित्वमाथि धावा बोल्ने शक्ति बढ्तै सक्रिय रहेको छ । त्यो शक्ति कताबाट सञ्चालित छ भन्ने यकिन गर्न नसकिए पनि त्यसले जातीय, क्षेत्रीय र भौगोलिक नारा लगाएर अखण्ड राष्ट्रविरुद्ध जहर फैलाउने कार्यलाई निरन्तर अघि बढाइरहेको छ । नयाँ नेपालको कार्यक्रमविहीन नाराको पछाडि लाग्ने हामी नेपाली त्यही कारण अहिले विलखबन्दमा पर्दै गएका छौँ ।
विभिन्न जातजाति, भाषाभाषी र धार्मिक मतको बीचमा रहेको हार्दिकता, सहिष्णुता र समझदारीलाई खलबल्याएर तिनीहरूबीच कटुता उत्पन्न गराई अकण्टक शासन गर्ने सीमित व्यक्तिको महत्वाकाङ्क्षाको सिकार भएर मुलुक चरम सङ्कटमा फसेको छ । सङ्क्रमणकालको नाममा यसलाई मुख्य राजनीतिक दल आज पनि स्वाभाविक हो भन्ने प्रमाणित गर्ने कसरत गरिरहेका छन् । दलहरूको नालायकीपनको भरपुर फाइदा विदेशीले उठाइरहेका छन् । तिनले यही मौकामा जातीय हिंसा भड्काउने, धर्म परिवर्तनको अभियान सञ्चालन गर्ने र शान्त हिमाली राष्ट्र नेपाललाई हिंसा र आतङ्कको चपेटामा उम्कनै नसक्नेगरी फसाउने षड्यन्त्र गरिरहेका छन् ।
त्यसको पछाडि उनीहरूको सामरिक, राजनीतिक र धार्मिक स्वार्थ मात्र छैन, यहाँको प्राकृतिक स्रोत, जलसम्पदा र मानवीय संसाधनको दोहन गर्ने कुत्सित स्वार्थ पनि निहित छ । आफ्नो उद्देश्य पूरा गर्न विदेशी शक्ति र तिनको इसारामा चल्नेहरू सबभन्दा पहिले हाम्रो सहिष्णुतामाथि नियोजित रूपले आक्रमण गर्न थालेका छन् । त्यसका लागि गरिबी, अशिक्षा, भोक, रोग र बेरोजगारीबाट आक्रान्त युवाशक्तिलाई हदैसम्म दुरुपयोग गरिएको छ । माओवादीले १० वर्ष नौलो जनवादी क्रान्तिको नाममा युवाशक्तिलाई हत्या, हिंसा र आतङ्कको दलदलमा फसायो । अहिले माओवादी शान्तिप्रक्रियाको नाममा राजनीतिको मूल प्रवाहमा प्रवेश गर्न लागेका बेला जातीय, क्षेत्रीय, उपेक्षित उत्पीडित पक्ष आदिको नाममा हिंसाको अर्को बाटो बनाउने कार्य सुनियोजित रूपले नै हुँदै छ ।
एकाध हिंसा र रक्तपातका घटना घटाएर रातारात चर्चामा आउने चाहाना बोकेका व्यक्तिलाई विदेशी तत्वले प्रयोग गर्न थालेको धेरै समय बितिसकेको छ । असुरक्षा र त्रासको वातावरण सिर्जना गर्न अनेकथरीका नक्कली र बनावटी नारा लगाउने र त्यसैको जगमा खडा भएर मुलुकको अस्तित्व समाप्त पार्ने दाउ रच्ने षड्यन्त्रलाई समयमै सबै नेपालीले बुझ्नुपर्छ । श्रीलङ्का, बाल्टिक क्षेत्र, पाकिस्तान र अफ्रिकी राष्ट्रमा साम्राज्यवादी स्वार्थ कसरी अभिव्यक्त भएको थियो यहाँ पनि त्यस्तै स्थिति दोहोरिने सङ्केत प्रस्ट देखा पर्दै छ ।  जानी÷नजानी राष्ट्रिय वा अन्तर्राष्ट्रिय शक्तिको खेलको गोटी बन्नेले पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने बेला आएको छ । सबै समस्याको अचुक औषधि हिंसा होइन । हिंसाले नै सबै समस्या हल गर्ने भए आज हामी समस्यामुक्त भइसकेका हुन्थ्यौँ । माओवादीले दस वर्ष सप्तकोसीको पानीबराबर नेपालीको रगत बगायो । असङ्ख्य, निरीह, निरपराध र गरिबको हत्या गर्यो र पनि समस्या समाधान हुनुको सट्टा झन् जटिल र गम्भीर रूपमा देखा पर्यो । हिंसालाई कुनै पनि समस्याको अचुक समाधान ठान्नेहरूको चेत फिर्न सकेन भने हाम्रो सर्वनाश निश्चित छ । यो यथार्थलाई सबै इमानदार, स्वाभिमान र स्वतन्त्रप्रेमी नेपालीले बुझ्नुपर्छ ।
जुनसुकै जातिको मान्छे मरे पनि त्यो नेपाली हो, जसको सम्पत्ति क्षति भए पनि त्यो हाम्रै राष्ट्रको हो भन्ने कुरा मनन गरेर मात्र हामीले नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता बचाउन सक्छाँै । हिंसाका एकाध वारदात गराएर सर्वसाधारणको ध्यान त्यता केन्द्रित गर्दै आफ्नो आयु लम्ब्याउन खोज्ने सरकारी चाल हो भने त्यो झन् खतरनाक हुन्छ । त्यो त झन् उसैका लागि प्रत्युत्पादक भइदिन्छ । गुलियो नारा दिएर राष्ट्रको बर्बादी निम्त्याउन उद्यत रहेका स्वदेशी÷विदेशी तत्वलाई समयमै चिन्न सकिएन भने त्यसले हाम्रै सर्वनाश गर्नेछ । सरकार र राजनीतिक दलका एकाध कुलाङ्गारले बर्बादीको बाटोतर्फ डोरायाउन लागेको राष्ट्रको अस्तित्व बचाउनुपर्ने युवाशक्ति आफैं हिंसाको दलदलमा फस्नबाट बच्न सक्नुपर्छ ।

प्रतिक्रिया