गच्छदारलाई चार पद छाड्न दबाब

काठमाडौँ, १८ फागुन । पाँचवटा पद ओगटेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छदारलाई पार्टीका सभासद् र केन्द्रीय सदस्यले ‘एक व्यक्ति एक पद’को सिद्धान्त लागू गर्न अल्टिमेटम दिने भएका छन् ।
उपप्रधानमन्त्री गच्छदारले गृहमन्त्री, रक्षामन्त्री, पार्टी अध्यक्ष, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको संयोजकसरहको जिम्मेवारी र संसदीय दलको नेता गरी पाँचवटा पद ओगटेका छन् । सामूहिक नेतृत्वको अवधारणामा फोरम लोकतान्त्रिक स्थापना भएको भन्दै त्यहीअनुसार अघि बढ्न गच्छदारलाई सभासद्सहित ११ जनाले आइतबार लिखित अल्टिमेटम दिने तयारी गरेका छन् । संसदीय दलका सचेतक ओमप्रकाश यादवसहित प्रमोद गुप्ता, रामानन्द मण्डल, करिमा बेगम, निलम बर्मा, कौशल यादब, सेवकी सिद्धिकी दासलगायतले अल्टिमेटसहितको ज्ञापनपत्र बुझाउन लागेका हुन् ।
‘पार्टीभित्र एक व्यक्ति एक पदको सिद्धान्त पूर्णरुपमा लागू गर्न हामीले आइतबार पार्टी अध्यक्ष तथा संसदीय दलका नेता विजय गच्छदारलाई समयसीमा राखेर ज्ञापनपत्र बुझाउँदै छौँ । उहाँले हाम्रो माग पूरा गर्नुभएन भने हामी संसदीय दलमा उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्छौँ,’ सचेतक यादवले सौर्यसँग भने, ‘अब पनि पाँचवटा पद बोकेर पार्टी चल्दैन र देश पनि चल्दैन ।’
अल्टिमेटमसँगै उनीहरुले तीन दिनभित्र दलको बैठक बोलाउन माग गर्ने जनाएका छन् । पार्टी विधानअनुसार  २५ प्रतिशत सभासदले संसदीय दलको बैठक बोलाउन लिखित माग गरे तीन दिनभित्र बैठक बोलाउनुपर्छ । पछिल्लोपटक आठ महिनाको अवधिमा दलको बैठक दुईपटक बसेको छ भने केन्द्रीय समिति बैठक बस्न सकेको छैन । तत्कालीन रक्षामन्त्री शरदसिंह भण्डारीलाई पदमुक्त गर्ने निर्णयलाई पार्टीको केन्द्रिय समितिबाट अनुमोदन गराउन केन्द्रिय सदस्यहरुले पटकपटक दबाब दिए पनि गच्छदारले अहिलेसम्म केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।
दलका उपनेता रहेका भण्डारीले सामूहिक नेतृत्वको अवधारणा कायम गर्न आफूहरुले फोरम नेपालबाट अलग भई फोरम लोकतान्त्रिक गठन गरेको भन्दै अध्यक्ष गच्छदारले उक्त अवधारणालाई लत्याएको आरोप लगाए । ‘पार्टीलाई सामुहिक नेतृत्वमा लैजाऊँ र एउटा व्यक्तिलाई एक पदमात्र दिऔँ भनेर हामीले फोरम लोकतान्त्रिक गठन गरेका थियौँ तर पार्टी अध्यक्षले यसलाई पूरै उल्लघङन गर्नुभयो,’ भण्डारीले भने ।
भण्डारीलाई रक्षामन्त्रीबाट पदमुक्त गरेपछि उक्त जिम्मेवारी पनि गच्छदारले नै सम्हाल्दै आएका छन । रक्षामन्त्रीमा पार्टीका अन्य कसैलाई नियुक्त गर्न दबाब बढदै गए पनि उनले अहिलेसम्म कसैको नाम सिफारिश नगरेको असन्तुष्ट पक्षको आरोप छ ।

प्रतिक्रिया