अलग विचार अलग चित्रबहादुर

बाग्लुङको मल्म–३, गल्याङमा साधारण किसान परिवारमा जन्मेका ७१ वर्षीय चित्रबहादुर केसीको सङ्घीयताविरोधी उत्तेजक विचारबाट धेरै मानिस प्रभावित छन् । उनको गाउँले बोलीचालीको प्रभाव पनि त्यत्तिकै छ । शिक्षकबाट राजनीतिमा छिरेका केसी यतिबेला नेकपा (मसाल)को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष छन् । ‘पञ्चायती व्यवस्थाका बेला इतर राजनीतिक गतिविधिमा प्रतिबन्ध थियो, त्यसैले पनि शिक्षकलाई जनताबीच जान सजिलो थियो,’ उनी भन्छन् । उनका विचारमा शिक्षण पेसा सीमित हुन्छ, तर राजनीतिको दायरा फराकिलो हुन्छ ।
सिद्धान्ततः सङ्घीयताको विरोधी नरहेको आफ्ना भनाइलाई तोडमरोड अर्थ लगाउँदै सङ्घीयताको घोर विरोधी बनाइदिएको दाबी गर्छन् उनी । भन्छन्, ‘विश्वमा ४० प्रतिशत जनता सङ्घीय प्रणाली र ६० प्रतिशत एकात्मक प्रणालीमा बस्छन् ।’ उनको आफ्नै अडान छ– नेपालको सन्दर्भमा सङ्घीयता हुँदै हुँदैन, नेपालमा सो प्रणालीको पूर्वाधार नै छैन । चार वर्षदेखि यही रटान रटिरहेका केसीको विचारमा मुलुक सङ्घीयतामा जान सक्दैन, गइहाले पनि मुलुकले थेग्न सक्दैन । ‘कुनै साम्राज्यको उपनिवेश रहिसकेको र राष्ट्रियता छरिएर बसेको ठाउँमा मात्र सङ्घीयता सम्भव छ, हाम्रो जस्तो देशमा होइन,’ केसी भन्छन्, ‘सङ्घीयताको वकालत गर्नेलाई नै सङ्घीयता अहिले घाँडो बन्दै छ । उनीहरू नै अन्योलमा छन् ।’
भर्खरै ‘संसद्मा १० वर्ष’ नामक पुस्तक बाहिर ल्याएका सभासद् केसी सङ्घीयताका नाममा अल्पसङ्ख्यकले बहुसङ्ख्यकलाई शासन गर्ने, जातीय राज्य बनाउने, एक मधेस स्वायत्त प्रदेश बनाउने, आत्मनिर्णयको अधिकार गराउने षड्यन्त्र र खेल हुँदै छ, त्यसैले सङ्घीयता नेपालका लागि घाँडो हुँदै छ भन्ने विचार राख्छन् । उनी भन्छन्, ‘त्यो प्रणालीमा जानुपूर्व नै नेपालको सन्दर्भमा त्यो कत्तिको व्यावहारिक छ, व्यापक छलफल र बहस गर्नुपथ्र्याे । हचुवाका भरका सङ्घीय प्रणाली लागू गर्न खोजिँदै छ । यसमा नेताहरूको अदूरदर्शिता देखिएकै हो ।’
केसीको निचोड छ– आजको एक्काइसौँ शताब्दीमा वर्गीय समस्या पो ठूलो हो । जातीय शोषण र दमनको पो अन्त्य गर्ने हो त ! जातीय आधारमा मुलुकलाई अंशबन्डा गर्ने प्रयत्न गरिँदै छ । जसरी जातीय शासनको प्रयत्न हुँदै छ, त्यो घोर अलोकतान्त्रिक र मुलुकका लागि खतरनाक कुरा हो । किन पनि घातक छ भने यसले राष्ट्रिय पार्टीहरू टुक्रिन्छन्, नेताहरू विभाजित हुन्छन् । बेलायत, फ्रान्स, जापानजस्ता मुलुकमा एकात्मक राज्यप्रणाली छन्, ती देशमा पनि विकास भएको छ । त्यहाँ पनि जातजाति र भाषाभाषीको उन्नति भएको छ ।
उनलाई लाग्छ, सत्तामा बसेर अरूलाई गाली मात्र गर्ने बढ्दो प्रवृत्ति गलत छ । टल्कनेजति सबै सुन हुँदैन भनेभैmँ झन्डा बोक्दैमा सबै सही मानेमा कम्युनिस्ट पार्टी भइहाल्दैैनन् । कम्युनिस्ट पार्टीका पसल त धेरैले खोलेका छन्– कसैले लेनिनको, कसैले माक्र्सको त कसैले माओको । पसल खोल्दैमा नेपाली जनतालाई पूर्ण मुक्ति दिने व्यापार चल्दैन । जनताको प्रतिनिधित्व गर्न सक्ने पार्टीले मात्र मुक्तिको काम गर्न सक्छ । त्यसैले अहिले खोलेका सबै पार्टी अस्थायी हुन् र बिस्तारै तिनको व्यापार डुब्छ ।
जीवनमा कहिले पनि नरोएका केसी आमाको निधनमा साह्रै रोए । त्यति बेला उनलाई आफ्नै आयु पनि २० वर्ष घटेको अनुभूति भएको थियो । उनले भने, ‘आमाको निधनपछि मैले तीन महिना त पार्टीको काम गर्नै सकिनँ ।’ यसो भनिरहँदा उनको अनुहारमा फेरि आमाको स्मरण आइरहेको अनि भावुक बनिरहेको अनुभव गर्न सकिन्थ्यो । आपूmलाई नास्तिक भन्न रुचाउने केसीले त्यति माया गर्ने आमाको काजकिरिया भने गरेनन् । उनले सुनाए, ‘यसले काजकिरिया गर्दैन भनेर आमाले पनि पहिले नै बुझ्नुभएको थियो र त्यसैले उहाँले पनि किरिया नगर्ने सल्लाह दिनुभएको थियो । दान गरेर पाइँदैन भन्ने बुझ्नुभएको थियो ।’ आमाले भनेको केसी सम्झन्छन्, ‘केही वस्तु चढाएर पूजा गरेर हुने भए त भूमिगत हुँदा घरमा भएको दूधदही चढाएर तँ भएको ठाउँमा पु¥याइदिन्थेँ । तैँले टर्रो दाल–भात खानुपर्दैनथ्यो ।’ उनको भाषा सरल हुनामा आमाको देन छ, किनभने आमा पनि खुब उखानटुक्का जोडेर कथाकहानी सुनाउँथिन् रे ! लामो समयको ग्रामीण क्षेत्रको राजनीतिक यात्राका कारण पनि उनको बोलीचाली गाउँले प्रकारको भएको हो । ‘जनताले यस्तो भाषा मन पराइदिन्छन् । त्यो मेरा लागि ठूलो उपलब्धि हो– केसी भन्छन् ।
मसालका अर्धभूमिगत नेता मोहनविक्रम सिंहसँग केसीको ५३ वर्षदेखि राजनीतिक यात्रा निरन्तर जारी छ । उनको दाबीअनुसार मोहनविक्रम मात्र होइन, नेकपा (मसाल) सिङ्गो पार्टी भूमिगत छ । भ्याएसम्म आफ्नो गृहजिल्ला बाग्लुङ जाने केसी विदेश भ्रमणको नाममा संसद्बाट चीन, अमेरिका र कोरिया पुगेका छन् । र, आज ठूलो पार्टी हुँदैमा जनताले सधैँका लागि पत्याए भन्नु नहुने बताउँछन् । एमाओवादी वा एमालेबाट आफूलाई सम्मानजनक रूपमा भित्र्याउने प्रस्ताव पनि आएको कुरा बताए केसीले ।
संविधान निर्माणमा भएको ढिलाइमा उनी पनि तीन दललाई दोषी ठान्छन् । उनी भन्छन्– ‘चित्रबहादुर केसीले भित्तामा टाउकै फोरे पनि संविधान बन्दैन,  हुनुपर्नेले गम्भीर हुनुप¥यो नि ।’ आफ्नो उपस्थितिले पनि जनताका लागि कुनै उपलब्धि गरेजस्तो लाग्दैन उनलाई । ‘सरकारमा जाऊँ, मन्त्री होऊँ’ भन्ने आकाङ्क्षा कहिल्यै पलाएन उनको मनमा । परिवारलाई त झन् उनको घरप्रतिको भरथेगमा कत्ति पनि विश्वास छैन । ‘मैले परिवारलाई सुख र सुविधा देला भन्नेमा मेरै बूढीमाउले विश्वास गर्दिन, सोध्नू न उसैलाई !’

प्रतिक्रिया