बिनासहित पक्राउ कुवेती रिहा

बुटवल, १७ फागुन । प्रतिबन्धित कस्तुरीको बिनासहित बुटवलमा पक्राउ परेका कुवेती नागरिकले करिब एक महिनापछि उन्मुक्ति पाएका छन् । एक महिनाअघि १६ माघमा पक्राउ परेका कुवेती नागरिक हमिद महमद अलिन्जीलाई कुवेती दूतावासको दबाब आएको भन्दै छाडिएको हो ।
अलिन्जीलाई कस्तुरीको बिनासहित इलाका प्रहरी कार्यालय बुटवलले बुटवलस्थित सिन्दुर होटलबाट पक्राउ गरेको थियो । उनलाई छाड्न दिल्लीस्थित कुवेती दूतावासले काठमाडौँमा उच्च प्रशासनिक र राजनैतिक तहमा पटकपटक लविङ गरेको प्रहरी स्रोतको दाबी छ । अलिन्जीलाई कारबाही नगरी छाड्न कुवेत सरकारको परराष्ट्र मन्त्रालयले त्यहाँका नेपाली राजदूत मधुवन पौडेललाई पनि आवश्यक सहयोग गर्न आग्रह गरेको स्रोतको
कथन छ ।
काठमाडौँबाट गत १५ माघमा हवाइजहाजमार्फत भैरहवा आएका अलिन्जी बुटवलस्थित सिन्दुर होटलमा बसिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलले गिरफ्तार गरी १७ माघमा सार्वजनिक गरेको थियो । १५ दिनको भिसामा काठमाडौँ आएका अलिन्जी भैरहवा विमानस्थल ओर्लेर सिधै बुटवलस्थित होटल सिन्दुर आई बसेका थिए ।
कस्तुरीको बिनाको अवैध कारोबारको सिलसिलामा उनी बुटवलमा आएको सूचना पाएर प्रहरीले होटलमा खानतलासी गरेको थियो । तर, उनले चलाखीपूर्ण तरिकाले कस्तुरी लुकाएपछि प्रहरीले निकै लामो समयसम्म कोठा खानतलासी गर्नुपरेको थियो । उनी बसेको कोठै बास्नाले भरिए पनि कस्तुरीको बिना फेला नपरेपछि फर्किनै लाग्दा प्रहरी निरीक्षक रामेश्वर कार्कीले कागजमा बेरेर डस्टबिनमा फालिएको अवस्थामा बिना फेला पारेका थिए । त्यसपछि प्रहरीले अलिन्जीलाई गिरफ्तार गरेकोे थियो ।
प्रहरीले १७ माघमा दिउँसो नै उनलाई जिल्ला वन कार्यालय रुपन्देहीलाई बुझाएको थियो । धेरैतिरबाट दबाब आएपछि तत्कालै वन कार्यालयलाई सुम्पनुपरेको एक प्रहरी अधिकारीले बताएका छन् । जिल्ला वन कार्यालयले बिना हो होइन भनी परीक्षणका लागि भोलिपल्टै विधिविज्ञान प्रयोगशालामा पठाएको थियो ।
२१ माघमा विधि विज्ञान प्रयोगशालाले बिना नभएको रिपोर्ट दिएको बताइएको छ । रिर्पोट आउनुअघि बिना नभएको प्रमाणित गराउन उच्च प्रशासनिक र राजनैतिक तहमा दिल्लीस्थित कुवेती दूतावासले तीव्र लविङ गरेको प्रहरीको भनाइ छ । स्रोतकै अनुसार, अलिन्जी पक्राउ परेलगत्तै दिल्लीस्थित कुवेती दूतावासका एक उच्च अधिकारीले नेपालमै आाएर धेरैतिर भेटघाट र लबिङ गरेका थिए ।
उनलाई पक्राउ गरिएलगत्तै बुटवलस्थित इलाका प्रहरी कार्यालयका अधिकारीलाई कुवेतबाटै विभिन्न नम्बरबाट सिधै टेलिफोन आउने र बढी चासो राख्ने गरिएको प्रहरीले बताएको छ । धेरैतिरबाट फोन आएका आधारमा उनको सम्बन्ध अवैध कारोबारको सञ्जालसंग हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया