मूल्य घटेपछि अन्योल

राम योङ्हाङ, इलाम ९ फागुन । अदुवाको मूल्य घटेपछि जिल्लाका अधिकांश किसान अन्योलमा परेका छन् ।
इभाङ ३ का मित्रकुमार खड्काले अघिल्लो वर्ष अदुवा बेचेर एक लाख रुपिया आर्जन गरेका थिए । त्यतिखेर उनलाई आफ्ना छोराछोरी पढाउन र घरखर्च चलाउन समेत अदुवाले धानेको थियो ।
तर अहिले अदुवाको मूल्य घटेपछि किसानहरू अन्योलमा परेका छन् । अदुवाबाट राम्रो आम्दानी हुने आशाले खड्काले खेतीयोग्य जमिनमा अदुवा लगाएका थिए तर यो वर्ष अदुवाको मूल्य अत्यन्तै कम भएको र बिक्री समेत नभएपछि घरखर्च सञ्चालन गर्न पनि समस्या परेको उनको भनाइ छ । स्थानीय ब्यापारीले अदुवा किन्न नमानेपछि खड्काले आफूले उत्पादन गरेका करिब सय मन अदुवा बारीबाट खनेका समेत छैनन् । ‘विगतका वर्षमा अदुवा खरिद गर्न व्यापारीहरू घरघरमैै आउने गर्थे, यो वर्ष अहिलेसम्म कोही पनि  आएका छैनन्’ एक स्थानीय किसानले भने ।
यस्तै पीडा छ अर्का कृषक भक्तबहादुर बस्नेतकोे पनि । आफ्ना पाँच जनाको परिवारको गुजारा चलाउन र छोराछोरीलाई पढाउन अदुवामा नै भर पर्दै आएका बस्नेत परिवारलाई अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्ताले पिरोलेको छ । अदुवाबाट राम्रो आम्दानी हुने आशाले बस्नेतले एक हजार र पाँच सय मूल्यमा अदुवाको बीउ खरिद गरेर अदुवा रोपेका थिए । तर, अदुवा नबिकेपछि दैनिक गुजारा चलाउनसमेत समस्या परेको बस्नेत बताउँछन । ‘अदुवा खेतीबाट नै आफ्नो परिवार चलाउँदै आएको छु, यस वर्ष त त्यही पनि बिक्री भएन, अब कसरी घरव्यवहार सञ्चालन गर्ने भन्ने कुराले पिरोल्न थालेको छ,’ स्थानीय कृषक भक्तबहादुर बस्नेतले बताए ।
जिल्लाका कृषकले प्रमुख नगदेबालीका रूपमा गर्दै आएको मसलाजन्य कृषि उत्पादन अदुवाको मूल्य गत वर्षको तुलनामा अत्यन्तै कम रहेको छ । अहिले जिल्लाको ग्रामीण क्षेत्रमा अदुवाको मूल्य तीन सय रुपियाँ प्रतिमन रहेको छ ।
गत वर्ष प्रतिमन एक हजार दुई सय रुपियाँमा बिक्री गरेका कृषकले यस वर्ष आधा मूल्यमा पनि विक्री गर्न नपाएपछि कृषकहरूले बारीमा नै छाडेका हुन् । ‘बारीबाट खनेर बजारसम्म पु¥याउन धेरै खर्च लाग्छ, खन्नका लागि काम गर्ने ब्यक्ति लगाउँदा अदुवाको रकमले पनि नभ्याउने भएपछि बारीमा नै छाडेको हुँ,’ इलाम गजुरमुखी–९ का कृषक डिबी लिम्बूले भने । इलाममा उत्पादित अदुवा भारतको बैङ्गलोर तथा दक्षिण भारततर्फ जाने गरे पनि स्थानीय उत्पादनकै कारण नेपाली अदुवाको माग कम भएको व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया