जियालाई सम्बन्धको अप्ठ्यारो

काठमाडौं, ९ फागुन । नायिका जिया केसी अहिले निकै डरमा छिन् । उनको डर अरू कोहीसँग नभएर मिडियासँग हो । जुन चलचित्रमा अभिनय गर्छिन्, त्यसैका निर्देशकसँगको उनको  सम्बन्धबारे मिडियाले चर्चा उठाउन थालेपछि उनी तनाबमा पर्ने गर्छिन् । यसपटक चर्चामा छ, चलचित्र ‘रुद्राक्ष’का निर्देशक गोकुलकुमार राई र उनको सम्बन्ध । जिया सो चलचित्रमा नायिका भूमिकामा अभिनयरत छिन् ।
आखिर किन निर्देशकसँगको सम्बन्धलाई लिएर विवादमा पर्छिन् त उनी ? भन्छिन्– ‘जुन चलचित्रमा काम गर्छु, त्यसका निर्देशकसँग कामकै हिसाबले पनि नजिक त हुनैपर्छ । सायद त्यही निकटतालाई लिएर मलाई उडाउने गरेका होलान् ।’ उनले प्रतिप्रश्न गरिन्– ‘आफूले काम गर्ने निर्देशकसँग नबोली अभिनय गर्न कसरी सकिएला र ?’
नायिका जियाले यसअघि निर्देशकहरू दीपक श्रेष्ठ, किशोर सुब्बा र रमेश पोखरेल लगायतसँग काम गरिसकेकी छिन् । यसबीच श्रेष्ठसँग पनि यिनको नाम पटक–पटक जोडिएर बजारमा आशङ्काका तरङ्ग उठ्ने गरेका थिए । चर्चा अनेकाँैं हुने गर्थे । श्रेष्ठसँगको सम्बन्धमा उनी खुलिन्– ‘दीपक श्रेष्ठले मलाई पहिलो ब्रेक दिनुभएको हो । उहाँसँग मात्र होइन, उहाँको परिवारसँग पनि मेरो राम्रो सम्बन्ध छ ।’
‘रुद्राक्ष’ अहिले छायाङ्कनमा छ । यस चलचित्रमा जिया आधुनिक युवतीको चरित्रमा छिन् । अहिलेसम्म नगरेको सस्पेन्स भूमिका भएकाले पनि निर्देशकसँगको परामर्श बढाउनुपरेको उनले सुनाइन् । ‘हो यही माया हो’ चलचित्र मार्फत नेपाली रजतपटमा भित्रिएकी जियाले ‘पुरानो हुँदैन माया’, ‘वाचा’ लगायतका आधा दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् ।
‘रुद्राक्ष’मा जियाको जोडी नवनायक रोहित लामा छन् । दिनेश पाख्रिनको निर्माण रहेको सो चलचित्रमा चन्द्रमान तामाङ, मोनिका दाहाल, उदय सुब्बा, सुनिल थापा, मुरारि प्याकुरेल, सोम लामा र अनु शाहको पनि अभिनय छ । विकास चौधरीले सङ्गीत दिएको चलचित्रमा द्वन्द्व याङचु चेम्जोङ, नृत्य दिनेश पाख्रिन  र छायाङ्कन केशव अधिकारीको छ । चलचित्र थ्रिलर कथामा आधारित रहेको बताइन्छ । (सौस)

प्रतिक्रिया